ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जडेज मावि सुनसरी : शैक्षिक गुणस्तरले बढायो विद्यार्थीको आकर्षण

Nov 14, 2019  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । शैक्षिक गुणस्तर बढ्दै गएपछि पछिल्लो समय निजी विद्यालयभन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको देखिएको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूमा पनि अहिले निजी विद्यालय छाडेर अध्ययन गर्न आउनेको संख्या बढेको छ । यसैको एउटा दरिलो उदाहरण हो सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित जगन्नाथ डेडराज जनता (जडेज) माध्यमिक विद्यालय । ५ वर्ष अघिसम्म विद्यालयमा करीब ८ सय विद्यार्थी थिए । अहिले बढेर १ हजार ६८७ जना पुगेका छन् ।

विद्यालयका प्रधानाध्यापक हीरामणि पौडेलका अनुसार यसै वर्ष मात्रै स्थानीय निजी विद्यालय छाडेर २४० भन्दा बढी विद्यार्थी जडेजमा आएका छन् । साइकलमा करीब आधा घण्टाको दूरीबाट समेत विद्यार्थीहरू अहिले यस विद्यालयमा आउने गरेको उनले बताए । ‘केही वर्ष अघिसम्म विद्यालयले विद्यार्थी पाउनै मुश्किल थियो । सबैको आकर्षण निजी विद्यालय बन्दै गएका थिए । ग्रामीण क्षेत्रको विद्यालय, त्यसमा पनि गुणस्तरीय शिक्षा नहुने भन्दै विद्यार्थी यहाँ आउन चाहँदैनथे,’ उनले भने, ‘तर पछिल्लो समय विद्यालयले शिक्षा प्रणालीमा परिवर्तन गरेसँगै जडेज माविमा विद्यार्थीको आकर्षण बढेको हो ।’

प्रधानाध्यापक पौडेललाई विद्यालय सुधारका लागि व्यवस्थापन समिति र वराहक्षेत्र नगरपालिकाकाले पनि साथ दिएको थियो । सबैको साथ पाएपछि उनले नयाँ सोचसहित काम गर्ने योजना बनाए । यसका लागि विद्यार्थीहरूसँग अन्तरक्रिया गरे । विद्यार्थीहरूलाई खुलेर आप्mना कुरा राख्न सुझाए । विद्यार्थीले शिक्षकको गुण र दोषबारे बताइदिए । शिक्षकहरू विद्यालय नआउने, कक्षाकोठामा नपढाउने जस्ता बेथिति थिए । त्यस्ता बेथितिको अन्त्य गर्दै पठनपाठनमा आमूल परिवर्तन ल्याइएको प्रअ पौडेलले बताए ।
विद्यालयले हरेक दुई घण्टीपछि शिक्षक र विद्यार्थीलाई ५ मिनेट छुट्टीको व्यवस्था गरिएको छ । यस्तै हरेक कक्षामा विद्यार्थीले नै शिक्षकको हाजिर गर्छन् । कक्षा ३ भन्दा माथिका तहमा प्रत्येक घण्टीमा शिक्षकको समयावधि टिपोट गर्ने लगबुक राखिएको छ । 

शिक्षक दिनेशकुमार साहका अनुसार आधारभूत तहमा पनि अहिले न्यूनतम ३० भन्दा बढी विद्यार्थी छन् । सबैभन्दा बढी मावि तहमा छन् । जडेजमा व्यवस्थापन, मानविकी, विज्ञान र शिक्षा संकायमा कक्षा ११ र १२ को पढाइ हुन्छ । १ वर्ष अघिदेखि प्राविधिकतर्फ तीनवर्षे बाली विज्ञान र चालू शैक्षिक सत्रदेखि पशु विज्ञान पनि पढाउने तयारी थालिएको छ, जसमा ४० जनाको कोटा रहेको प्रअ पौडेलले बताए ।

विद्यालयले प्लेग्रूपदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाइ शुरू गरेको छ । उक्त कक्षा पनि निःशुल्क गरिएको छ । गुनासो पेटिका र गुनासो सुन्ने अधिकारी राखिएका छन् । अभिभावक, विद्यार्थी, शिक्षकको केही गुनासो भएमा सुझाव–पेटिकामा वा अधिकारी समक्ष राख्न पाउने व्यवस्था गरिएको छ ।

विद्यालयमा वराह नगरपालिकाका वडा नं ३, ४, ५, ७ र ८ का साथै रामधुनी नगरपालिकाको वडा नं ७ का बालबालिका समेत पढ्न आउने गरेका छन् । विद्यालयलाई नमूना बनाउन शिक्षकहरूको समूह कार्य (टीमवर्क)ले मात्र सम्भव भएको प्रअ पौडेलको भनाइ छ । अहिले हरेक विद्यालयले कक्षाकोठामा प्रोजेक्टर मार्पmत अध्यापन गराउन थालेको छ । सिकाइ स्तर बढाउन मल्टिमिडियाको समेत प्रयोगका लागि इन्टरनेट जडानको तयारी गरिएको छ ।

प्रअ पौडेल आएपछि भएको यो परिवर्तनकै कारण संघीय सरकार अन्तर्गत रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले जडेजलाई दुई पटक ‘जिल्ला प्रथम विद्यालय’ घोषित गरेको छ । केन्द्रका ८४ ओटा सूचकमा २०७४ सालमा ९० दशमलव ९३ अंक ल्याउँदै विद्यालय प्रथम बनेर ५ लाख रुपैयाँ प्राप्त गरेको थियो । त्यस्तै २०७५ सालमा पनि सोही पुरस्कार अन्तर्गत २ लाख रुपैयाँ पाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)