ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाडा अटो शोलाई लक्षित गरी ब्याजदरमा छूट 

अर्थमन्त्री खतिवडा असन्तुष्ट

Aug 29, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बैंकहरूले काठमाडौंको भृकुटीमण्डपमा जारी १४औं ‘नाडा अटो शो–२०१९’ लाई लक्षित गरी सस्तो ब्याजदरमा सवारीसाधन (गाडी) कर्जा कार्यक्रम ल्याएका छन् । बिशेषगरी बैंकहरूले विद्युतीय गाडीलाई प्रोत्साहन हुनेगरी यस्तो कर्जा दिने बताएका छन् । यद्यपि, कर्जामा तोकिएका शर्तहरू लागू हुने बताइएको छ ।

मंगलवारदेखि शुरू भएको उक्त मेला आगामी आइतवारसम्म चल्नेछ । मेलामा १३ बैंकले स्टल नै राखेर सवारी कर्जासम्बन्धी परामर्श दिइरहेका छन् । मर्जर प्रक्रियामा रहेका ग्लोबल र जनता बैंकले संयुक्त स्टल राखेका छन् । साथै, मेलामा सिद्धार्थ इन्स्यारेन्सले मोटर बीमासम्बन्धी जानकारी गराइरहेको छ  । 
बैंकहरूको स्कीमअनुसार ग्राहकले न्यूनतम ९ दशमलव ५ प्रतिशतदेखि अधिकतम ११ दशमलव ६६ प्रतिशत ब्याजदरमा कर्जा पाउनेछन् । १३ बैंकमध्ये एनआईसी एशियाले न्यूनतम ९ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदर तोकेको छ । यो अवसर आगामी असोजसम्मका लागि भएको बैंकको भनाइ छ ।
यसका अलावा कतिपय बैंकले विद्युतीय सवारीमा कम ब्याज निर्धारण गरेका छन् । साथै, कर्जाको अवधिको आधारमा पनि ब्याजदर निर्धारण गरिएको सम्बन्धित बैंकहरूको भनाइ छ । 

स्कीमअनुसार विद्युतीय सवारी किन्दा बैंकबाट ८० प्रतिशतसम्म र अन्य सवारीसाधनमा ५० प्रतिशत मात्र फाइनान्स सुविधा पाइनेछ । संस्थागत रूपमा गाडी खरीद गर्दा भने ७० प्रतिशतभन्दा बढी फाइनान्स गरिने बैंकहरूको स्कीम छ । 

अधिकांश बैंकहरूले कर्जाको अवधि ५ वर्षदेखि ९ वर्षसम्म निर्धारण गरेका छन् । तर, एनआईसी एशियाले भने १५ वर्षको अवधिमा यस्तो कर्जा प्रवाह गर्ने स्कीम ल्याएको छ । आवश्यक प्रक्रिया पुर्‍याएर तीनदेखि चार दिनभित्र कर्जा प्रदान गरिने बैंकहरूको भनाइ छ । 

बैंकहरूले शून्य दशमलव ५ प्रतिशतदेखि एक प्रतिशतसम्म सेवा शुल्क निर्धारण गरेका छन् भने कतिपय बैंकले सेवा शुल्क नै नलिने घोषणा गरेका छन् । बैंकहरूले सस्तो ब्याजमा कर्जा दिने भएपछि बैंकिङ क्षेत्रमा तरलता बढेको संकेत देखिएको छ । 

लक्ष्मी बैंकले विद्युतीय गाडीमा १० दशमलव ५ प्रतिशत र अन्य गाडीमा ११ दशमलव ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, एभरेष्टले ५ वर्षसम्मको कर्जामा ९ दशमलव ६६ प्रतिशत र ७ वर्षसम्मको  कर्जामा १० दशमलव १२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, नबिल बैंकले इन्धनबाट चल्ने गाडीमा १० दशमलव ५१ प्रतिशत र विद्युतीय गाडीमा ९ दशमलव ५९ प्रतिशत ब्याजदर तोकेको छ । 

यद्यपि, बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भने बैंकहरूको यस स्कीमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बैंकले अहिले सस्तो ब्याजमा कर्जा दिए पनि पछि ब्याजदर बढाउने उनको भनाइ छ । उनले भने, ‘अहिले बैंकहरूमा अल्पकालीन समयका लागि तरलता बढेको छ । यस अवस्थामा अधिक कर्जा प्रवाह गरेर बैंकहरूले फेरि तरलताको अभाव निम्त्याउने प्रयास गरे ।’ बैंकहरूले कर्जा प्रवाहको विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)