ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन कारोबार प्रणालीको १ वर्ष पूरा

१६ हजारभन्दा बढी आबद्ध

Nov 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र दोस्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा आएको १ वर्ष पूरा भएको छ । दोस्रो बजारमा आम जनताको सहभागिता बढाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको हो । उक्त प्रणालीमा हालसम्म १६ हजार २३४ लगानीकर्ता आबद्ध भएका छन् । 

नेप्सेका अनुसार १ वर्ष अवधिमा कुल कारोबार रू. १ खर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजारको भएकोे छ, जसमध्ये अनलाइन मार्फत भएको कारोबार रू. १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार बराबरको छ । सो अवधिमा १५ लाख २४ हजार १४ पटक कारोबार भएकोमा अनलाइन मार्फत ३ लाख १३ हजार १९७ पटक भएको छ । 

त्यसैगरी ३७ करोड १२ लाख ५७ हजार ९८८ कित्ता शेयर खरीदविक्री भएकोमा अनलाइन मार्फत ५ करोड ८७ लाख २१ हजार ६४९ कित्ता शेयर कारोबार भएको छ । १ वर्षको अवधिमा २४२ दिन शेयर कारोबार भएको छ । उक्त अवधिमा रू. १ अर्बभन्दा बढीको कारोबार १२ दिन र रू. २ अर्बभन्दा बढीको कारोबार १ दिन मात्र भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । साथै १० हजारभन्दा बढी कारोबार संख्या २३ दिन र २० हजारभन्दा बढी कारोबार संख्या १ दिन मात्र भएको देखिन्छ । १ वर्षको अवधिमा सबैभन्दा बढी कारोबार संख्या २९ हजार ४९६ रहेको छ । 

अन्तरराष्ट्रिय मुलुकमा रहेका नेपालीले पनि प्रक्रिया पूरा गरी अनलाइन मार्फत शेयर कारोबार गर्न सक्नेगरी नेप्सेले पहुँच बढाएको छ । यो प्रणाली मार्पmत विदेशबाट पनि नेपाली नागरिकले कारोबार गरिरहेको नेप्सेले जानकारी दिएको छ । शुरूमा नेप्सेको अनलाइन कारोबार प्रणाली सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा चार क्लियरिङ बैंकको प्रणालीसँग मात्र एकीकृत थियो । हाल यो प्रणालीलाई नेपाल क्लियरिङ हाउस लिमिटेडको प्रणालीमा आबद्ध गराई यसका सदस्य अन्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन रकम हस्तान्तरणको व्यवस्था मिलाइएको छ ।

नेपाल क्लियरिङ हाउसमा आबद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन कारोबार रकम भुक्तानी गर्न÷गराउन यो प्रणाली सफल भएको छ । नट्स सञ्चालनको शुरुआती दिनमा डाटा डिस्प्ले, लगानीकर्ताको युनिक क्लाइन्ट कोड जेनेरेटिङ, पुरानो लगानीकर्ताको केवाईसी अपडेट, डीएनए लगिङ, नयाँ सूचीकरण भएको कम्पनीको पहिलो दिनको कारोबारमा केही समस्या देखापरे पनि नेप्सेले सोही समयमा समस्याको समाधान गरेको थियो ।

दोस्रो बजारको कारोबार विकासमा नेप्से अनलाइन प्रणाली कोशेढुंगा सावित भएको नेप्सेले बताएको छ । यसको संवर्द्धनबाट लगानीकर्ता, बजार सञ्चालक, बजार सहभागी, नियामक निकाय तथा समग्र पूँजीबजारको हित हुने विश्वास नेप्सेको छ । अनलाइन कारोबार प्रणालीमा आबद्ध हुन धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरूले निःशुल्क युजर नेम र पासवर्ड उपलब्ध गराउने गर्दछन् । त्यसैले इच्छुक लगानीकर्तालाई यो प्रणालीमा आबद्ध हुन नेप्सेले अनुरोध समेत गरेको छ ।

अनलाइन कारोबार प्रणालीबारे बजारमा फैलिएको हल्लाको पछाडि नलाग्न नेप्सेको आग्रह छ । दोस्रो बजारमा अनलाइन वा अफलाइन जुनसुकै माध्यमबाट कारोबार गर्दा खरीदकर्ताले ब्रोकरलाई खरीद रकमको २५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था रहेको नेप्सेले स्पष्ट पारेको छ । त्यसैले अनलाइन कारोबार गर्दा मात्र खरीदकर्ताले २५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने भनाइ साँचो नभएको नेप्सेले जानकारी गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)