सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुँदा विश्वभर एक किसिमको आशंका पैदा भएको थियो । आशंकाका कारण थियो निर्वाचन प्रचारको क्रममा उनले अघि सारेको निकै अनुदारवादी नीति । तर, उनी एक व्यवसायी नै भएका कारण उनले ल्याएको नीति अमेरिकी अर्थतन्त्रका लागि फलदायी हुन सक्ने विश्वास पनि धेरैमा थियो । साथै उनको आगमन विश्व अर्थतन्त्रका लागि नै राम्रो हुन सक्ने पनि केहीको तर्क थियो । निर्वाचन जितेसँगै ट्रम्पले पनि व्यापारलाई प्राथमिकतामा राखेर आनो नीति सार्वजनिक गर्दै आएका छन् । तर, यो नीतिको प्रभाव भने नकारात्मक रूपमा बढी देखिएको छ ।
ट्रम्पको नीतिका कारण अहिले विश्व व्यापारमा आशंका पैदा भएको छ । ट्रम्पले यसअघिका सरकारले गरेको व्यापार सम्झौतामा असन्तुष्टि व्यक्त गर्दै ल्याएको नीतिले विश्वभर व्यापारिक तनावको अवस्था देखिएको छ । उनले पछिल्लो २ वर्षमा ल्याएको व्यापार नीतिका कारण अमेरिकाको व्यापार हुने अधिकांश मुलुकसँग अहिले व्यापारयुद्ध चुलिँदो क्रममा छ । यहाँ ट्रम्पको नीतिका कारण शुरू भएका केही व्यापारिक तनाव उल्लेख गरिएका छन् :
अमेरिका–चीन व्यापारयुद्ध
विश्वका प्रमुख दुई अर्थतन्त्र अमेरिका र चीन अहिले व्यापारयुद्धको क्रममा छन् । सन् २०१८ को जुलाईदेखि शुरू भएको यो युद्ध अझै रोकिने अवस्थामा छैन । यसलाई साम्य पार्न दुवै मुलुकका व्यापार प्रतिनिधिबीच १२औं चरणको वार्ता भइसक्दा पनि व्यापारयुद्ध कम हुनुको सट्टा बढ्दो क्रममा छ । १३औं चरणको वार्ता आगामी अक्टोबरमा हुने भनिएको छ । तर, यसअघिको वार्तामा ९० प्रतिशत समस्याको समाधान भइसकेको बताइए पनि सम्झौता हुनुको सट्टा व्यापारयुद्ध झन् चर्किएको थियो । त्यसैले अहिले तोकिएको मितिमा सम्झौता हुन्छ नै भन्नेमा ढुक्क हुने अवस्था छैन ।
टीपीपी सम्झौता
ट्रम्पले सन् २०१७ मा राष्ट्रपति बनेसँगै ट्रान्स प्यासिफिक पार्टनरशिप (टीपीपी) सम्झौताबाट बाहिरिने निर्णय गरे । सन् २०१६ मा १२ मुलुकले यो सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौताबाट बाहिरिएसँगै उनले आफ्नो कार्यकालमा अमेरिकाको व्यापार नीतिमा महŒवपूर्ण परिवर्तन हुन सक्ने संकेत दिएका थिए । तर, बाँकी ११ मुलुकले अमेरिका विना नै यो सम्झौता अघि बढाएका छन् ।
नाफ्टा व्यापार सम्झौता
एशिया प्यासिफिक क्षेत्रका मुलुकसँगको व्यापार सम्झौताबाट बाहिरिएसँगै ट्रम्पले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) बाट पनि बाहिरिने चेतावनी दिएका थिए । सन् १९९४ देखि कार्यान्वयनमा हुँदै आएको सम्झौताले क्यानडा र मेक्सिको लाभान्वित बनेको र अमेरिकालाई नोक्सानी भइरहेको उनको ठम्याइ थियो । त्यसपछि उत्पन्न व्यापारिक तनाव कम गर्न तीन मुलुकबीच जारी वार्तापछि सन् २०१८ को सेप्टेम्बरमा उनीहरू नयाँ व्यापार सम्झौता अमेरिका–मेक्सिको–क्यानडा सम्झौताका लागि तयार भएका थिए । यसले पनि उत्तर अमेरिकाको व्यापारमा तनाव तथा आशंकाको जन्म दिएको थियो । तर, अझै पनि नयाँ सम्झौता कार्यान्वयनमा भने आएको छैन । यसको केही प्रक्रिया अझै बाँकी छ ।
अमेरिका–ईयू तनाव
ट्रम्पको व्यापारनीतिको मारमा अमेरिका–ईयूको व्यापार पनि परेको छ । अमेरिकाले यूरोपबाट आउने स्टील तथा आल्मुनियमका उत्पादनमा २५ प्रतिशत भन्सार लगाइसकेको छ । साथै, उसले थप २१ अर्ब डलरको कार तथा हवाई उत्पादनमा भन्सार बढाउने चेतावनी दिँदै आएको छ । अमेरिकाले यूरोपमा विमान निर्माता एयरबसलाई मापदण्डभन्दा बढी सहुलियत दिइएको आरोप लगाउँदै आएको छ । यूरोपले पनि अमेरिकी विमान निर्माता कम्पनी बोइङबारे सोही आरोप लगाउँदै आएको छ ।
पछिल्लो समय फ्रान्सले ल्याएको डिजिटल करबारे पनि अमेरिका र यूरोप दुई पक्षमा बाँडिएका छन् । डिजिटल कर अमेरिकी कम्पनीलाई लक्षित गरी ल्याइएको र यो आफूलाई मान्य नहुने ट्रम्पले बताउँदै आएका छन् । त्यसको बदलामा अमेरिकाले आवश्यक कदम चाल्न सक्ने उनको भनाइ छ । तर, यूरोपेली संघ (ईयू) ले भने यस विषयमा अमेरिकाले कुनै कदम चाले त्यसको उचित जवाफ दिइने बताएको छ ।
अमेरिका–जापान व्यापारिक द्वन्द्व
अमेरिका र जापानको व्यापार पनि ट्रम्पको व्यापार नीतिको मारमा परेको देखिन्छ । अमेरिकाले जापानसँगको व्यापार असमान भएको भन्दै जापानी कार तथा कारका पार्ट्समाथि भन्सार बढाउने निर्णय गरेको थियो । व्यापार रोक्न भएको लामो प्रयासपछि केही समयअघि मात्र जापान र अमेरिकाबीच नयाँ व्यापार सम्झौता भएको छ ।
अन्य व्यापारिक द्वन्द्व
ट्रम्प आएपछि शुरू भएको व्यापारिक द्वन्द्वमध्ये भारतलाई दिइँदै आएको व्यापारिक सहुलियत हटाउने निर्णय पनि एक हो । यो निर्णयसँगै भारतले पनि अमेरिकाबाट आउने २९ प्रकारका सामग्रीमाथि भन्सार बढाउने निर्णय गरेको थियो । त्यस्तै, अमेरिकाले इरानको तेल व्यापारमाथि लगाएको प्रतिबन्धका कारण अहिले तेल बजारमा पनि आशंका बढेको छ । सन् २०१५ मा भएको आणविक सम्झौतामा आपत्ति व्यक्त गर्दै उनले उक्त सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । साथै, इरानमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।
त्यस्तै, अमेरिकाले भेनेजुएला, इरान, रूस र उत्तर कोरियाजस्ता मुलुकमाथि लगाइएको प्रतिबन्ध नमान्ने मुलुकमाथि पनि व्यापारिक कारबाहीको चेतावनी दिँदै आएको छ ।