ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न माग

Sep 2, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । पर्यटकीय स्थल काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न पहल शुरू भएको छ । संघीय संसदमा सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधि सांसद नवराज रावतले काँक्रेविहारको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक महत्त्वको अध्ययन–अनुसन्धान गर्दै विश्व सम्पदा सूचीमा राख्न माग गरेका हुन् । 

प्रतिनिधिसभाको बैठकमा सांसद रावतले पुनर्निर्माणको काम सम्पन्न भएको बताउँदै काँक्रेविहारमा तारबारसहित सुरक्षा यूनिटको व्यवस्था गर्न माग राखेका छन् । उनले पार्क, पार्किङ, पर्यटकका लागि फ्रेसर रूम लगायतका कार्य बाँकी रहेकाले अनुमानित तत्काल कम्तीमा १० करोड रुपैयाँ विनियोजन गर्न आग्रह गरे । 

‘प्रदेश तथा संघीय सरकार, पर्यटन बोर्डलगायत सरोकारवाला निकायसँग मैले आवश्यक रकम विनियोजनका लागि सभामुखमार्फत अनुरोध गरेको छु,’ सांसद रावतले भने, ‘मन्दिर निर्माण सम्पन्न हुनु एक चरण भएको र अब अर्को चरणअन्तर्गत विश्व सम्पदा सूचीमा राख्न माग राखेको हुँ ।’ उनले काँक्रेविहारमा १२ वर्षअघि बनाइएको योजना कार्यान्वयन गर्दै पुनर्निर्माण हुनु सबैका लागि गौरवको विषय भएको उल्लेख गरे । १०५ फिट उचाइ रहेको मन्दिरको भग्नावशेष २०५७ साल फागुन ११ गतेदेखि उत्खनन शुरू गरिएको थियो । उत्खननबाट २ हजार २८ ओटा पुरातात्विक वस्तु निकाली सोही अनुरूप मन्दिरको स्वरूप बनाइएको छ । ९ करोड ६५ लाख ६६ हजार रुपैयाँमा काठमाडौंको सिद्धबाबा कन्स्ट्रक्शन प्रालिले मन्दिरको पुनर्निर्माण गरेको हो । 

धार्मिक किंवदन्ती अनुसार काँक्रेविहारमा पाँच पाण्डवले बसेको मानिन्छ । काँक्रेविहारका केही तथ्यले सिञ्जा साम्राज्यका राजा अशोक मल्लले विसं १३२५ मा उक्त मन्दिर निर्माण गरेको देखिन्छ  । काँक्रेविहारमा बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्रा लगायत विभिन्न मूर्ति छन् । काँक्रेविहारलाई हिन्दु, बौद्ध र जैन धर्मको सामुहिक केन्द्रका रूपमा श्रद्धा गरिन्छ । २०७२ देखि काँक्रेविहार पुनर्निर्माणको काम थालिएको थियो । यसअघि काँक्रेविहार १९९० सालको भुकम्पले भत्किएर अस्तव्यस्त बनेको थियो । 

दैनिक सरदर २०० आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने स्थानीय बताउँछन् । काँक्रेविहारमा पिउने पानी, शौचालय, पार्किङ र सुरक्षा चौकी जस्ता आधारभूत संरचना नहुँदा पर्यटकलाई सास्ती खेप्नु परिरहेको छ । काँक्रेविहारको बाँकी कामका लागि केन्द्रसँगै प्रदेश सरकारले समेत चासो दिन आवश्यक रहेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माको भनाइ थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)