ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकास्योरेन्समा कडाइ : अनावश्यक र बाध्यात्मक बीमालेख विक्री रोक्ने नीति ल्याउन बैंकर्स संघको सुझाव

Aug 25, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । नेपाल बैंकर्स संघले प्रत्येक बैंकले बैंकास्योरेन्स नीति अन्तर्गत अनावश्यक र बाध्यात्मक विक्री रोक्ने प्रावधान ल्याउन नेपाल राष्ट्र बैंकलाई पुनः सुझावसहित पत्र बुझाएको छ । बैंकहरूले बैंकास्योरेन्स गर्दा ग्राहकलाई दिने सेवाको सुनिश्चितता, बीमा विक्री तथा आन्तरिक नियन्त्रण प्रणाली लगायतको व्यवस्था गर्न यस्तो सुझाव दिइएको संघले बताएको छ । संघले बैंकास्योरेन्सलाई व्यवस्थित तथा प्रभावकारी बनाउन भदौ २ गते दोस्रोपटक सातबुँदे सुझावसहित पत्र बुझाएको हो । 

नेपाल बैंकर्स संघको विरुद्धमा जीवन बीमा अभिकर्ताहरूले नेपाल राष्ट्र बैंकमा साउन अन्तिम साता (साउन २९ गते) पत्र बुझाएका थिए । नेपाल राष्ट्र बैंकले बैंकास्योरेन्स कडाइ गरेको विषयमा नेपाल बैंकर्स संघ र पेशागत बीमा अभिकर्ता संघबीच फरक मत देखिएको छ । बैंकर्स संघले बैंकास्योरेन्सलाई व्यवस्थित तथा प्रभावकारी बनाउन अनुरोध गर्दै राष्ट्र बैंकमा पत्र बुझाएको छ भने अभिकर्ता संघले यथावत् राख्न अनुरोध गरेको छ ।

बैंकर्स संघले उक्त सुझावमार्फत बैंकास्योरेन्स सेवाको आवश्यकता र बैंकमार्फत बीमा गर्दा ग्राहकलाई हुने फाइदा लगायतबारे जानकारी गर्दै केन्द्रीय बैंकलाई यसबारे संशोधन गर्न पत्रमार्फत ध्यानाकर्षण गरेको छ । यससँगै बैंकर्स संघले आप्mनो पत्रमा बैंकास्योरेन्स नीति, एकाइ, पारदर्शिता, सार्वजनिक प्रकाशन, बीमा कम्पनीको प्रतिबन्ध, ग्राहकको स्वयम् घोषणा, बैंकका कर्मचारीलाई नगद प्रोत्साहन बन्द गरिनुपर्ने लगायत बुँदा समेटेको छ ।

बैंकहरूले बैंकास्योरेन्स सेवा दिन कम्तीमा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा छुट्टै एकाइ गठन गर्नुपर्ने व्यवस्था ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको छ । बैंकहरूले ग्राहकलाई बीमा पोलिसी स्वेच्छाले मात्र विक्री गर्नुपर्ने, यसमा जबरजस्ती गर्न नपाउने व्यवस्थाका लागि संघले केन्द्रीय बैंकलाई सुझाव दिएको छ । यसैगरी बैंक तथा बैंकको सञ्चालकको वित्तीय स्वार्थ भएका वा संयुक्त स्वामित्वसहित खोलिएका बीमा कम्पनीको बैंकास्योरेन्समा प्रतिबन्ध लगाउन समेत सुझाव दिएको छ । संघका अनुसार बैंकका ग्राहकले कुन कम्पनीको पोलिसी लिने भन्नेबारे आफै चयन गर्न पाउने व्यवस्थाबारे स्पष्ट पार्न पनि अनुरोध गरिएको छ । 

साथै बैंकास्योरेन्स अन्तर्गत बीमालेख विक्री गरेबापत बैंकलाई प्राप्त हुने आम्दानीको केही अंश संलग्न कर्मचारीलाई नगदमै भुक्तानी दिन बन्देज लगाउत सुझाइएको छ । ग्राहकको सहजताका लागि बैंकले सम्झौता गरेका बीमा कम्पनीका संक्षिप्त विवरण तथा ती कम्पनीसँग भएका प्रडक्टहरूको विशेषता समेटिएको बुकलेट तयार पार्नुपर्ने र ग्राहक लक्षित नीतिगत व्यवस्था गर्न समेत अनुरोध गरिएको छ । 

यस सन्दर्भमा पेशागत अभिकर्ता संघले बैंकर्स संघविरुद्ध गत बुधवार बंैकास्योरेन्स फुकुवा नगर्न भन्दै गभर्नर चिरञ्जीवी नेपाललाई दशबुँदे ज्ञापनपत्र बुझाएका थिए । बैंकहरूले आफ्ना ग्राहकलाई जबरजस्ती बीमा गर्न दबाब दिने, बीमा नगर्दा ऋण स्वीकृति नदिने जस्ता गतिविधि गरेको अभिकर्ताले बताउँदै आएका छन् । साथै बैंकहरूले बचतकर्तालाई निःशुल्क बीमा गरिदिन्छौं भनेर गलत विज्ञापन पनि गर्ने गरेको भन्दै अभिकर्ताले यसमा राष्ट्र बैंकको कडाइ स्वागतयोग्य भएको बताएका थिए । बैंक र बीमा कम्पनी भिन्न क्षेत्र भएकाले बैंकलाई बीमासम्बन्धी काम गर्न दिन नहुने अभिकर्ताले माग गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)