रूकुम । ३ करोड ५० लाख रुपैयाँको लगानीमा बनिरहेको नगर भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रूकुमपश्चिमको मुसीकोट नगरपालिका ५, सेरीगाउँमा पार्कसहित ५०० जना क्षमताको नगर भवन (सिटी हल) बन्न लागेको हो ।
जिल्ला सदरमुकाम समेत रहेको खलंगामा हलको अभाव पूरा गर्न पार्कसहितको भवन निर्माण गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त रकमबाट भवन निर्माण योजना अघि बढाइएको जानकारी नगरले दिएको छ ।
शहीद प्रतिष्ठानको स्वामित्वमा रहनेगरी आधुनिक नगर भवनसहित आकर्षक पार्क निर्माणको काम पनि जारी छ । यसका लागि पूर्वाधार क्षेत्र विकास कार्यक्रमको ३ करोड ६३ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ । शहीद प्रतिष्ठानको ५ रोपनीमा सिटी हल, पार्क तथा अन्य संरचना निर्माण भइरहेका छन् । हल तथा अन्य संरचना निर्माणको काम अन्तिम चरणमा रहेको परियोजनाको कन्सल्टेन्टको काम गरिरहेको नक्सायन डिजाइन एन्ड कन्सल्टेन्टका इन्जिनीयर शिशिर गौतमले बताए । उनका अनुसार सभाहलको संरचना र वरिपरिको पर्खाल निर्माणका लागि ८३ लाख ४५ हजार रुपैयाँमा परिवर्तन श्रमिक सहकारी संस्थाले निर्माणको जिम्मा लिएको छ । सहकारीले थप १० प्रतिशत श्रमदान गरेको उनले जानकारी दिए ।
त्यस्तै, सभाहलको स्टील संरचना निर्माणका लागि रू. १ करोड ५८ लाखमा ठेक्का दिइएको तथा काम पनि अन्तिम अवस्थामा पुगेको इन्जिनीयर गौतमले बताए । यसका अलावा पानीको फोहोरा र बगैंचासहितको पार्क निर्माणका लागि रू. ८५ लाख ६० हजार र ३३ हजार लिटर क्षमताको भूमिगत पानी ट्यांकी, सेफ्टी ट्यांकी र एउटा छुट्टै सामुदायिक हलका लागि रू. ३२ लाख ५९ हजार रुपैयाँ विनियोजन भएको छ । शहीदहरूको सम्झनामा सभा हलसहितका संरचना निर्माण गर्न ठूलो रकम एकै ठाउँमा लगानी गरिएको प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बताए ।
पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा बाँकी रहेको रकममध्ये रू. २० लाख बाँफिकोट गाउँपालिकामा खेल मैदान बनाउन र रू. १६ लाख २० हजार मुसीकोट खेलमैदान बनाउन विनियोजन गरिएको उनले जानकारी दिए ।