ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरक्षण पत्र, शेयर तथा डिबेन्चरमा लघुवित्तको लगानी बढी

Dec 2, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले अघिल्ला आर्थिक वर्ष (आव)हरूमा भन्दा गत आव २०७५/७६ मा सरकारी सुरक्षण पत्र र शेयर तथा डिबेन्चरमा ठूलो दरले लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको वार्षिक स्थिति प्रतिवेदनले यस्तो देखाएको हो ।

लघुवित्तले गत आवमा सरकारी सुरक्षण पत्रमा मात्र रू. ३० करोड ९९ लाख लगानी गरेका छन् । अघिल्लो आव २०७४/७५ मा यस्तो लगानी रू. ३ करोड ८७ लाख थियो । गत आवमा शेयर तथा डिबेन्चरमा लघुवित्तले रू. २४ करोड ९९ लाख लगानी गरेका छन् । अघिल्लो आवमा यो रू. १० करोड १६ लाख थियो । यसैगरी लगानीको प्रमुख अंशको रूपमा रहेको मुद्दती निक्षेपमा लघुवित्तले गत असार मसान्तसम्म रू. १ अर्ब ५१ करोड राखेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९ दशमलव ९१ प्रतिशत कम हो । लघुवित्त वित्तीय संस्थाको लगानीमा सुधार भएको केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार मसान्तसम्म लघुवित्त वित्तीय संस्थाको कुल लगानी २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३ दशमलव १३ प्रतिशत बढी हो ।

लघुवित्त वित्तीय संस्थालाई पछिल्लो समय शेयर र निक्षेप लगानीको सीमामा नियन्त्रण गरेकाले आगामी दिनमा यस्तो लगानीको अंश घट्ने नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तराज लम्सालले बताए । ‘लघुवित्तलाई आफ्नो उद्देश्यमा केन्द्रित भएर कर्जा प्रवाहमा बढी जोड दिन लगानीको सीमामा नियन्त्रण गरिएको हो,’ उनले भने । उनका अनुसार लघुवित्त संस्थाले कुनै एक संगठित संस्थाको शेयर तथा डिबेन्चरमा ठीक अघिल्लो त्रैमासमा कायम प्राथमिक पूँजीको १० प्रतिशतबाट नबढ्ने गरी र सबै संगठित संस्थाको शेयर तथा डिबेन्चरमा आफ्नो प्राथमिक पूँजीको ३० प्रतिशतबाट नबढ्नेगरी लगानी गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यसैगरी संगठित संस्थाहरूको शेयर तथा डिबेन्चरमा सम्बन्धित संस्थाको चुक्तापूँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न लघुवित्तलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । तोकिएको सीमाभन्दा बढी लगानी गरेको पाइएमा यसरी बढी लगानी भएको रकम बराबर प्राथमिक पूँजीबाट घटाई पूँजीकोष कायम गरिने चेतावनी समेत राष्ट्र बैंकले दिएको छ ।

लघुवित्तको कुल कर्जा प्रवाह २ खर्ब ३५ अर्ब 
लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा तथा सापट रकम २०७६ असार मसान्तसम्ममा रू. २ खर्ब ३५ अर्ब १५ करोड पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६१ दशमलव १२ प्रतिशत बढी हो । यस्ता संस्थाको कुल कर्जा तथा सापट रकम र निष्क्रिय कर्जाको अनुपात समेत बढेको छ । गत आवको कुल कर्जा तथा सापटमध्ये निष्क्रिय कर्जा रू. २ अर्ब ३६ करोड अर्थात् १ प्रतिशत छ । अघिल्लो आवमा यस्तो अनुपात शून्य दशमलव ९४ प्रतिशत थियो । 

लघुवित्त वित्तीय संस्थाको संख्या र शाखा तीव्ररूपमा बढेको छ । २०७६ असार मसान्तसम्म ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको संख्या ९० पुगेको छ । थोक कर्जा प्रवाह गर्ने सहित राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्था ४१ र क्षेत्रीय/जिल्लास्तरका लघुवित्त वित्तीय संस्था ४९ ओटा छन् । अघिल्लो आर्थिक वर्षको सोही समयमा यस्ता संस्थाहरू ६५ ओटा थिए । गत आवमा २४ ओटा वित्तीय गैरसरकारी संस्था लघुवित्त वित्तीय संस्थामा परिणत भएका थिए । लघुवित्त वित्तीय संस्था बढेसँगै अन्य सूचकहरू पनि बढेका छन् । लघुवित्त वित्तीय संस्थाको शाखा संख्या गत आवको अन्त्यसम्ममा ४४ दशमलव ७८ प्रतिशत बढेर ३ हजार ५ सय ४७ पुगेको छ । सो अवधिमा लघुवित्तका सदस्य ४३ लाख ३१ हजार र ऋणी २६ लाख ८१ हजार पुगेका छन् । राष्ट्र बैंकका अनुसार उक्त अवधिमा लघुवित्त वित्तीय संस्थामा १७ हजार ३ सय ६२ जना कर्मचारी कार्यरत छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)