ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण

महीनैपिच्छे शिविर राख्न स्थानीयको माग

Mar 10, 2020  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । आयुर्वेदप्रतिको बढ्दो विश्वासले निःशुल्क आयुर्वेद शिविरमा उत्साहपूर्ण सहभागिता बढ्दै गइरहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सर्वसाधारणको बढ्दो मागलाई ध्यानमा राखेर निःशुल्क आयुर्वेद शिविर गाउँ–गाउँमा पुर्‍याउन थालेपछि सर्वसाधारणको सहभागिता बढ्दै गएको हो । आयुर्वेदिक औषधिप्रति ग्रामीण समुदायसँगै शहरी क्षेत्रका बासिन्दाको समेत आकर्षण बढ्दै गएको छ । 

आयुर्वेदिक औषधिले ढिलो रोग निको भए पनि सस्तो, भरपर्दो र दीर्घकालीन रूपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारणको आकर्षण बढेको हो । प्रदेश आयुर्वेद औषधालयले गत शनिवार पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटु स्वास्थ्य चौकीमा आयोजित निःशुल्क योग तथा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा सहभागी हुने अधिकांश बिरामी सरकारको यो कामप्रति सकारात्मक देखिएका छन् । 

निःशुल्क योग तथा शिविरको उद्घाटन गर्दै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले प्रदेश आयुर्वेद औषधालयले निरन्तर दोस्रो वर्ष पनि गुटुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जनतामा विश्वास जगाउन सफल भएको बताए । उनले गर्मी मौसमको शुरुआतसँगै प्रायः मौसमी बिरामीको संख्या बढी हुने भएकाले सही समयमा सही उपचार उपलब्ध गराउने प्रदेश सरकारसँगै आयुर्वेद औषधालयप्रति धन्यवाद व्यक्त गरे । ‘चौकुनेका लेकाली डाँडाहरूमा पाइने बहुमूल्य जडीबुटी संरक्षण तथा उपयोग नहुँदा खेर गइरहेका छन्,’ उनले भने, ‘स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारको सहयोगमा खेर गइरहेका जडीबुटीको खोज अनुसन्धानसँगै उपयोग एवं संरक्षण गर्छौं ।’ 

उनले गुटुमा जडीबुटी संकलन तथा प्रशोधन केन्द्रसँगै कम्तीमा २५ शैय्याको आयुर्वेद चिकित्सालय खोल्नेबारे सहयोगी निकायसँग समन्वय भइरहेको जानकारी दिए । उनका अनुसार जैविक विविधताले भरिपूर्ण चौकुने पहाड आसपासका क्षेत्रमा पाइने दुर्लभ जडीबुटीहरूको वैज्ञानिक खोज, अनुसन्धान तथा उपयोग नहुँदा करोडौंको सम्पत्ति छाडा चौपायाको चरन बनेको छ । उनले विगतमा आफ्नो क्षेत्रमा बहुउपयोगी जडीबुटी प्रशस्त भए पनि राज्यको ध्यान नपुग्दा खेर गइरहेको बताएका छन् । 

प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले चौकुने गाउँपालिकाको गुटुमा जडीबुटी संकलन तथा प्रशोधन केन्द्रसँगै आयुर्वेद चिकित्सालय खोल्न आफ्नो स्तरबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पश्चिम सुर्खेत जडीबुटीको भण्डार भएकाले सरकारी स्तरबाट यसको खोज, अनुसन्धान तथा बहुउपयोगको नीति अवलम्बन गरिनुपर्ने बताए ।

यस्तै पतञ्जलि योग समिति सुर्खेतका अध्यक्ष शिवप्रसाद गौतमले आयुर्वेदसँगै योगलाई समेत जोडेर सँगसँगै विकास गरिनुपर्नेमा जोड दिए । 

शिविरमा आउने अधिकांश नशा तथा हाडजोर्नी, स्त्रीरोग, पायल्स, ग्यास्ट्रिक, दमखोकी, पिनास, जन्डिस र मुटुका बिरामी रहेको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जानकारी दिए । उनले शिविरमा ६ महीनाका शिशुदेखि ९८ वर्षसम्मका ७३० जना बिरामीले सेवा लिएको बताए । उनका अनुसार तीमध्ये ५१६ जना महिला र २१४ जना पुरुष थिए । 

निःशुल्क शिविरमा कविराज निरीक्षक श्रीराम आचार्यले नसर्ने रोग ठूलो स्वास्थ्य समस्याका रूपमा बढ्दै गएको बताए । उनले शिविरमा भएको औषधि सबै वितरण गरेर अर्कोपटक प्रदेश औषधालयमै आउन सेवाग्राहीलाई आग्रह गरिएको जानकारी दिए । 

गाउँमा आयुर्वेदिक सेवा वर्षको एकपटक मात्र होइन, महीनैपिच्छे उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)