ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ महीनामा ३२ अर्बभन्दा बढीको धितोपत्र निष्कासन अनुमति 

ऋणपत्र मात्र २१ अर्ब ४५ करोडको

२०७६ चैत, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । चालू आर्थिक वर्षको ७ महीनामा नेपाल धितोपत्र बोर्डले रू. ३२ अर्ब ६१ करोड ५० लाखभन्दा बढीको धितोपत्र निष्कासन अनुमति दिएको छ । बोर्डले आईपीओ, हकप्रद शेयर, म्युचुअल फन्ड एकाइ र ऋणपत्र निष्कासनका लागि उक्त रकम बराबरको अनुमति दिएको हो । यस अवधिसम्म बोर्डले सबैभन्दा बढी ऋणपत्र निष्कासनका लागि अनुमति दिएको छ । 

११ कम्पनीले रू. २१ अर्ब ४५ करोड बराबरको ऋणपत्र विक्री गर्न बोर्डको अुनमति पाएका हुन् । ऋणपत्रका लागि अनुमति पाउनेमा ११ कम्पनीमध्ये ९ वाणिज्य बैंक छन् । दुई वित्त कम्पनीहरू आईसीएफसी फाइनान्स र गुडविल फाइनान्सले वाणिज्य बैंकहरूको तुलनामा बढी ब्याजदरको ऋणपत्र निष्कासनको अनुमति पाएका छन् । वाणिज्य बैंकहरूले भने १० देखि १० दशमलव ३५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न अनुमति पाएका हुन् । ऋणपत्रका लागि अनुमति पाएका कम्पनीहरूमध्ये नबिल बैंकले चैत २ देखि चैत १६ गतेसम्मका लागि विक्री खुला गरेको छ भने अन्य कम्पनीले विक्री गरिसकेका छन् ।

७ महीनामा ११ कम्पनीहरूले रू. ४ अर्ब ४१ करोडभन्दा बढीको हकप्रद निष्कासनका लागि अनुमति पाएका हुन् । साधारण शेयर निष्कासनका लागि भने पाँच कम्पनीले मात्र रू. २ अर्ब ७५ करोडभन्दा बढीको अनुमति पाएका छन् । बोर्डले अनुमति दिएका उल्लिखित धितोपत्र अधिकांश कम्पनीले विक्री गरिसकेका छन् । हकप्रद निष्कासनका लागि अनुमति पाएका ११ कम्पनीमध्ये प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले विक्री गरिरहेका छन् । 

प्रुडेन्सियलले फागुन १८ देखि चैत २३ गतेसम्म र एनएलजीले फागुन २२ देखि चैत १२ गतेसम्म हकप्रद विक्री खुला गरेका हुन् । शिखरले चैत १३ र गुराँस लाइफले चैत २० गतेदेखि विक्री खुला गर्न लागेका छन् । अपी पावर र सिभिल लघुवित्तले विक्रीको मिति तय गरेका छैनन् । अन्य कम्पनीले भने विक्री गरिसकेका छन् ।

साधारण शेयर विक्रीको अनुमति पाएका ६ कम्पनीहरूमध्ये लिबर्टी इनर्जीले स्थानीयलाई विक्री गरिरहेको छ भने युनाइटेड इडी मार्दीले पनि स्थानीयलाई चैत १० गतेदेखि विक्री खुला गर्दै छ । एनआईसी एशिया लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चरले हालसम्म विक्रीको मिति तय गरेका छैनन् । अन्य कम्पनीले भने विक्री गरिसकेका छन् । सन्राइज फष्र्टले गत असोजमै एकाइ विक्री गरेको हो ।

यो ७ महीनामा बोर्डबाट धितोपत्र विक्रीका लागि अनुमति पाएका सबै कम्पनीको धितोपत्र खरीदमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको देखिन्छ । यस वर्ष विगतका वर्षहरूमा निरन्तर घटेको बजार केही समय बढेको छ । बजारले १६ सय विन्दु पार गरिरहँदा आम लगानीकर्ताले प्राथमिक तथा दोस्रो बजारका धितोपत्र खरीदमा उत्साहजनक सहभागिता देखाएका हुन् । पछिल्लो समय भने कोरोना भाइरस संक्रमणको सम्भाव्य प्रकोपका कारण धितोपत्र बजार केही प्रभावित बनेको छ । कोनोनाको संक्रमण रोकथाम नभएसम्मका लागि बजार बन्द गर्न लगानीकर्ता संघहरूले माग गरे पनि नियामक निकायले भने बजार बन्द गर्नुभन्दा सावधानी अपनाएर कारोबारमा सहभागी हुन निर्देशन दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)