ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्र कारोबार अवधि आजबाट ५ घण्टा

लगानीकर्ता भने असन्तुष्ट

२०७६ चैत, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । आइतवारदेखि नेपालको धितोपत्र बजारमा कारोबार अवधि बढ्ने भएको छ । नेपालको एकमात्र धितोपत्र बजार निर्माता नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रवार एक सूचना सार्वजनिक गर्दै परीक्षणका रूपमा कारोबार अवधि बढाउने जानकारी दिएको हो । 

हाल नेप्सेमा बिहान १० : ३० बजेदेखि दिउँसो ३ : ०५ बजेसम्म धितोपत्र कारोबार हुँचदै आएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले यो अवधिलाई १ घण्टा बढाउन सुझाव दिएसँगै नेप्सेले परीक्षणका रूपमा अर्को सूचना जारी नभएसम्मका लागि बिहान १० : ३० देखि ४ : ०५ बजेसम्मको कारोबार अवधि तय गरेको हो । कारोबारको यस अवधिलाई नेप्सेले तीन सत्रमा विभाजन गरेको छ, जसअनुसार १० : ३० देखि ११ बजेसम्म प्रारम्भिक कारोबार, ११ देखि ४ बजेसम्म बोलकबोल र निरन्तर कारोबार र ४ देखि ४ : ०५ सम्म अन्तिम कारोबार हुनेछ । 


धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को कारोबार सञ्चालन सम्बन्धी व्यवस्थामा नेप्सेले चाहेमा बोर्डलाई जानकारी गराई आवश्यकता अनुसार कारोबारको समय र सत्रमा हेरफेर गर्न सक्नेछ । यसरी कारोबारको समय र सत्र हेरफेर गरिएमा नेप्सेले सो सम्बन्धी सूचना सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेप्सेको सञ्चालक समितिले शुक्रवार कारोबार अवधि बढाउने निर्णय गरेपछि सार्वजनिक रूपमा सूचना जारी गरेको हो ।

१० : ३० देखि ११ बजेसम्म प्रारम्भिक कारोबार, ११ देखि ४ बजेसम्म बोलकबोल र निरन्तर कारोबार र ४ देखि ४ : ०५ सम्म अन्तिम कारोबार हुनेछ ।

नियामक निकाय र बजार निर्माता धितोपत्र कारोबार अवधि बढाउने निर्णय गरिरहँदा लगानीकर्ताका नेताहरू भने असन्तुष्ट भएका छन् । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले कोरोना भाइरसको त्रास रहेको अहिलेको अवस्थामा कारोबार समय बढाउने भन्दा घटाउनेतर्फ पहल गर्न अनुरोध गरेकी छिन् । कोरोनाका कारण विश्व समुदाय नै त्रासमा रहेको अवस्थामा हामी सामु रहेको पूँजीबजारको अवधि बढाउने बहस आफैमा युक्तिसंगत नहुने उनको बुझाइ छ ।

उनले कोरोनाको सन्त्रास अन्त्य नहुन्जेलसम्मका लागि २ घण्टा कारोबार गर्ने व्यवस्था मिलाउन अपिल गरेकी छिन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि कारोबार अवधि बढाउने भन्दा भइरहेको व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने तर्क गर्छन् । कारोबार अवधिभन्दा कारोबार औजार थप गर्नेतर्फ ध्यान दिन उनले सुझाएका छन् । अहिले आम लगानीकर्ता बजार कतातिर जाला भन्ने अन्योल भइरहेको अवस्थामा कारोबार अवधि बढाउन उपयुक्त नहुने उनको भनाइ छ ।

लगानीकर्ता दुर्गा तिवारीले अहिलेको आवश्यकता सञ्चालनमा रहेको अनलाइन कारोबार प्रणालीलाई प्रभावकारी बनाउने, बजार सुधारका लागि तय गरिएको ५८ बुँदाका बाँकी कामहरू गर्ने, ब्रोकरको संख्या र कार्यक्षेत्र वृद्धि गर्ने तथा ब्रोकर कमिशन घटाउने रहेको उल्लेख गरिन् । धितोपत्र व्यवसायीका लागि कारोबार अवधि बढाउँदा व्यवसायी हिसाबमा राम्रो हुने धितोपत्र व्यवसायी प्रियराज रेग्मीको भनाइ छ । तर धितोपत्र कारोबार अघि र पछि गरिने राफसाफ कार्य पूर्णरूपमा ‘अटोमेटेड’ नभएकाले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनले औंल्याए ।
यसअघिको व्यवस्था

धितोपत्र कारोबार विनियमावलीमा भएको व्यवस्था अनुसार लगानीकर्ताको आदेश कार्यान्वयनका लागि कारोबार प्रणालीमा सत्र र समय निम्न बमोजिम तोकिएको छ । 

क. प्रारम्भिक कारोबार : बिहान १० : ३० देखि ११ बजेसम्म 
ख. बोलकबोल र निरन्तर कारोबार : मध्याह्न ११ देखि ३ बजेसम्म 
ग. अन्तिम कारोबार : अपराह्न ३ देखि ३ बजेर ५ मिनेटसम्म 

प्रारम्भिक कारोबार सत्रमा धितोपत्रको आदेश प्रविष्टि मात्र गर्न सकिनेछ । यस समयमा गरिएको आदेशको प्रविष्टिलाई ‘इकोनमिक अर्डर क्वान्टिटी’ तथा ‘इकोनमिक अर्डर प्राइस’को आधारमा बोलकबोल र निरन्तर कारोबार समय शुरू हुनु ठीकअघि कार्यान्वयन गरिन्छ । यसलाई अझ प्रस्ट पार्नुपर्दा निर्धारित समयभित्र प्रविष्टि भएका खरीद र विक्री आदेशलाई गणना गरी माग र आपूर्तिको सिद्धान्त बमोजिम मूल्य निर्धारण गरी प्रविष्टि भएका सम्पूर्ण आदेशलाई एकै पटक कार्यान्वयन गरिन्छ ।

निरन्तर कारोबार सत्रमा मूल्य समय प्राथमिकताका आधारमा खरीद वा विक्रीको आदेश कार्यान्वयन गरिनेछ । यस सत्रमा कारोबार गर्दा सदस्यले आदेश बमोजिम धितोपत्रको मूल्य तथा संख्या परिवर्तन गर्न सक्नेछ । अन्तिम कारोबार सत्रमा औसत मूल्यमा कारोबार हुनेछ ।

औसत गणनाका लागि नेप्सेले समय तथा कारोबार संख्या तोक्न सक्छ । कारोबारको दोस्रो र तेस्रो सत्रमा सञ्चालन भएका कारोबारको विवरण नेप्सेले वेबसाइटमार्फत कारोबार भइरहेको समयमै सार्वजनिक गर्छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)