ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकको पर्खाइमा ‘गुफाको डाँडो’

कुखुरापालन र मदिरा उत्पादन निषेध

२०७६ फागुन, २९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ स्थित गाजनेमा रहेको पर्यटकीय सम्भावनायुक्त ‘गुफाको डाँडो’ भौतिक पूर्वाधार निर्माण र पर्यटकको पर्खाइमा छ । पर्याप्त सम्भावना हुँदाहुँदै पनि आवश्यक प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा म्याग्दीकै उत्कृष्ट पर्यटकीय स्थल बन्नसक्ने सम्भावना बोकेको गुफाको डाँडो ओझेलमा परेको हो ।

रमणीय एवं पर्यटकीय स्थलका रूपमा चिनिए पनि गुफाको डाँडोमा विकासका पूर्वाधार पुगेका छैनन् । ‘गुफाको डिल’का नामले समेत चिनिएको उक्त डाँडो पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने निश्चित छ । तर, विकास अभावमा पछि परेको ‘गुफाको डाँडो’ डाँडोमै सीमित बन्न पुगेको छ । 

डाँडोमा पुग्न यातायातको पहुँच तथा पदमार्गको व्यवस्था नगरिँदा सो स्थान ओझेलमा परेको स्थानीयवासी एवम् जनकल्याण माविका शिक्षक शिव बानिया बताउँछन् । त्यस्तै, यस स्थानमा नेपालमा बाइसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औं शताब्दीका तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले भारतको उडिसाबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किंवदन्ती छ । 

म्याग्दी सदरमुकाम बेनीबजारबाट ३ घन्टाको पैदल दुरीमा पुगिने गुफाको डाँडोमा सवारीसाधनमार्फत डेढ घन्टामा पुग्न सकिन्छ । समुद्री सतहदेखि करीब २ हजार २०० मीटरको उचाइमा अवस्थित डाँडोबाट माघ, फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसको दृश्यावलोकन गर्न पाइन्छ । 

वनजंगलको नजीकै रहेको गुफाको डाँडोमा जुनसुकै समयमा पनि वनभोज आयोजना गर्न सकिन्छ । त्यस्तै यस स्थानबाट धवलागिरि र अन्नपूर्ण हिमशृंखलाको दृश्यावलोकन पनि गर्न सकिन्छ । जगन्नाथ मन्दिरमा जाने भक्तजनहरू गुफाको डाँडोमा पनि पुग्ने गरेका छन् । मन्दिरदेखि नजीकै रहेको डाँडोमा पुग्दा थकाइ बिर्सिनुका साथै छुट्टै आनन्दको अनुभूति भएको बेनीबाट त्यहाँ पुगेका स्थानीय व्यापारी एवम् यातायात व्यवसायी सुमन श्रेष्ठले बताए ।

जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाका अनुसार गुफाको डिलमा भ्यू–टावर निर्माणका लागि चालू वर्षमा वडा कार्यालयबाट रू. १ लाख बजेट विनियोजन भएको छ । उक्त बजेटबाट टावरको लागत इस्टमेट तयार गरी निर्माण गर्न आवश्यक स्रोत जुटाउने तयारी भइरहेको छ । 

जगन्नाथ मन्दिर र गुफाको डाँडोको विकास गर्न सके यस क्षेत्रमा पर्यटक भित्र्याउन सकिने स्थानीय जनकल्याण मावि पुलाचौरका शिक्षक चिरञ्जीवी सुवेदी बताउँछन् । गलेश्वर मन्दिर, पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय स्थल टोड्के पुग्ने पदमार्ग निर्माण गर्नसके धार्मिक पर्यटन बढ्नुका साथै स्थानीयको दैनिकीमा समेत परिवर्तन आउने स्थानीयको भनाइ छ । 

गुफाको डाँडोबाट दर्जन भन्दाबढी हिमशृंखला देख्न सकिन्छ । यहाँबाट संसारकै सातौं अग्लो धवलागिरि हिमशृंखलासहित अन्नपूर्ण पहिलो र दोस्रो, निलगिरि, माछापुच्छ«े, मानापाथी, गणेश, गुर्जा लगायत हिमालको अवलोकन गर्न सकिन्छ । यस्तै गुफाको डाँडोबाट छिमेकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बागलुङ र अन्य जिल्लाका डाँडाकाँडा पनि देखिन्छन् । सदरमुकाम बेनी आसपासका क्षेत्रसमेत यहाँबाट देख्न सकिन्छ । 

कुखुरा पालन र मदिरा उत्पादन निषेध
पछिल्लो समय देशका कतिपय ठाउँहरूमा व्यावसायिक रूपमा कुखुरा पालन र मदिरा उत्पादन गरिँदै आए पनि गाजने गाउँमा भने त्यो निषेध छ । गाजनेमा भगवान् जगन्नाथकै कारण कुखुरा पालन र मदिरा उत्पादन हुँदैन । विगतमा कुखुरा पालेका र मदिरा बनाउने मानिसहरूको उठीबास लागेको हुँदा कुखुरा र मदिरा उत्पादन गर्न छाडिएको स्थानीय बताउँछन् । 

जगन्नाथलाई कुखुरा पालेको र मदिरा उत्पादन गरेको मन नपर्ने विश्वासमा गाउँभरि नै त्यसको उत्पादन तथा व्यापार गरिँदैन । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)