ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले थाल्यो मार्जिन कारोबार सुविधा

Oct 2, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । लामो समयदेखि अड्किएको मार्जिन कारोबार सुविधा शुरू भएको छ । मंगलवारदेखि ब्रोकर नम्बर ५० (क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज) ले यस्तो कारोबार शुरू गरेको हो । क्रिस्टलले यसका लागि गत असार १२ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट स्वीकृति पाएको थियो । 

स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले असोज १३ गते नेप्सेसँगको छलफलमा असोज १४ गतेदेखि मार्जिन कारोबार शुरू गर्ने सहमति भएअनुसार अनुमति पाएका सबै ब्रोकरबाट यो सेवा सुचारु हुने जानकारी दिए । यसका लागि अनुमति पाएका सबै ब्रोकर तयार रहेको अध्यक्ष रानाभाटको भनाइ छ ।  

क्रिस्टल कञ्चनजंघाका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले असोज १४ गतेदेखि औपचारिक रूपमा मार्जिन कारोबार सुविधा शुरू भएको जानकारी दिए । उनले भने, ‘अब यस सेक्युरिटिजका सदस्य लगानीकर्ताले मार्जिन कारोबारका लागि निवेदन दिन सक्नेछन् ।’

ब्रोकरहरूले यो सेवा वाणिज्य बैंकबाट ऋण लिएर प्रदान गर्ने हुनाले आफ्नो लागतमा ३ देखि ६ प्रतिशत थप गरेर यो सेवा प्रदान गर्नेसमेत उनले बताए ।

५० ओटा ब्रोकर कम्पनी रहे पनि मार्जिन कारोबार सुविधा प्रदान गर्न हालसम्म २१ ले मात्र स्वीकृति पाएका छन् । मार्जिन कारोबार सञ्चालनका लागि ब्रोकरहरूले पहिलो चरणमा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ । त्यसपछि मात्र नेप्सेले अनुमति दिन्छ । क्रिस्टललाई मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले २०७५ चैत १४ गते अनुमति दिएको थियो ।

नेपाल धितोपत्र बोर्डले सीडीएसले पेश गरेको केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौं संशोधन (२०७६) लाई भदौ १८ गते स्वीकृति दिएको  थियो । यो विनियमावली २०७६ असोज १ देखि लागू भएको हो । सीडीएसले मार्जिन कारोबारको राफसाफका लागि छुट्टै सफ्टवेयरसमेत बनाएको छ ।

मार्जिन कारोबार उपलब्ध गराउने ब्रोकर कम्पनीको खुद सम्पत्ति कम्तीमा रू. ५ करोड हुनुपर्छ । ब्रोकरहरूले मार्जिन कारोबार उपलब्ध गराउँदा कम्तीमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो २ आर्थिक वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको शेयरमा मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । धितोपत्र दलाल व्यवसायीले यो सुविधा आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म उपलब्ध गराउन सक्छन् । सबै धितोपत्र दलाल व्यवसायीहरूले सूचीकृत संस्थाको शेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रूपमा लिनुपर्नेछ । यस सम्बन्धमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग ४० प्रतिशत मार्जिन लिनुपर्ने प्रावधान रहेको छ । शेयरमा निहित जोखिमलाई ध्यानमा राखी दलाल व्यवसायीले ४० प्रतिशतभन्दा बढी मार्जिन माग गर्न सक्ने पनि बोर्डले व्यवस्था गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)