रूकुम । रूकुम पश्चिमका खेतीयोग्य जमीन बजारमा परिणत हुन थालेका छन् । जिल्लाका राडिज्यूला, छिनखेत, सोलावाङ, चौरजहारी फाँट, सिम्ली लगायत खेतीयोग्य क्षेत्र बजार बन्दै गएका छन् ।
सानीभेरी गाउँपालिका–९ सिम्लीमा दुई वर्ष पहिले २३ ओटा मात्र कच्ची घर थिए । दुई÷चारओटा खुद्रा पसल रहेको सिम्ली अहिले गाउँपालिकाको प्रमुख बजार केन्द्र भएको छ । देश संघीय संरचनामा गएसँगै जिल्ला सदरमुकामबाट पाइने सेवा गाउँमै पाइन थालेपछि यहाँ चहलपहलका साथै व्यापार व्यवसाय समेत बढेको स्थानीय व्यापारी कर्णसिंह डाँगीले बताए । सिम्लीमा अहिले २८० भन्दा बढी घर छन् । व्यापार व्यवसाय सञ्चालन गर्न यहाँको खेतीयोग्य जमीन प्लटिङ गरी घर निर्माण भइरहेको डाँगीले बताए ।
सिम्लीको करीब २ बिगाहाभन्दा बढी क्षेत्रफलमा घर बनेको स्थानीय रुद्रबहादुर कामीले बताए । उनले भने, ‘खेतीयोग्य जमीन मासेर घर निर्माण गर्न थालेपछि यहाँ अन्न उत्पादनमा समेत कमी आएको छ ।’ सिम्ली बजारमा चालू आवमा साना तथा ठूला गरी ५३ ओटा घर निर्माणका लागि नक्सा पास भएको गाउँपालिकाको तथ्यांक छ ।
जिल्लाको बाँफिकोट गाउँपालिका –४, छिनखेत राम्रो धान उत्पादन हुने ठाउँ हो । तर स्थानीय सरकार गठन भएपछि यो ठाउँ अहिले बजारका रूपमा विकास भएको छ । तीन वर्ष पहिलेसम्म २०/२५ ओटा मात्रै घर भएको यो ठाउँमा अहिले भने बाक्लो बजार छ । यहाँ साना तथा ठूला पक्की घर निर्माण गर्न गाउँपालिकाको कार्यालयबाट चालू आवको अहिलेसम्म ७१ जनाले नक्सा पास गराएका छन् ।
आठविसकोट नगरपालिकाको राडिज्यूलामा पनि बजार भरिएको छ । धान उत्पादनका लागि प्रसिद्ध आठविसकोट नगरपालिकाको केन्द्र र डोल्पा जाजरकोट जोड्ने मुख्य नाका भएका कारण बजारमा परिणत भएको स्थानीय कमल केसीले बताए । स्थानीयवासीले आफ्नो धान उत्पादन हुने खेतलाई पनि घडेरीका रूपमा विक्री गर्न थालेपछि यहाँका खेतीयोग्य जमीन मासिँदै गएका हुन् ।