ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साउदीमाथिको आक्रमण  र तेल राजनीति

Sep 22, 2019  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar चिरञ्जीवी आचार्य

काठमाडौं । अघिल्लो शनिवार साउदी अरेबियाको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अराम्कोको दुई तेल प्लान्टमा यमनका हुथी विद्रोही समूहले ड्रोन आक्रमण ग¥यो । उक्त आक्रमणको कारण समग्र साता तेलको भाउमा ठूलै हलचल आयो । यो आक्रमणको कारण विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदीको तेल उत्पादन प्रतिदिन ५७ लाख ब्यारेलले कटौती भएको थियो । यो साउदीको लागि झण्डै आधा हो । 

यो आक्रमणको कारण गत सोमवार तेलको भाउ २० प्रतिशतले बढेको थियो । तर, साउदीले अपेक्षा गरिएभन्दा निकै छिटो उत्पादन पुनः शुरू गरेसँगै तेलको भाउमा नाटकीय कमी पनि आएको थियो । आक्रमण भएको एक साताभित्र साउदी अराम्कोले रोकिएको सबै तेल उत्पादन पुनः शुरू गरिसकेको छ । यससँगै यो साता तेलको बजार सन्तुलनमा आउने अपेक्षा छ । 

प्रतिशोधको आक्रमण 
साउदी अराम्कोको तेल प्लान्टमा भएको आक्रमणको यमनको विद्रोही हुथी समूहले जिम्मेवारी लिएको थियो । यमनमा साउदी गठबन्धनले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएको छ । यसको प्रतिशोधस्वरूप उक्त संगठनले अराम्कोको तेल बजारलाई लक्षित गरेका हुन् । यसअघि पनि हुथी विद्रोहीले साउदीतर्फ मिसाइल आक्रमण गर्दै आएका थिए । 
हुथी व्रिद्रोहीको प्रभाव पनि यमनमा बढ्दो क्रममा छ । यसले साउदीको तेल बजार अझै सुरक्षित छैन भन्ने संकेत गरेको छ । हाल हुथी विद्रोहीले यमनको राजधानी सानासहित अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरिसकेका छन् । संयुक्त राष्ट्रसंघले यसअघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार हूथी विद्रोहीसँग रहेका ड्रोनले एक हजार ५०० किलोमिटरसम्म यात्रा गर्न सक्छन् । यी ड्रोनबाट यमनका छिमेकी मुलुक साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा सहजै प्रहार गर्न सकिन्छ । 

तेलको राजनीति 
यो आक्रमणमा केही मात्रामा तेलको राजनीतिको गन्ध पनि देखिएको छ । साउदीमा आक्रमणपछि अमेरिकाले यो आक्रमण इरानले गरेको आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यो आक्रमण हुथी विद्रोहीले नभई इरानले गरेको बताएका थिए । इरानले भने उनको भनाइमा कुनै तुक नरहेको दाबी गरेको छ । उसले अमेरिका युद्धको अवस्था सृजना गर्न उद्दत रहेको दाबी गरेको छ । 

अमेरिकाले आक्रमणमा इरानलाई संकेत गर्नुको पछाडि उसको हुथीसँगको सम्बन्ध हो । हुथी विद्रोही इरान समर्थित मानिन्छन् । यति मात्र पनि होइन, अमेरिकाले तेलमाथि प्रतिबन्ध लगाउँदा इरानले आफूले तेल विक्री गर्न नपाए खाडी क्षेत्रका कुनै पनि मुलुकले तेल निर्यात गर्न नसक्ने चेतावनी दिएको थियो । यसले पनि अमेरिकाको आशंकालाई केही सहयोग गर्छ । यसका साथै इरानले खाडीको तेल निर्यातको सबैभन्दा व्यस्त रुट स्ट्रेइट अफ हर्मुज क्षेत्रबाट केही ट्यांकरलाई नियन्त्रणमा पनि लिइसकेको छ । 

त्यसको ठीक विपरीत अमेरिका भने पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) का अन्य मुलुकले तेल उत्पादन बढाउँदै इरानको तेल निर्यातमा लागेको प्रतिबन्धपछिको बजारको कमी पूरा गरून् भन्ने पक्षमा छ । साथै उसले आफ्नो तेल उत्पादन पनि बढाइसकेको छ । यसअघि अघिल्लो बिहीवार अन्तरराष्ट्रिय ऊर्जा नियोग (आईईए) ले यस वर्ष अमेरिका विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक बन्नसक्ने बताएको थियो । अमेरिका यस वर्ष कच्चा तेल निर्यातमा साउदी अरेबियालाई पछि पार्नसक्ने अवस्थामा रहेको उसको भनाइ छ । अमेरिका र इरानबीचको विवादपछि उत्पन्न तनावले पछिल्लो समय समग्र तेल बजार प्रभावित बन्दै आएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)