धनगढी । वार्षिक १२० जना चिकित्सा विज्ञानका विद्यार्थीले सुदूरपश्चिम प्रदेशबाटै अब एमबीबीएस गर्न पाउने भएका छन् । नेपाल सरकारको स्वामित्वमा कैलालीको गेटामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा अध्ययनका लागि कलेज, अस्पताल, छात्रावास निवासलगायत भवन निर्माणलाई तीव्रता दिएपछि केही समयभित्रै चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएसका कक्षाहरू सञ्चालन हुने मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति, गेटा कैलालीले बताएको छ ।
सुदूरपश्चिम प्रदेशवासीले २ दशकदेखि मेडिकल कलेज स्थापनाको माग गर्दै आए पनि आव २०७४/७५ देखि ८० रोपनी क्षेत्रफलमा छुट्टाछुट्टै सात निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेर विभिन्न प्रयोजनका लागि पहिलो चरणमा २७ ओटा भौतिक संरचनाको निर्माण भइरहेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका इन्जिनीयर पवन रावलले बताए । मेडिकल कलेजको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)ले साढे ८ अर्ब लगानी आवश्यक पर्ने देखाएअनुरूप नै निर्माणको काम भइरहेको उनले बताए ।
चालू आवका चालू र पूँजीगत गरी रू. १ अर्ब २६ करोड बजेट विनियोजन भएको विकास समितिले जानकारी गराएको छ । गेटामा हाल कलेज प्रशासनिक भवन १३ करोड २५ लाखमा निर्माण हुँदै छ, सो भवनको ५५ प्रतिशत निर्माण सम्पन्न भएर ५२ प्रतिशत भुक्तानी समेत गरिसकिएको छ । त्यस्तै ५६ करोडमा निर्माण भइरहेको कलेज भवनको ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भएर ७० प्रतिशत भुक्तानी ठेकेदार कम्पनीलाई दिइसकिएको इन्जिनीयर रावलले बताए ।
९१ करोड ८९ लाख ८९ हजार ९५५ रुपैयाँको लागतमा निर्माण भइरहेको ३ सय शøयाको अस्पताल भवनको भौतिक प्रगति ८५ प्रतिशत सम्पन्न भएर ७० प्रतिशत भुक्तानी गरिसकिएको छ । त्यस्तै ३८ करोड ६० लाख ७३ हजार ३२८ रुपैयाँमा निर्माण भइरहेको छात्रावास भवनको प्रगति ५० प्रतिशत सम्पन्न भएर ४८ प्रतिशत भुक्तानी गरिएको मेडिकल विकास समितिको तथ्यांक छ । ३० करोड २७ लाख ७२ हजार ८७१ लागतमा निर्माण भइरहेको निवास भवनको प्रगति भने २० प्रतिशत मात्र भएकाले भुक्तानी १६ प्रतिशत गरिएको हो । प्रशासनिक भवन निर्माणको म्याद तीनपटक थपेर पनि कछुवा गतिमा निर्माण भइरहेको छ, यसको म्याद यही भदौ अन्तिमसम्म मात्र छ भने हालसम्मको प्रगति ५२ प्रतिशत मात्र भएकाले निर्माण कम्पनी रविना कन्स्ट्रक्शनलाई पुनः दिने वा कारबाही गर्ने ठोस निचोडमा पुगिनसकेको एक अधिकारीले बताए । त्यस्तै मेडिकल कलेजलाई आवश्यक निवास, क्यान्टिन, रोड एन्ड रिभर, ट्रेनिङ हल संरचना निर्माणका लागि ३९ करोड ९३ लाख २२ हजार ४३७ मा निर्माण गर्नुपर्नेमा प्रगति ३५ प्रतिशत तथा भुक्तानी ३० प्रतिशत गरिसकिएको बताइएको छ । पहिलो चरणको ३ सय शøयाको अस्पताल निर्माणसँगै दोस्रो चरणअन्तर्गत थप तीन सय शøयाको अस्पताल निर्माणका लागि ७८ करोड ३ लाख ७८ हजार २१ रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा ३० प्रतिशत प्रगति भएर २६ प्रतिशत भुक्तानी गरिएको छ । यसको निर्माण अवधि ११ महीना बाँकी छ ।
प्रतिष्ठान वा मेडिकलमा जाने भन्ने विषय अहिले पनि अन्योलमै भएकाले नियमावली भन्ने चरणमा रहेको बुझिएको छ । कलेजलाई आवश्यक पर्ने मेशिनरी औजार खरीदलगायत कार्यका लागि अझै डीपीआर नै बन्न सकेको छैन । यस्तै चारैतिर पर्खा लगाउन पनि समस्या भएको इन्जिनीयर रावलले बताए । ‘हाल बजेट अभाव नदेखिए पनि जग्गा पर्याप्त छैन, फोहोरमैला व्यवस्थापनका लागि ठूलो क्षेत्रफल चाहिन्छ,’ उनले भने, ‘निर्माणाधीन अवस्थामा रहेका यी २७ ओटा भौतिक संरचना सम्पन्न भएपछि मेडिकल कलेज सञ्चालनका लागि न्यूनतम पूर्वाधारको अभाव रहँदैन ।’ दोस्रो चरणमा बिजनेश भवनलगायत भौतिक संरचना निर्माणको तयारी रहेकाले अब सुदूरपश्चिम प्रदेशबाट चिकित्सा शिक्षाको अध्ययन गर्न सहज हुने उनले भने ।