ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम विश्वविद्यालय : एमबीएको पाठ्यक्रम बन्यो, पढाइ शुरू भएन

Sep 12, 2019  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा एमबीए कार्यक्रमको उच्च माग भए पनि विश्वविद्यालयले कार्र्यक्रम सञ्चालन गर्न सकेको छैन । विश्वविद्यालयले तत्काल लागू गर्नेगरी बनाएको एमबीएको पाठ्यक्रम त्यत्तिकै थन्किएको छ । २०७४ भदौमै निर्माण गरिएको एमबीए कार्यक्रमको पाठ्यक्रम अझै कार्यान्वयन हुन नसकेको हो । 

व्यवस्थापन संकायका तत्कालीन विभागीय प्रमुखसमेत रहेका प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वको समितिले एमबीएको पाठ्यक्रम तयार पारेको थियो । उक्त पाठ्यक्रम हालसम्म कार्यान्वयन नहुनु विडम्बना भएको संयोजक पाठककले बताए । ‘विश्वविद्यालयले एमबीए कार्यक्रम सञ्चालन गर्न नसक्दा यहाँका विद्यार्थी महँगो शुल्क तिरेर बाहिर पढ्न बाध्य छन्,’ उनले भने । आफ्नो कार्यकालमा एमबीए कार्यक्रमका लागि पटक–पटक पहल गरिएको भन्दै उनले आवश्यक स्रोतसाधन तथा जनशक्तिको व्यवस्था गरी यथाशीघ्र कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

महेन्द्रनगरमा मात्र तीनओटा क्याम्पसमा बीबीए र ६ ओटा क्याम्पसमा बीबीएसको पढाइ हुन्छ । हरेक वर्ष एमबीए पढ्न चाहने सयौं विद्यार्थी हुने गरेका छन् । महेन्द्रनगरमा उक्त कार्यक्रमको पढाइ नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । काठमाडौं लगायत ठूला शहरमा महँगो शुल्क तिरेर पढ्न नसक्दा कतिपयले अन्य विषय पढेर चित्त बुझाउनुपरेको छ । सञ्चालनको पहल गरिँदै

यसैबीच, विश्वविद्यालयमा एमबीए कार्यक्रम चलाउन व्यवस्थापन विभाग तयार रहेको विभागीय प्रमुख प्रेमसिंह खातीले बताए । यसका लागि डीन कार्यालयसँग छलफल भइरहेको उनको भनाइ छ । ‘विश्वविद्यालयका लागि एमबीए महत्त्वपूर्ण कार्यक्रम हो,’ उनले भने, ‘चालू शैक्षिक सत्रदेखि कार्यक्रम सञ्चालनका लागि प्रयासरत छौं ।’ कार्यक्रमबारे छलफलका लागि डीन कार्यालयले बिहीबार बैठक समेत डाकेको छ । कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाएर अघि बढ्ने उनको भनाइ छ ।

त्यस्तै व्यवस्थापन संकायका डीन पद्मकान्त जोशीले एमबीए कार्यक्रम सञ्चालनका लागि आवश्यक अध्ययन भइरहेको बताए । ‘कार्यक्रम सञ्चालका लागि पूर्वाधार, जनशक्ति लगायतको व्यवस्था हुनुपर्छ,’ उनले भने । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस बीबीएस चौथो वर्षकोे परीक्षा दिएर बसेका विद्यार्थी नागेशप्रसाद पन्तले एमबीए कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने बताए । उक्त कार्याक्रम सञ्चालनका लागि विश्वविद्यालयलाई दबाब दिइँदै आए पनि कार्यान्वयन नभएको गुनासो उनले गरे । विश्वविद्यालयमा हाल व्यवस्थापन संकायको स्नातकोत्तर तहमा एमबीएम पढाइ हुने गरेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)