काठमाडौं । अहिले विश्व व्यापारदेखि केन्द्रीय बैंकको वैदेशिक मुद्रा सञ्चितिसम्म सबैमा अमेरिकी डलरको दबदबा छ । जसको कारण अमेरिकी डलर विश्वभरको बजारको र बैंकको महत्त्वपूर्ण हिस्सा बन्न पुगेको छ ।
सन् २०१७ मा अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले सार्वजनिक गरेको अनुसन्धानको प्रतिवेदनले समग्र अमेरिकी डलरको ७० प्रतिशत अमेरिकाभन्दा बाहिर रहेको देखाएको थियो । जसमध्ये १०० अमेरिकी डलर दरका ६० प्रतिशत कागजी नोट अमेरिकाभन्दा बाहिर रहेको पाइएको थियो ।
यसै वर्ष सार्वजनिक भएको फेडको अर्को एक प्रतिवेदनले १६ खर्ब अमेरिकी डलरको बैंक नोट अमेरिकाभन्दा बाहिर रहेको देखाएको छ । कहिलेकाहीँ अमेरिकी डलरबारे केही नकारात्मक समाचार बाहिरिँदा पनि त्यसको प्रभाव समग्र विश्व बजारमा देखिन्छ । यसबाट पनि अमेरिकी डलरको प्रभुत्व विश्व बजारमा कति व्यापक छ भन्ने थाहा पाउन सकिन्छ ।
अहिले विश्वका केही मुलुक तथा केन्द्रीय बैंकहरूले आफ्नो डलरमाथिको निर्भरता कम गर्न केही प्रयास शुरू गरेका छन् । यसैबीच बेलायती केन्द्रीय बैंकका गभर्नर मार्क कार्नीले अमेरिकी डलरले विश्व अर्थतन्त्रलाई अस्थिर बनाइरहेको बताएका थिए । तर, अमेरिकी डलरलाई विश्व अर्थतन्त्रबाट हटाउन अझै निकै वर्ष लाग्ने स्पष्ट छ ।
अमेरिकी डलर प्रयोग हुने केही क्षेत्रहरू
केन्द्रीय बैंकको मुद्रा सञ्चिति
कुनै पनि मुलुकको केन्द्रीय बैंकले अन्तरराष्ट्रिय दाबी, विदेशी विनिमय बजारमा हस्तक्षेपलगायतका प्रयोजनका लागि विभिन्न विदेशी मुद्रा सञ्चिति राख्ने गरेका छन् ।
अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्यांक अनुसार सन् २०१९ को दोस्रो त्रैमासमा अमेरिकी डलरको विश्वका केन्द्रीय बैंकको सञ्चिति ६७ अर्ब ९० अर्ब डलर थियो । यो समग्र डलरको ६० प्रतिशतभन्दा बढी हो ।
सञ्चितिको दोस्रो सबैभन्दा लोकप्रिय मुद्रा यूरो हो । यूरोको सञ्चिति पनि २० प्रतिशतभन्दा बढी विदेशी केन्द्रीय बैंकमा छ ।
सन् २०१० यता जापानी येनको सञ्चिति विदेशी केन्द्रीय बैंकमा घट्दो क्रममा छ भने चिनियाँ मुद्रा युआनको बढ्दो क्रममा छ । तर, येनको मुद्रा सञ्चिति विदेशी केन्द्रीय बैंकमा ५ दशमलव ४ प्रतिशत छ भने युआनको केवल २ प्रतिशत छ ।
अन्तरराष्ट्रिय भुक्तानी
अमेरिकी डलर गैर–अमेरिकी निर्यात तथा आयातकर्ताले अत्यधिक प्रयोग गर्ने मुद्रा हो ।
विश्वका केन्द्रीय बैंकको छाता संगठन बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस)को तथ्यांक अनुसार विश्वभर अमेरिकी डलरमा हुने आयातको तुलनामा डलरमा बनाइने बिल पाँच गुणा छ ।
सन् २०१८ मा ईयू भित्रिएका आधाभन्दा बढी सामग्रीको बिल अमेरिकी डलरमा बनाइएको थियो ।
विश्व बजारमा आफ्नो सेवा दिइरहेका कम्पनीहरूले आफ्नो मूल्यसूची अमेरिकी डलरमा राख्ने गर्छन् ।
वस्तुको मूल्य निर्धारण
तेल तथा सुनजस्ता वस्तुहरुको मूल्य अमेरिकी डलरमा निर्धारण गरिन्छ ।
खाडी क्षेत्रका तेल उत्पादकले आफ्नो व्यापारको बिलमा तलमाथि पर्नसक्ने जोखिम कम गर्न डलरसँग आफ्नो मुद्राको एकरुपता राख्ने गरेका छन् ।
लगानी र ऋण
सन् २०१९ को जुनसम्ममा बैंकबाहेक अमेरिकाभन्दा बाहिर ११९ खर्ब डलर ऋण डलरमा दिइएको बीआईएसको तथ्यांक छ ।
उदयीमान बजारमा सामान्य हिसाबमा धेरैजसो ऋण अमेरिकी डलरमा लिइन्छ । बीआईएसका अनुसार उदीयमान बजारमा अमेरिकी डलरको ऋण ३७ खर्ब ४० अर्ब डलर पुगेको छ ।
डलरमा लिइने ऋण धेरै जोखिमपूर्ण मानिन्छ । गैर–अमेरिकी बैंकलाई डलरमा ऋण दिनु महँगो पर्न जान्छ । त्यसैले उनीहरू डलर ऋण दिनुभन्दा पनि बचत गरेर राख्छन् । पछिल्लो समय डलरमा लिइने ऋणको दर पनि घटेको छ ।