ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनसान सीमावर्ती बजार ब्रह्मदेव 

कोरोना संक्रमणका कारण मेला बन्द हुँदा करोडौंको कारोबार ठप्प

२०७६ चैत, ९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको पुरानो भारतीय सीमावर्ती बजार हो, ब्रह्मदेव । भीमदत्त नगरपालिका–९ स्थित उक्त बजारको ३ महीने कारोबारले नै वर्षभरिको व्यवसाय धान्छ । फागुपूर्णिमा शुरू हुने पूर्णागिरिको मेलाले सीमावर्ती ब्रह्मदेव बजारमा चहलपल ल्याउँछ । 

भारतको पूर्णागिरि दर्शनपछि कञ्चनपुरमा अवस्थित सिद्धनाथको दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको ब्रह्मदेवमा वर्षेनि लाखौं भारतीय दर्शनार्थी एवम् धार्मिक पर्यटक यहाँ भित्रिन्छन् । तर, यस सिजनमा भने विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतको उत्तराखण्ड प्रदेशले पूर्णागिरिको मेला बन्द गरेको छ । उक्त मेला बन्द भएपछि नेपाल आउने श्रद्धालु भक्तजन नेपाल आएका छैनन् । 

‘अन्य समय सुनसान रहने ब्रह्मदेव बजार पूर्णागिरि मेलाको समय निकै चहलपहल हुन्छ ।’ स्थानीय व्यापारी मदनराज पनेरूले भने ‘यहाँको व्यापार भनेकै तीनमहीने मेला अवधि नै हो, तर यसपटक कोरोना भाइरसको संक्रमणका कारण मेला बन्द भएपछि व्यवसाय चौपट छ ।’ मेला अवधिमा रू. ३ लाखदेखि ५ लाखसम्म कारोबार हुने गरेको उनले बताए । 

मेला लक्षित गरेर स्थानीय व्यवसायीले लाखौंका मालसमान खरीद गरिसकेका छन् । स्थानीय व्यापारी लक्ष्मीभक्त पनेरूको व्यापार पनि मेलामुखी नै हो । मेलाका लागि उनले रू. २ लाखको मालसमान खरीद गरिसकेको बताउँछन् । विशेष गरी फागुनको अन्यतिरबाट शुरू हुनेमा मेला जेठसम्म चल्ने गर्छ । त्यस्तै अर्का स्थानीय व्यवसायी खेमराज भट्टले पनि मेला बन्द भएपछि व्यवसाय धराशयी भएको बताए । 

ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव भट्टले मेलामा करोडौंको कारोबार ठप्प भएको बताए । उनका अनुसार मेला समयमा व्यवसायीले रू. ५ लाखदेखि ५० लाखसम्ममा कारोबार गर्दै आएका थिए । कतिपय व्यवसायीले सहकारी संस्थाबाट क्रण लिएर पनि सामान खरीद गरेका छन् । मेला बन्द हुँदा बजारभरिकै व्यवसाय धराशयी बनेको उनले बताए । 

उनका अनुसार ब्रह्मदेव बजारमा १०० भन्दाबढी व्यवसायी कानूनी रूपले बसेका छन् । तर, मेला अवधिमा त्यतिकै संख्यामा बजार क्षेत्रवरिपरि सडक पेटीमा स्थानीयले कारोबार गर्छन् । पछिल्लो समय फैलिएको कोरोना भाइरसका कारण मेला प्रभावित भएपछि स्थानीय व्यवसायीलाई जीविका चलाउनै समस्या उत्पन्न भएको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथको भनाइ छ । 

६० लाखको मन्दिर प्रसादीे ठेक्का अन्योलमा
सिद्धनाथ मन्दिर व्यवस्थापन समितिले मेला अवधिमा हुने प्रसादी कारोबारका लागि रू. ६० लाखको ठेक्का सम्झौता गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर खड्काले मेला बन्द हुँदा भक्तजन नआएपछि प्रसादीको ठेक्का समेत अन्योलमा परेको बताए । 

उनका अनुसार समितिले मेलौली ट्रेडर्स एन्ड सप्लायर्ससँग रू. ६० लाखमा प्रसादीको ठेक्का सम्झौता गरेको छ । मेलाका समयमा मन्दिर परिसरभित्र तथा वरिपरि प्रसादी विक्रीका लागि समितिले हरेक वर्ष ठेक्का दिने गरेको छ । ‘कोरोना भाइरसको संक्रमणले मेला बन्द भयो, दर्शन गर्न कोही आउँदैनन्,’ अध्यक्ष खड्काले भने, ‘प्रसादी ठेक्का धरौटी फिर्ता गर्न ठेकेदारले माग गरिरहेको छ ।’ उनका अनुसार मेला अवधिभर दैनिक ३० देखि ५० हजारभन्दा बढी दर्शनार्थीे सिद्धनाथको दर्शन गर्ने गरेका थिए । 

समितिको मुख्य आयस्रोत प्रसादी, भेटी र दानपेटीकाबाट संकलन हुने रकम भएकाले मेला बन्द हुँदा मन्दिरको व्यवस्थापनमा पनि समस्या देखिएको उनको भनाइ छ । 

महेन्द्रनगर बजार कारोबार पनि प्रभावित 
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल मेला बन्द भएपछि महेन्द्रनगर बजार क्षेत्रको कारोबारमा समेत ठूलो ह्रास आएको बताउँछन् । उनका अनुसार मेला समयमा ठूलो संख्यामा हुने भारतीयको चहलपहलका कारण नेपाली वस्तुको कारोबार राम्रो हुन्छ । यसपटक कोरोना भाइरसको संक्रमण र मेला बन्दका कारण यस क्षेत्रको अर्वौंको कारोबार धराशयी बनेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)