ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० निर्जीवन बीमा कम्पनीको पुग्यो चुक्तापूँजी

राष्ट्रिय बीमा कम्पनीबाहेक बाँकीको पनि पुग्ने निश्चित

Dec 1, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । धितोपत्र बजारमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीमध्ये १० ओटाले तोकिए बमोजिम चुक्तापूँजी पुर्‍याएका छन् । चालू आवको असोज मसान्तसम्म उक्त संख्याका कम्पनीले चुक्तापूँजी पुर्‍याएका हुन् । २०७५ असार मसान्तभित्र रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउन निर्जीवन बीमा कम्पनीलाई बीमा समितिले निर्देशन दिएको थियो ।

चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार अझै राष्ट्रिय बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्तापूँजी पुर्‍याउन बाँकी छ । यीमध्ये राष्ट्रिय बीमा कम्पनीको पूँजीवृद्धिका लागि अन्योल देखिएको छ भने अन्यले प्रक्रिया अघि बढाइसकेका छन् । हाल रू. २६ करोड ६६ लाख ३९ हजार मात्र चुक्तापूँजी रहेको राष्ट्रिय बीमा कम्पनीले आव २०६८/६९ को सञ्चित मुनाफाबाट शेयरधनीलाई १२० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी पुर्‍याउने योजना बनाएको थियो । उक्त योजनालाई बीमा समितिले रोक लगाएपछि हालसम्म कम्पनीले कुनै योजना अघि बढाएको छैन । पूँजीवृद्धिका लागि गत आर्थिक वर्ष २०७५/७६ को वास्तविक अवस्था पर्खिएको कम्पनीका सचिव निरञ्जन आचार्यले जानकारी दिए । हाल आर्थिक वर्ष २०७४/७४ देखि २०७५/७६ सम्मको लेखापरीक्षण कार्य चालिरहेकाले माघ महीनाभित्र लेखापरीक्षण सम्पन्न हुने र त्यसपछिको वास्तविक अवस्था हेरेर अघि बढ्ने योजना कम्पनीको रहेको उनले जानकारी दिए । कम्पनीले २०७५ असोज १९ गते आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्मको संयुक्त साधारणसभा गरेको थियो ।

उक्त कम्पनीमा नेपाल सरकार, कर्मचारी सञ्जय कोष र नेपाल बैंक लिमिटेड गरी संस्थापकतर्फ ८० दशमलव ८६ प्रतिशत र सर्वसाधारणतर्पm १९ दशमलव ५४ प्रतिशत शेयर स्वामित्व छ । नेपाल सरकारको स्वामित्वमा रहेको बीमा संस्थान कम्पनीमा परिणत हुन सक्ने प्रावधान अनुसार राष्ट्रिय बीमा कम्पनीको रूपमा २०७१ साउन १८ गतेदेखि सञ्चालनमा आएको हो ।

पूँजी वृद्धिकै लागि लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर लीलामीमा विक्री भइरहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ देखि मंसिर २९ गतेसम्मका लागि २० प्रतिशत हकप्रद विक्री खुला गरेको हो । हाल रू. ८८ करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको २० प्रतिशत हकप्रद वितरणपछि रू. १ अर्ब ५ करोड ६० लाख पुग्नेछ । युनाइटेडले भदौ ३ देखि असोज २३ गतेसम्म २४० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ४ लाख ९९ हजार १९२ दशमलव ६० कित्ता लीलामीमा विक्री गरिरहेको छ । मंसिर १० देखि १७ गतेसम्मका लागि लीलामीमा ल्याइएको उक्त हकप्रद वितरणपछि कम्पनीको पनि चुक्तापूँजी पुग्ने देखिन्छ । हाल रू. ३० करोड २४ लाख चुक्तापूँजी रहेको कम्पनीको यो हकप्रद शेयर विक्रीपछि रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ ।

यीबाहेक एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले भने ६० प्रतिशतका दरले हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एनएलजीले भदौ २४ गते र प्रुडेन्सियलले भदौ २० गते बोर्डमा निवेदन दिएका हुन् । यो निवेदन पनि स्वीकृतिको अन्तिम चरणमा रहेको देखिन्छ । हाल रू. ६४ करोड ४ लाख ६ हजार चुक्तापूँजी रहेको एनएलजीको ६० प्रतिशत हकप्रद विक्रीपछि चुक्तापूँजी रू. १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ । ६० प्रतिशत हकप्रद शेयर वितरणपछि प्रुडेन्सियल इन्स्योरेन्सको पनि पूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ । कम्पनीको चुक्तापूँजी अहिले रू. ६४ करोड १५ लाख २० हजार छ ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । यीमध्ये तीन नयाँ र दुई विदेशी बीमा कम्पनी हुन् । यस्तै १५ कम्पनी मात्र सर्वसाधारणलाई शेयर जारी गरी धितोपत्र बजारमा सूचीकृत भएका छन् । नयाँ तीन कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गरी पूँजी कायम गर्नेछन् भने विदेशी बीमा कम्पनीले अतिरिक्त व्यवस्थाबाट चुक्तापूँजी कायम गर्नुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)