ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२१ विकास बैंकको नाफा १५.३३% बढ्यो

तिनाउ मिशनको सबैभन्दा बढी वृद्धि

२०७६ फागुन, ११  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar लक्ष्मी शर्मा

काठमाडौं ।२१ विकास बैंकको नाफा औसतमा १५ दशमलव ३३ प्रतिशत बढेको छ । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । सो अवधिमा २१ विकास बैंकले कुल रू. ३ अर्ब ५० करोड नाफा कमाएका छन् । गत आवको दोस्रो त्रैमासमा रू. ३ अर्ब ४ करोड नाफा कमाएका थिए ।

 चालू आवको दोस्रो त्रैमासमा २१ विकास बैंकमध्ये तिनाउ मिशन डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा बढी १५६ दशमलव ९१ प्रतिशत बढेको छ । बैंकले गत आवको दोस्रो त्रैमासमा रू. ४ करोड ७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. १० करोड ४६ लाख पुगेको हो । २१ बैंकमध्ये ५ बैंकको नाफा घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, देव विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक र सिन्धु विकास बैंकको नाफा घटेको हो । 

चालू आवको दोस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । सो अवधिमा बैंकले रू. ४७ करोड २५ लाख नाफा कमाएको हो । २१ विकास बैंकमध्ये सबैभन्दा बढी चुक्तापूँजी पनि यसै बैंकको छ । बैंकको पूँजी रू. ४ अर्ब ३२ करोड छ । त्यसैगरी गरिमा विकास बैंकले रू. ३२ करोड ५५ लाख नाफा कमाएको छ । एक्सेल डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रू. २९ दशमलव ७१ छ ।

प्रतिशेयर आम्दानीले कम्पनीले शेयरबाट कमाउने आम्दानीबारे थाहा पाउन सकिन्छ । यो रेशियो बढी आएमा कम्पनीले राम्रो नाफा कमाउने बुझिन्छ । तर रेशियो कम आएमा यसले कम्पनीको नाफा कमाउने क्षमता कमजोर रहेको संकेत गर्छ । सोही कारण लगानीकर्ताले प्रतिशेयर आम्दानी सबैभन्दा धेरै भएको कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ । 

६ विकास बैंक शेयर कारोबार रोक्का
२१ विकास बैंकमध्ये ६ ओटा विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । एक्विजिशन तथा मर्जरमा जान लागेकाले देव विकास बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक र सहारा विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । देव विकास बैंकलाई कुमारी बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको हो । त्यसैगरी गन्डकी विकास बैंकलाई मेगा बैंकले प्राप्ति गर्ने, कैलाश विकास बैंकलाई प्राइम कमर्शियल बैंकले, कञ्चन डेभलपमेन्ट बैंकलाई एनएमबी बैंकले र सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्ने सम्झौता भएको हो । देव विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता भएसँगै कारोबार रोकिएको थियो । पछि बैंकले प्राप्ति प्रक्रिया रद्द गरिसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)