ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेमा नकारात्मक सर्किटको कीर्तिमान

परिसूचक ९६.०६ अंकले घट्यो

Mar 3, 2020  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । कारोबार शुरू भएको २ घण्टा २९ मिनेट (अर्थात् १ बजेर २९ मिनेट) मा बजार ६ प्रतिशतले घटेकाले सोमवार नकारात्मक सर्किट लागेर नेप्से बन्द भयो । नेप्सको इतिहासमै एकै दिन पहिलोपटक परिसूचक ९६.०६ अंकले घटेको हो । नेप्सेको पछिल्लो व्यवस्थाअनुसार ५ प्रतिशत घटबढ भए कारोबार स्थगित गरिन्छ । 

पछिल्लो समय शेयर लगानीकर्तामा देखिएको उत्साह सोमवार भने देखिएन । लगानीकर्ता निराश बन्दै जाँदा कारोबार शुरू भएको १ घण्टा ४६ मिनेटमै ५ प्रतिशतले परिसूचक घट्दा ४० मिनेटको नकारात्मक सर्किट (कारोबार स्थगन) लागेको थियो । त्यसपछि खुलेका बजारमा ४ मिनेटमै थप १ प्रतिशतले बजार घटेकाले पूरै दिनका लागि कारोबार बन्द भयो । 

नेप्से परिसूचकमा ४३ महीनापछि सोमवार यसरी पहिलोपटक नकारात्मक सर्किट लागेको हो । नेप्से परिसूचक धितोपत्र बजारको इतिहासमै सोमवार सर्वाधिक अंकले घटेको हो । यसअघि २०७३ साउन २४ गते ८८ दशमलव ८१ अंक (अर्थात् ५ दशमलव शून्य ३ प्रतिशत) घटेर नकारात्मक सर्किट लागेको थियो । सो दिन परिसूचक १ हजार ६७५ दशमलव ९१ विन्दुमा रहेको थियो ।

बजारले उच्च अंकको कमी सामना गरिरहँदा यस क्षेत्रसँग सम्बद्ध पक्षहरू भने घट्नुपर्ने खासै आधार नभएको तर्क गर्छन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले सोमवारको उच्च करेक्शनले बजारलाई माथि जान बाटो खुला भएको बताए । अल्पकालीन लगानीकर्ताहरूले नाफा बुक गर्दा सोमवार ६ प्रतिशतको नकारात्मक सर्किट सामना गर्नुपरेको उनको भनाइ छ । घट्दो बजारमा नयाँ लगानीकर्ता आत्तिएपछि थप दबाब पुगेको लगानीकर्ताको भनाइ छ । तैपनि बजारप्रति नकारात्मक सोच नबनाउन फुल्लेलले आग्रह गरे । बुलिश ट्रेन्डमा रहेको बजारप्रति लगानीकर्ताको सोच सकारात्मक बनाउन यस क्षेत्रसँग सम्बद्ध निकायहरूले पहल गर्नुपर्ने उपाध्यक्ष फुल्लेलको माग छ ।

बढ्दो बजार उच्च अंकले घट्नुमा व्यक्तिगत लगानीकर्ता आत्तिएको परिणाम भएको नाम उल्लेख नगर्ने शर्तमा एक ब्रोकरले बताए । बजारमा ९० प्रतिशतभन्दा बढी लगानीकर्ता व्यक्तिगत लगानीकर्ता रहेको उल्लेख गर्दै उनले सोमवार अनलाइन कारोबार गर्ने लगानीकर्ताले अन्तिम समयमा ठूलो मात्रामा शेयर विक्री गरेको जानकारी दिए । 

लगानीकर्ता आत्तिएको अवस्थामा उनीहरूलाई सहज बनाउने वातावरण नियामक निकायबाट नभएको उनको तर्क छ । साढे दुई घण्टामात्र कारोबार हुँदा सोमवार नेप्से परिसूचक १ हजार ४९५ दशमलव ३० विन्दुमा बन्द भएको हो । बजार उच्च अंकले घटे पनि कारोबार रकम भने रू. २ अर्ब १५ करोड ४४ लाखभन्दा बढी भएको छ । 

यस दिन कारोबारमा आएका १७३ कम्पनीको उक्त रकम बराबरको कारोबार भएको हो । कारोबारमा आएका १२ समूहको परिसूचक घटेको छ । उच्च अंकले घटेको बजारमा पनि सोमवार एनआईसी एशिया ब्यालेन्स फन्ड, खानीखोला हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सका लगानीकर्ताले भने कमाएका छन् । यस दिन सबैभन्दा बढी प्रभु इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले घटेको हो ।

किन भयो कारोबार स्थगन ?
नेप्सेले धितोपत्रको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि कारोबार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भनिन्छ । नेप्सेले लागू गरेको सर्किट ब्रेकरसम्बन्धी व्यवस्थामा कारोबार शुरू भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटबढ भएमा २० मिनेट, दोस्रो घण्टामा ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटबढ भएमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने गर्छ । सोही व्यवस्थाअनुसार सोमवार १ घण्टा ३१ मिनेटअघि नै कारोबार स्थगित भएको हो । 

सोमवार कारोवारमा आएका १२ समूहकै परिसूचक घटेर बन्द भएको छ । सर्वाधिक घटेर कारोबार हुनेमा निर्जीवन बीमा समूहको परिसूचक ७ दशमलव ४६ प्रतिशत घटेको छ भने बीमा समूहको परिसूचक ७ दशमलव ४५ प्रतिशत घटेको छ । त्यस्तै, बैंकिङ समूहको परिसूचक ६ दशमलव ७४ प्रतिशत घटेको हो । लघुवित्त समूहको परिसूचक ५ दशमलव १० प्रतिशत घटेको छ भने होटल, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको ४ प्रतिशतभन्दा बढी घटेको छ । जलविद्युत् र ‘अन्य’ समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार समूहको परिसूचक २ दशमलव ६९ प्रतिशत र वित्त समूहको परिसूचक २ दशमलव २८ प्रतिशत घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक सबैभन्दा कम १ दशमलव ७४ प्रतिशत घटेको हो । 

सोमवारको कारोबार
सोमवार रू. २ अर्ब १५ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ५५ दशमलव ५६ प्रतिशत कम हो । गत कारोबार दिन आइतवार रू. ४ अर्ब ८४ करोड ७४ लाख रकम बराबरको कारोबार भएको थियो, जुन हालसम्मकै उच्च हो । सेन्सेटिभ इन्डेक्स यस दिन १९ दशमलव २० अंक बढेर ३२१ दशमलव ४३ विन्दुमा पुगेर बन्द भएको छ । 

२ कम्पनीको शेयरमूल्यमा सर्किट
सोमवारको बजारमा २ कम्पनीको शेयरमूल्य सर्वाधिक घटेर नकारात्मक सर्किट लागेको छ । प्रभु इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको हो । प्रभु इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत घटेर अन्तिम शेयरमूल्य रू. ४५२ मा सीमित भएको छ भने प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशत घटेर अन्तिम शेयरमूल्य रू. ६२५ मा पुगेको छ । यी दुई कम्पनी लगायत अन्य १३ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ । शेयरमूल्य बढेर कारोबार हुनेमा एनआईसी एशियाको ब्यालेन्स्ड फन्ड, खानीखोला हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्स रहेको छ ।  

नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार
सोमवार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको १ लाख १६ हजार ५६१ कित्ता शेयरको किनबेच हुँदा रू. १५ करोड ६९ लाख रकम बराबरको शेयर कारोबार भएको छ । कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार २७९ पुगेको छ । कारोबार रकमकै आधारमा दोस्रोमा एनआईसी एशिया बैंकको रू. १४ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६०३ कायम रहेको छ । यस्तै एनएमबि बैंकको शेयरमूल्य रू. ८ करोड ९५ लाख बराबरको कारोबार भएको छ । यस दिन कारोबारमा आएका १७३ कम्पनीमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ कम्पनीको घटेको छ । यस्तै बाँकी ३ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)