ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्लाको नमूना, नगरको उत्कृष्ट पब्लिक मावि

Sep 26, 2019  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर


धरान । गत असार २९ गते सुनसरीको नमूना विद्यालय घोषित भएको धरान–१२ स्थित पब्लिक माध्यमिक विद्यालयलाई शिक्षा दिवसको अवसरमा हालै धरान उपमहानगरपालिकाले पनि नगरको उत्कृष्ट घोषणा गरेको छ । यससँगै विद्यालय १० हजार रुपैयाँ सहित पुरस्कृत भएको छ । पछिल्लो समय यो विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । 

२००३ सालमा स्थापना भएको पब्लिक माथि धरानकै पुरानो विद्यालय हो । अहिले करीब १८ सय विद्यार्थी यहाँ अध्ययन गरिरहेका छन् । बदलिँदो परिवेशसँगै विद्यालयमा अंग्रेजी माध्यमको पढाइको शुरुआत, प्रविधिमैत्री कक्षा सञ्चालन र शैक्षिक गुणस्तर सुधारले विद्यालयलाई नमूना बनाएको प्राचार्य इन्द्रमोहन झाले बताए ।

निजी विद्यालयको अंग्रजी माध्यमको पढाइमा विद्यार्थीहरू आकर्षित हुन थालेपछि पब्लिकले पनि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाटै अध्यापन गराउन थालेको छ । कक्षा ६ मा एउटा सेक्सनमा अंग्रेजी र अर्को सेक्सनमा नेपाली माध्यमबाट पढाइ हुन्छ भने कक्षा ७ देखि माथि विज्ञान, गणित, कम्प्युटर विषयहरू अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ ।

विद्यालयको गुणस्तरीय शिक्षाका कारण वर्षेनि विद्यार्थी थपिँदै गएका छन् । झा अनुसार कक्षा १० मा साढे ६०० विद्यार्थी छन् भने ११ मा साढे ६०० पुगेपछि भर्ना बन्द गरिएको थियो । कक्षा १२ मा साढे ५०० विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । ‘शिक्षक, अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी सबैको सहयोग भइरहेको छ,’ झाले भने ।

विद्यालयमा प्राविधिक शिक्षातर्फ इलेक्ट्रिक इन्जिनीयरिङको पढाइ हुन्छ । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकाय पढाइ हुन्छ । विगतमा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरू कमजोर हुन्छन् भन्ने मान्यता चिर्दै विद्यालयले दिएको विभिन्न सुविधाकै कारण विद्यार्थीलाई अध्ययनशील बनाएको झाले बताए । विद्यालय परिसरमा सरसफाइ, खानेपानी, ल्याब, यातायातको व्यवस्था गरिदिएको छ । यहाँ अध्ययनका लागि पश्चिम बगुवादेखि पूर्व चोकटीसम्मका विद्यार्थी आउँछन् । 

विद्यार्थीलाई सुविधाका लागि केही दिन अघिदेखि यातायातको व्यवस्था गरिएको छ । उनीहरूलाई अध्ययनमा प्रोत्साहन गर्न विद्यालयले साप्ताहिक रूपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरेको छ । विद्यालयले १० कक्षासम्म विद्यार्थीसँग शुल्क लिँदैन । यस्तै उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको झाले जानकारी दिए ।

विद्यालयले सुविधासम्पन्न पुस्तकालयका साथै शैक्षिक प्रयोगशाला सञ्चालन गरेको छ । यस्तै कम्प्युटर कक्षमा इन्टरनेटबाट अध्ययन गर्ने व्यवस्था मिलाएको छ । बत्तीको समस्या समाधान गर्न सौर्य ऊर्जाको व्यवस्था गरिएको छ । सरकारले नगरपालिका मार्फत दिवा खाजाका लागि बजेट विनियोजन गरिदिएपछि विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजाको व्यवस्था गरेको छ । विद्यालयले यस वर्ष २२६ जना नयाँ विद्यार्थी भर्ना लिएको छ । तीमध्ये ११९ जना निजी विद्यालयबाट आएको झाले बताए । गुणस्तरीय पढाइ हुने भएकाले पनि विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)