ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आठ वाणिज्य बैंकले गरे लाभांश घोषणा

तीनओटाको दशैंअघि नै पारित हुँदै

Sep 22, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास चलिरहँदा कम्पनीहरूले गतवर्षको लाभांश प्रस्ताव गर्ने क्रम जारी छ । सूचीकृत चार दर्जनभन्दा बढी कम्पनीले लाभांश प्रस्ताव गरिसकेका छन् । यसमध्ये आठओटा वाणिज्य बैंक छन् । माछापुच्छ्रे बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, सनराइज बैंक, बैंक अफ काठमान्डू र सिद्धार्थ बैंकले लाभांश घोषणा गरेका हुन् । 

लाभांश प्रस्ताव गरेका वाणिज्य बैंकमध्ये कुमारी, सिटिजन्स र एनआईसी एशियाले दशैंअघि नै वार्षिक साधारणसभा बोलाएका छन् । गतवर्षको वार्षिक साधारणसभा गर्ने पहिलो वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेशनल हुने भएको छ । बैंकले असोज १० गते १३औं वार्षिक साधारणसभा बोलाएको हो । बैंकले ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांशको प्रस्ताव उक्त सभामार्फत पारित गर्नेछ । गत आवमा बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ११ करोड ९४ लाख ६६ हजार छ । बैंकले हाल कायम चुक्तापूँजी रू. ८ अर्ब ३७ करोड १० लाख ६४ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । लाभांश क्षमता १३ दशमलव ३७ प्रतिशत रहेको बैंकले १५ प्रतिशत लाभांश दिन लागेको छ ।

त्यस्तै कुमारी बैंकले असोज ११ गते १९औं वार्षिक साधारणसभा गर्दै छ । बैंकले १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ । गत आवमा वितरणयोग्य नाफा रू. ९६ करोड ७० लाख ९६ हजार रहेको यस बैंकको लाभांश क्षमता ११ दशमलव १३ प्रतिशत थियो । सोही क्षमता अनुसार नै बैंकले शेयरधनीलाई लाभांश दिन लागेको छ । हाल उसको चुक्तापूँजी रू. ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार छ । 

एनआईसी एशिया बैंकले पनि दशैंअघि नै लाभांश पारित गर्ने भएको छ । बैंकले असोज १० गते २२औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै छ । गत आवमा बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब १५ करोड २८ लाख ५७ हजार छ । सोही अवधिमा १७ दशमलव ९ प्रतिशत लाभांश क्षमता देखाएको बैंकले प्रस्ताव भने २१ प्रतिशतभन्दा बढी नै गरेको छ । हाल उसको चुक्तापूँजी रू. ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार छ ।

कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम चालू आर्थिक वर्षको ३ महीनाभित्र वार्षिक लेखापरीक्षण सम्पन्न गरी ६ महीनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्नेछ । कम्पनीले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा भएको व्यवस्था अनुसार साधारणसभाले पारित गरी बोनस शेयर निष्कासन गर्ने निर्णय गरेमा ३ दिनभित्र धितोपत्र दर्ताका लागि बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । नगद लाभांशको सम्बन्धमा भने कुनै व्यवस्था नभएकाले कम्पनीले साधारणसभाबाट पारित भएको भोलिपल्टदेखि नै शेयरधनीको खातामा जम्मा गर्न सक्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)