ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकको पर्खाइमा पर्यटन व्यवसायी

Sep 10, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


चितवन । पर्यटनको सिजन शुरू भइसक्दा र पर्यटन वर्ष नजिकिँदै गर्दा पनि चितवनका पर्यटन व्यवसायी अझै पर्यटकको पर्खाइमै छन् । गत वर्ष यही समयमा पर्यटक बढेका भए पनि यस वर्ष पर्यटकको संख्या कम छ । 

मनसुन ढिला सकिएको र भर्खरमात्र सिजन शुरू भएकोले पर्यटक आउने आशा अझै बाँकी रहेको व्यवसायी बताउँछन् । सेप्टेम्बरदेखि सिजन शुरू भए पनि चितवनको पर्यटकीय गन्तव्य सौराहामा अहिले धेरै पर्यटक छैनन् । क्षेत्रीय होटल संघ, नेपाल, चितवनका नवनिर्वाचित अध्यक्ष दीपक भट्टराई पर्यटकले बुकिङ गर्न थालेको तर आगमन पातलो भएको बताउँछन् । ‘भर्खर सिजन शुरू भएको छ, सायद एकहप्ता पछि पर्यटक बढ्नेछन्,’ उनले भने । उनका अनुसार वर्षा हुने क्रम अझै नरोकिएकाले पनि सिजन शुरू भएलगत्तै पर्यटक आउन नसकेका हुन् । विशेषगरी सौराहामा चिनियाँ, भारतीय र युरोपेली पर्यटक जंगल सफारीका लागि आउने गरेको उनले बताए । 

रेस्टुराँ एन्ड बार एशोसिएशनका अध्यक्ष गोकर्ण गिरिले पर्यटन वर्ष र सिजन शुरू भएसँगै पर्यटक उल्लेखनीय रूपमा आउने अपेक्षा आफूले गरेको बताए । संघले  पर्यटकलाई आकर्षण गर्न सौराहामा प्रत्येक हप्ता ‘फूड फेस्टिभ’ गर्न लागेको पनि उनले जानकारी दिए । उनका अनुसार पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यले खेल पर्यटनलाई पनि प्राथमिकतामा राखिएको छ । 

चितवनको पश्चिम क्षेत्रका पर्यटकीय क्षेत्र र राष्ट्रिय निकुञ्ज नजीकका पर्यटकीय क्षेत्रका व्यवसायी पनि पर्यटक बढ्ने आशामा छन् । क्षेत्रीय होटल संघ, नेपाल, पश्चिम चितवन एकाइका अध्यक्ष गणेश पौडेलले सिजन शुरूसँगै यस क्षेत्रमा ‘वाकिङ स्ट्रीट’ को काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, ‘यहाँको घडियाल प्रोजेक्ट र निकुञ्जको कसरास्थित संग्रहालयका साथ नवनिर्मित वाकिङ स्ट्रीटले पर्यटक तान्नेछ ।’ तर, सेप्टेम्बर शुरू भए पनि उनको जंगल भिल्ला रिसोर्टमा ३० प्रतिशत मात्र पर्यटक भएको उनले बताए । 

पश्चिम चितवनको मेघौली क्षेत्रका व्यवसायी पनि पर्यटक आउने आशामा रहेको बताउँछन् । होटल बाराहीका प्रबन्धक चन्द्र महतो दशैंअघि मात्र पर्यटकको चाप बढ्ने बताउँछन् । ‘अहिले पर्यटकको फ्लो खासै छैन, बुकिङ गर्ने क्रम त बढ्दो छ,’ उनले भने, क्यान्सिल भएन भने राम्रै हुन्छ ।’ भ्रमण वर्षमा विशेष गरी मेघौलीमा बन्न लागेको राइनो पार्क र नजीकै रहेको माडीका धार्मिक पर्यटकीय स्थललाई चिनाउन सके पर्यटक थप बढ्न सक्ने उनको भनाइ छ । 

सौराहामा मात्रै सानाठूला गरी ११० होटल सञ्चालनमा छन्, जसमा ५ हजार पर्यटक रहन सक्ने क्षमता छ । त्यस्तै, पटिहानी, मेघौली लगायत क्षेत्रमा पनि दुई दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)