ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रादेशिक संरचनाको प्रभाव : सुर्खेतमा खुल्दै ठूला होटल

Mar 10, 2020  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

वीरेनद्रनगर । सुर्खेतमा सुविधासम्पन्न होटल खुल्न थालेका छन् । सुविधासम्पन्न होटल नहुँदा वीरेन्द्रनगरमा हुने अधिकांश कार्यक्रमहरू नेपालगञ्जमै आयोजना हुने गरेका छन् । व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहु“दा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यवसायी डराउने गरेका भए पनि पछिल्लो समय यहाँ होटेल खोल्ने क्रम बढेको छ । मुलुक प्रादेशिक संरचनामा गएसँगै सुर्खेतको होटल व्यवसायमा लगानी बढ्न थालेको हो । 

सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटलहरू खुल्ने क्रम बढेको छ । स्थलमार्ग हुँदै माथिल्लो कर्णाली जाने यात्रुहरू बढ्नु र सुर्खेत–काठमाडौं सीधा हवाई सेवा सञ्चालन हुनुले आफूहरू उत्साही भएको होटल व्यवसायीहरू बताउँछन् । सुर्खेत प्रदेश राजधानी एवं कर्णालीको प्रवेशद्वार हुनु, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालन हुनु, भेरी–बबई डाइभर्सन, मध्यपहाडी, मदन भण्डारी राजमार्ग लगायत ठूला आयोजनाको निर्माणले यहाँ सुविधासम्पन्न होटल खुल्ने वातावरण बनेको भएको व्यवसायीको भनाइ छ । 

होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले कर्णालीमा पर्यटकीय चहलपहल बढ्दै गएकाले लगानीको वातावरण सृजना भएको बताए । ‘कर्णालीमा पर्यटकीय पूर्वाधारको विकास, सडकको पहुँच विस्तार हुँदै जानुजस्ता कारणले यहाँ पर्यटकको चहलपहल बढ्दै गएको छ,’ शाहीले भने, ‘मुख्यतः हाम्रो होटल व्यवसायमा लगानी बढ्नु प्रादेशिक संरचनाकै उपज हो, त्यसपछि पर्यटकीय चहलपहल पनि हो ।’ 

प्रदेशका अन्य ९ जिल्ला पुग्न सुर्खेतकै बाटो भएर जानुपर्छ । त्यसले गर्दा यहाँ पर्यटकलाई लक्षित गरेर होटल खुल्ने क्रम बढेको व्यवसायी बताउँछन् । ठूलो संख्यामा हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र कैलाश मानसरोवर जाने भारतीय पर्यटकका साथै रारा, जुम्ला, दैलेख लगायत जिल्लाका पर्यटकीय स्थल घुम्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर सुर्खेत, कालिकोट र जुम्लामा होटलहरू खुल्न थालेका हुन् । 

सिद्धार्थ र शुभ होटल वीरेन्द्रनगरका दुई ठूला होटल हुन् । सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीले आफ्नो १२औं शाखाका रूपमा २०७२ वैशाखदेखि सुर्खेतमा सिद्धार्थ होटल सञ्चालन गरेको थियो । शुरूमा रू. १६ करोडको लगानी रहेको मूलपानीस्थित तत्कालिन शनि रिसोर्टमा रू. ५ करोड लगानी थप गरेर रू. २१ करोडको लागतमा सिद्धार्थले आफ्नो सेवा सुचारु गरेको हो । 

यस्तै २०७३ चैत मसान्तबाट रू. २७ करोडको लगानीमा जुम्ला रोडमा शुभ होटल सञ्चालनमा आयो । शुभ होटलका सञ्चालक पदमबहादुर शाहीले रारा र कैलाश मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर ६० ओटा डिलक्स कोठा, रेस्टुराँ, सेमिनार हल, पार्किङ, विवाहमण्डप, लिफ्टलगायत सुविधासहित अपांगमैत्री संरचना निर्माण गरेको जानकारी दिए । 

गढी सिद्धपाइला सुर्खेतको पर्यटकीय स्थान हो । जहाँबाट सुर्खेत उपत्यकाको अवलोकन गर्न सकिन्छ । सिद्धपाइलामा रू. ६ करोड बढीको लागतमा २०७४ माघदेखि ‘होटल स्टे भ्याली भ्यू’ सञ्चालनमा आएको छ । कर्णाली आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर वीरेन्द्रनगरदेखि करीब ९ किलोमीटर उत्तरमा होटल सञ्चालनमा ल्याइएको हो । 

त्यस्तै, रू. ४ करोड ८५ लाखको लागतमा २०७४ सालदेखि चर्चित पर्यटकीय स्थल बुलबुले उद्यानको प्रवेशद्वारनजीकै ‘बुलबुले भ्यू होटल’ सञ्चालनमा आएको छ । होटलका सञ्चालकसमेत रहेका होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं सुर्खेत होटल व्यवसायी संघका महासचिव जनकसिंह ठकुरीले प्रदेशस्तरीय कार्यक्रम, रारा जाने पर्यटक र अग्र्र्यानिक खानालाई होटल सञ्चालनको मुख्य आधार बनाएको बताए । सुर्खेतमा ठूला होटल अझै खुल्ने उनको भनाइ छ । प्रदेश सरकारले होटल व्यवसायलाई हेर्ने दृष्टिकोण फरक भएको गुनासो गर्दै ठकुरीले अग्र्यानिक खाना उपलब्ध गराउन तथा पर्यटन वर्ष सफल पार्न होटल व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए । 

सुर्खेतमा साना–ठूला गरी १ हजार ५०० ओटा होटल तथा रेस्टुराँ सञ्चालनमा छन् । होटल व्यवसायी संघ सुर्खेतमा आबद्धमध्ये ९ ओटा होटल–रेस्टुराँलाई स्तरीय भनी वर्गीकरण गरिएको छ, जसमध्ये होटल भ्याली भ्यू, नमस्ते नेपाल, जियाना रेस्टुराँ, शुभ होटल, बुलबुले भ्यू होटल, होटल एएम प्लाजा, चकटी लाउन्ज र सिद्वार्थ शनि रिसोर्ट ‘क’ श्रेणीमा छन् । त्यस्तै, ५६ ओटा होटल तथा रेस्टुराँ ‘ख’ श्रेणीका छन्, जसमध्ये सम्राट गेस्ट हाउस, पुरानो माछापुच्छ्रे होटल, दर्शन होटल रेस्टुराँ एन्ड लज लगायत छन् । बाँकी १ हजार ३७९ ओटा होटल तथा रेस्टुराँ ‘ग’ वर्गमा सूचीकृत भएको होटल व्यवसायी महासंघले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)