ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सबै नेपालीको बैंक खाता अभियान : थपिए साढे ९ लाखभन्दा बढी खाता

Oct 20, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । ‘समृद्धिसँग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ नारासहित सरकारले बैंकमा सबैको पहुँच पुर्‍याउने अभियान शुरू गरेको आधा वर्ष बितिसकेको छ । गत वैशाखदेखि उक्त अभियान शुरू भएकोमा साउनसम्म ९ लाख ५६ हजार २५ निक्षेप खाता थपिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यससँगै सो अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका २ करोड ७८ लाख ६६ हजार ५०५ निक्षेप खाता खुलेका छन् । यद्यपि अधिकांशले एकभन्दा बढी बैंकमा खाता खोल्ने गरेकाले यसमा दोहोरोपना देखिएको बैंकरहरूको भनाइ छ । एउटै व्यक्तिको दोहोरो खाता भएकाले यस्तो खातालाई जनसंख्याको आधारमा गणना गर्न नमिल्ने नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘अझै बैंकहरूले साढे ३ करोडदेखि ४ करोड ओटा निक्षेप खाता खोल्ने लक्ष्य लिएका छन्,’ उनले भने ।

सबै नेपालीमा वित्तीय पहुँच पुर्‍याउन निःशुल्क खाता खोल्ने अभियान अन्तर्गत प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली र सासु धनमाया शाक्यको नेपाल वाणिज्य बैंकमा खाता खोली चेकबुक हस्तान्तरण गरिएको थियो । यो अभियान अन्तर्गत खाता खोल्नेहरूलाई बैंक आपैmले १ सय रुपैयाँ जम्मा गरिदिएको र खाताका लागि ग्राहकसँग कुनै शुल्क नलिएको बैंकरहरू बताउँछन् । अभियान शुरू गर्ने क्रममा प्रधानमन्त्री ओलीले बैंकिङ प्रणालीमा भएको आधुनिकीकरणले आम नेपालीलाई समेट्ने भएकाले थैलीमा नगद होइन, कार्ड (डेबिट/क्रेडिट) राख्न सुझाएका थिए ।

यो अभियान शुरू भएको आधा वर्षकै बीच नेपाल राष्ट्रको अनुसन्धान विभागले नेपालमा वित्तीय पहुँचको स्थितिबारे एक संक्षिप्त अध्ययन गरेको छ । दोहोरिएका खातालाई घटाउँदा हालसम्म कुल जनसंख्याको ६० दशमलव ९ प्रतिशतको वित्तीय पहुँच भएको तथ्यांक उक्त अध्ययनबाट पाइएको छ । विभागका कार्यकारी निर्देशक गुणाकर भट्टका अनुसार अध्ययनले बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता भएको जनसंख्यालाई वित्तीय पहुँचको एउटा मानकको रूपमा लिएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा रहेका नेपालीको तीनपुस्ते विवरण विश्लेषण गरी ‘एक व्यक्ति एक खाता’ हेर्दा करीब १ करोड ८० लाख निक्षेप खाता भएको देखिएको उनले जानकारी दिए । ‘यो संख्या नेपालको कुल जनसंख्याको ६० दशमलव ९ प्रतिशत हुन आउँछ,’ उनले भने, ‘यसले नेपालमा कम्तीमा ६० दशमलव ९ प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच पुगेको देखाएको छ ।’ लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समेत समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्ने उनको भनाइ छ ।

अध्ययन प्रतिवेदनले नेपालमा वित्तीय पहुँच तीव्ररूपमा बढ्दै गएको निष्कर्ष समेत निकालेको छ । प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल र वित्तीय प्रविधिको प्रयोग बढ्दै गएकाले नेपालीहरूको वित्तीय पहुँचमा पनि वृद्धि भएको हो । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करीब ३३०० मा आइपुगेको प्रतिवेदनमा उल्लेख छ । निक्षेप खाता संख्या उल्लेख्य बढेर २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ । प्रतिवेदनले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेबिट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको देखाएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)