काठमाडौं । यस वर्षदेखि वाणिज्य बैंकहरूले चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने व्यवस्थाले प्राथमिक बजारमा ऋणपत्र निष्कासनले निरन्तरता पाएको छ । हाल लक्ष्मी बैंकको रू. २ अर्ब बराबरको ऋणपत्र विक्रीमा छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा दशवर्षे अवधिको २० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । असोज २३ गतेदेखि विक्री खुला भएको यो ऋणपत्र कात्तिक २२ गतेसम्म विक्रीमा रहनेछ ।
यससँगै आईसीएफसी फाइनान्स र पाँच वाणिज्य बैंकहरूले रू. ११ अर्ब ७० करोड बराबरको ऋणपत्र निष्कासन गर्न लागेका छन् । यी बैंकहरूमा प्रभु बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक र सन्राइज बैंक छन् । प्रभु बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा दशवर्ष अवधिको रू. १ अर्ब बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट असोज ७ गते अनुमति पाइसकेको छ । अन्य पाँच कम्पनीले भने सेबोनमा निवेदन दिएका छन् ।
कुमारी बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा दशवर्षे अवधिको, नेपाल एसबीआई बैंकले १० प्रतिशत ब्याजदरमा दशवर्षे अवधिको नबिल बैंकले १० प्रतिशत ब्याजदरमा ६ वर्षे अवधिको, सन्राइज बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा सातवर्षे अवधिको र आईसिएफसी फाइनान्सले वार्षिक १२ प्रतिशत ब्याजदरमा सातवर्षे अवधिको ऋणपत्र जारी गर्न लागेका हुन् । यो ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १००० छ ।
ऋणपत्रबाट उठेको रकम शतप्रतिशत लगानी गर्न पाइन्छ । त्यसो हुँदा लगानीयोग्य पूँजी जुटाउन पनि ऋणपत्र जारी गर्न कम्पनीहरू सक्रिय देखिन्छन् । यसबाट लामो अवधिका लागि लगानीयोग्य पूँजी जुट्ने गर्दछ । यसअघि बैंकले यस्तो रकम कर्जा पूँजी निक्षेप अनुपात अनुसार ८० प्रतिशत मात्र लगानी गर्न पाउँथे । यो वर्षदेखि ऋणपत्रको शतप्रतिशत रकम लगानी गर्न पाउने व्यवस्थाले राहत मिलेको बैंकहरूको भनाइ छ । कुल कित्तामध्ये बैंकहरूले केही कित्ता सर्वसाधारणका लागि र केही कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थालाई विक्री गर्ने गर्दछन् । पछिल्लो समय सर्वसाधारणमा ऋणपत्रप्रतिको आकर्षण भने कम देखिएको छ । ऋणपत्र निष्कासन हँुदा परेको आवेदनका आधारमा समेत सर्वसाधारणको आकर्षण कम रहेको बुझ्न सकिन्छ ।
के हो ऋणपत्र ?
तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई ऋणपत्र (डिबेन्चर) भनिन्छ । यसको अंकित मूल्य सामान्यतया रू. १००० हुन्छ । ऋणपत्र खरीदकर्ताले आफ्नो लगानीको रकममा तोकिएको ब्याजदर अनुसार वार्षिक वा अर्धवार्षिक रूपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् । कम्पनी नोक्सानीमा गए पनि ऋणपत्रका लगानीकर्ताले प्राप्त गर्ने ब्याजदरमा कुनै असर पर्दैन । ऋणपत्रमा लगानी गर्नेहरूलाई भने शेयरधनीहरूको जसरी वार्षिक साधारणसभामा भाग लिने र मतदान गर्ने अधिकार हुँदैन ।