ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनलाई आम्दानीको स्रोत बनाउने अवसर

वाणिज्य बैंकमा राखेको सुन निक्षेपमा कर्जा समेत पाइने

Mar 8, 2020  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । सुन भएकाहरूले अब वाणिज्य बैंकमा निक्षेप राखी ब्याज आम्दानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सुन निक्षेप राख्ने अधिकार दिएपछि सर्वसाधारणले आफ्ना गरगहनालाई आम्दानीको स्रोत बनाउने अवसर पाउने भएका हुन् । साथै निक्षेपकर्ताले सुन निक्षेप प्रमाणपत्रलाई सोही बैंकमा धितो राखी निक्षेपको ७० प्रतिशतसम्म कर्जा समेत लिन पाउनेछन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७६ मा गरेको उक्त व्यवस्था अनुसार सुनको बिस्कुट, क्वाइनजस्ता काँचो सुन तथा गरगहना निक्षेपको रूपमा राख्न सकिनेछ । तर बैंकले तयारी गरगहना निक्षेपमा राख्दा गलाएर मात्र लिने गर्छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्म सुनको निक्षेप राख्न पाउने भएकाले यस अवधिपछि ढिक्का सुन र ब्याज आम्दानी लिनुपर्नेछ । किनभने बैंकले उक्त तयारी गहनालाई ढिक्कामा परिणत गरी तरल सम्पत्तिमा परिचालन गर्छ ।

रेडिमेट गरगहनाको अस्तित्व कायम गर्न चाहने ग्राहकले भने निक्षेपमा बाहेक सुरक्षाका लागि लकरमा मात्र राख्न सक्छन् । बैंकले सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्र स्थापना गरी कम्तीमा ९९५ फिटनेशको सुन मात्र लिनुपर्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । ‘सुनको गुणस्तर निर्धारण गर्न गलाउनै पर्छ । तर काँचो सुन भएकाहरूलाई भने यो निक्षेप आम्दानीको स्रोत बन्नेछ,’ उनले भने । 

बैंकका लागि निक्षेपको प्रडक्ट थपिएको भन्दै नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले सुन निक्षेपको ब्याजदर बैंकहरूले अन्तरराष्ट्रिय बजारका अभ्यास अध्ययन गरेर तोक्ने बताए । यद्यपि छिमेकी मुलुक भारतमा निक्षेपको अवधिअनुसार वार्षिक न्यूनतम शून्य दशमलव ५० प्रतिशतदेखि अधिकतम साढे २ प्रतिशतसम्म ब्याजदर तोकिएको देखिन्छ । 

यो व्यवस्था कार्यान्वयनका लागि कार्यविधि बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘यो प्रडक्टलाई बैंकले विस्तारै अध्ययन गरेर कार्यविधि बनाउनेछन् । करीब ३ महीनामा कार्यविधि बन्न सक्छ,’ उनले भने । पछिल्लो समय बैंकलाई निक्षेप स्रोत जुटाउन जोड दिइरहेको अवस्थामा यसले वित्तीय साधन परिचालन सहज बनाउने राष्ट्र बैंकका प्रवक्ता भट्टको भनाइ छ । 

बैंकहरूले न्यूनतम २५ ग्रामलाई निक्षेपको रूपमा राख्न सक्नेछन् । ग्राहकलाई आवश्यक प्रक्रिया पूरा गरेर प्रमाणपत्र दिनुपर्नेछ । साथै, बैंकले त्यतिबेला नै ग्राहकलाई आफूले जम्मा गरेको साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगद लिने सोको यकिन गराउनुपर्नेछ । वाणिज्य बैंकहरूले निक्षेपमा ल्याएको सुनलाई ढुकुटीमा दाखिला गरी शुद्धता तथा तौलको आधारमा अलग गरेर सुरक्षित तवरले ढुकुटीभित्र राख्ने व्यवस्था गर्नुपर्नेछ । ढुकुटी सुरक्षाका लागि सीसीटीभी क्यामेरा, स्ट्रङ रूम, दोहोरो चाबी लगायत प्रबन्ध मिलाउनुपर्ने राष्ट्र बैंकको भनाइ छ । 

बैंकरले प्रमाणपत्रमा सुनको साँवा परिमाण, शुद्धता, ब्याजदर लगायत विवरण उल्लेख गर्नुपर्नेछ । निक्षेपमा आउने सुनलाई बैंकले आफ्नो नीति अनुसार जोखिम व्यवस्थापन गरी व्यवसायीलाई बेच्ने वा ढुकुटीमा राख्ने निर्णय लिन सक्नेछ ।

सुन निक्षेप राख्ने बैंकको ढुकुटीमा रहेको सुनलाई राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने वैधानिक तरलता व्यवस्था (सीआरआर तथा एसएलआर) गणना गर्न सकिनेछ । वाणिज्य बैंकले हाल कुल पूँजीको ४ प्रतिशत सीआरआरमा राख्नुपर्ने हुन्छ । अब नगद ३ प्रतिशत र सुनको १ प्रतिशत गणना गर्न पाइनेछ, अर्थात् सीआरआरमा छुट्ट्याएको रकमको अधिकतम २५ प्रतिशतसम्म सुन निक्षेपको रूपमा गणना गर्न सकिनेछ ।

यस्तै १० लाखभन्दा बढी मूल्य पर्ने सुनको स्रोत अनिवार्य रूपमा खुलाउनुपर्ने बताइएको छ । सुन निक्षेप प्रमाणपत्र सोही बैंकमा धितो राखी त्यसको ७० प्रतिशतसम्म कर्जा पाउन सकिने व्यवस्था पनि गरिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)