ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन जीवन बीमा कम्पनीले मात्र पुर्‍याए तोकिएको चुक्तापूँजी

Aug 25, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । तोकिएको चुक्तापूँजी पुर्‍याउन गत असार मसान्तसम्म अवधि पाएका ८ जीवन बीमा कम्पनीमध्ये तीनओटाले मात्र पुर्‍याएका छन् । कम्पनीहरूले सार्वजनिक गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । तोकिए बमोजिमको चुक्तापूँजी पुगेका कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स छन् । 

नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापूँजी रू. ५ अर्ब ४९ करोड ६० लाख ६० हजार छ । त्यस्तै एशियन लाइफले रू. २ अर्ब १ करोड ७ लाख ६० हजार चुक्तापूँजी कायम गरेको छ भने नेशनल लाइफ रू. ३ अर्ब ७४ लाख ४० हजार पुर्‍याउन सफल भएको छ ।

यी कम्पनी बाहेक असार मसान्तपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले समेत तोकिए बमोजिम चुक्तापूँजी कायम गरेको छ । कम्पनीले साउन २४ गते वार्षिक साधारणसभा सम्पन्न गरी आव २०७४/७५ को मुनाफाबाट ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले निर्धारित चुक्तापूँजी पुर्‍याएको हो । उक्त बोनसपश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ९९ लाख ५९ हजार पुगेको छ ।

हालसम्म सबैभन्दा कम चुक्तापूँजी राष्ट्रिय बीमा संस्थानको रू. १८ करोड १० लाख छ । सरकारी स्वामित्वको यस संस्थानले सर्वसाधारणलाई आईपीओ जारी गरी पूँजी पु¥याउने योजना थियो । संस्थानले संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम कार्ययोजना तयार गरी अर्थ मन्त्रालयबाट गतवर्ष पुस २१ गतेको निर्णय अनुसार सैद्धान्तिक सहमति प्राप्त गरिसकेको थियो । पूँजीवृद्धिका लागि संस्थानले बोनस, हकप्रद शेयर र आईपीओको बाटो रोजेको छ । आव २०७४/७५ मा संस्थापक र सर्वसाधारणतर्फको शेयर स्वामित्व कायम भएपछि हुने चुक्तापूँजी रू. ४५ करोड ८५ लाखको १ बराबर ३ दशमलव ३७ को अनुपातमा रू. १ अर्ब ५४ करोड ५१ लाख ४५ हजार बराबरको हकप्रद शेयर जारी गर्ने योजना संस्थानको छ । हकप्रदपश्चात् संस्थानको चुक्तापूँजी रू. २ अर्ब ३६ लाख ४५ करोड पुग्नेछ । संस्थानले बीमांकीय मूल्यांकनबाट प्रक्षेपित अनुमानित बोनस शेयरमा थपघट हुन गएमा हकप्रद शेयर प्रतिशतमा पनि हेरफेर हुन सक्ने बताएको छ । गत कात्तिक १७ गतेको ३०औं वार्षिक साधारणसभाबाट आव २०६५/६६ सम्मको वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको संस्थानले त्यसपछिको वार्षिक साधारणसभा गर्न सकेको छैन । 

हाल रू. ९२ करोड ९४ लाखभन्दा बढी चुक्तापूँजी रहेको गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद जारी गर्न विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । साउन २० गते कम्पनीले विक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटललाई नियुक्त गरेको हो । यो हकप्रदपश्चात् गुराँसले तोकेबमोजिम चुक्तापूँजी कायम गर्नेछ । सूर्या लाइफले भदौ ८ गतेदेखि ७० प्रतिशत हकप्रद जारी गर्दै छ । उक्त हकप्रदपश्चात् कम्पनीको पनि तोकेबमोजिम चुक्तापूँजी पुग्ने देखिन्छ । 

प्राइम लाइफले भने अघिल्लो आव २०७४/७५ को वार्षिक साधारणसभा गर्न सकेको छैन । हाल रू. १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार चुक्तापूँजी रहेको यस कम्पनीलाई तोकेबमोजिम पूँजी कायम गर्न २१ करोड ५१ लाख ६५ हजार थप पूँजी आवश्यक छ । बीमा समितिले जीवन बीमा कम्पनीको हकमा रू. २ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । पुराना ९ जीवन बीमा कम्पनीले भने बोनस शेयर र हकप्रदमार्फत पूँजीवृद्धि योजना अघि सारेका थिए । नयाँ १० जीवन बीमा कम्पनीले पनि सञ्चालनपूर्व नै सर्वसाधारणलाई आईपीओ जारी गरी तोकेबमोजिम चुक्तापूँजी कायम गर्ने शर्तमा स्वीकृति पाएका हुन् । कतिपय नयाँ जीवन बीमा कम्पनी आईपीओका लागि साधारणसभामार्फत प्रस्ताव पारित गरी प्रक्रियामा गइसकेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)