ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ लघुवित्तले गरे लाभांश प्रस्ताव : मिर्मिरे लघुवित्तको सबैभन्दा बढी

Sep 1, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र बजारमा सूचीकृत ४९ लघुवित्त कम्पनीमध्ये ११ ओटाले गत आव २०७५/७६ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । लाभांश वितरणका लागि कम्पनीहरूले पहिलो चरणको सञ्चालक समितिले निर्णय गरी प्रस्ताव सम्पन्न गरेका हुन । प्रस्तावित लाभांश वितरणको अन्तिम चरणका लागि भने नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाले निर्णय गर्नुपर्ने हुन्छ । लघुवित्त क्षेत्रका धेरैजसो कम्पनीहरू मर्जरमा जाने तयारी गरिरहेको अवस्थामा यी  कम्पनीले पनि लगानीकर्ताको लाभांश सुरक्षित गर्न प्रक्रिया अघि बढाएका हुन् ।

दोस्रो बजारमा लघुवित्तका शेयरलाई लगानीकर्ताले आकर्षक लाभांश र राम्रो मूल्यको शेयरका रूपमा लिने गरेका छन् । प्राथमिक बजारमा पनि यस क्षेत्रका कम्पनीको शेयरमा परेको आवेदन हेर्दा आम लगानीकर्ता यसप्रति बढी नै आकर्षित भएको पाइन्छ ।

हालसम्म लाभांश प्रस्ताव गरेका लघुवित्त कम्पनीमध्ये मिर्मिरे लघुवित्तको सबैभन्दा बढी छ । कम्पनीले गत आवको मुनाफाबाट ४५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनका लागि २ दशमलव ३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गतवर्ष कम्पनीले रू. ६ करोड १४ लाख ८४ हजार खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आव २०७४÷७५ को मुनाफाबाट २४ प्रतिशत बोनस शेयर र १ दशमलव २६ प्रतिशत नगद लाभांश दिएको थियो । अघिल्लो आवभन्दा गत आवमा कम्पनीको मुनाफामा १०६ प्रतिशत वृद्धि देखिएको छ । अघिल्लो आवमा कम्पनीले रू. २ करोड ९७ लाख ४७ हजार मुनाफा गरेको थियो । कम्पनीको अन्तिम शेयरमूल्य बिहीवार रू. ८९९ कायम भएको छ ।

उत्कृष्ट लाभांश घोषणा गर्नेमा सूर्योदय लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, मेरो माइक्रोफाइनान्स लगायत कम्पनी पनि छन् । सूर्योदय लघुवित्तले ४४ दशमलव ४७ प्रतिशत बोनस शेयर र २ दशमवल ३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । त्यस्तै ग्लोबल आईएमईले ३५ प्रतिशत बोनस शेयर र १ दशमलव ८४ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस र १ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

सूर्योदय लघुवित्तले अघिल्लो आव २०७४/७५ को मुनाफाबाट ४२ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव २५ प्रतिशत नगद लाभांश दिएको थियो । अघिल्लो आवभन्दा गत आव कम्पनीले नाफा बढाएको पनि छ । अघिल्लो आव रू. १ करोड ९३ लाख ३७ हजार खुद नाफा गरेको कम्पनी गत आव रू. ३ करोड ६१ लाख ६१ हजार नाफा गर्न सफल भएको छ । कम्पनीको अन्तिम शेयरमूल्य बिहीवार रू. ७९३ कायम भएको छ ।

हालसम्म प्रस्ताव गर्ने लघुवित्त कम्पनीमध्ये सबैभन्दा कम लाभांश गणपति माइक्रोफाइनान्सको छ । कम्पनीले गत वैशाखमा सर्वसाधारणलाई आईपीओ विक्री गरेको थियो । सर्वसाधारणलाई समेत समेटेर कम्पनीले गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले गत आवमा रू. ३ करोड ४ लाख ८१ हजार खुद नाफा गरेको छ । अघिल्लो आवमा कम्पनी रू. २७ लाख २२ हजार घाटामा थियो । दोस्रो बजारमा कम्पनीको शेयरमूल्य रू. ५१८ छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)