ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेप संकलनमा सुधार : कुल निक्षेप ३५ खर्ब ६२ अर्ब 

२०७६ चैत, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई निक्षेप संकलनमा जोड दिन नेपाल राष्ट्र बैंकले दबाब दिँदै आए पनि २०७६/७७ को माघसम्ममा यसको वृद्धिदर भने ६ दशमलव ४ प्रतिशत मात्र छ । गत आवको सोही अवधिमा यो ८ दशमलव ७ प्रतिशत थियो । चालू आवको माघसम्ममा कुल निक्षेप ३५ खर्ब ६२ अर्ब रुपैयाँ छ । गत आवको सोही अवधिमा ३० अर्ब ८२ अर्ब रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा बढी हिस्सा मुद्दती निक्षेपले ओगटेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा बचत खातामा भन्दा मुद्दती निक्षेपमा रकम संकलन बढ्न थालेपछि यसको अंश बढेर कुल निक्षेपकै ४९ दशमलव ९ प्रतिशत पुगेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमध्ये मुद्दतीमा मात्र १७ खर्ब ४८ अर्ब रुपैयाँ संकलन भएको छ । 

गत आवको सोही अवधिमा कुल निक्षेपमा मुद्दतीको अंश ४६ दशमलव ६ प्रतिशत थियो । गत आवको माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ३० खर्ब ८२ अर्ब संकलन हुँदा मुद्दती निक्षेपमा मात्र १४ खर्ब ७४ अर्ब रुपैयाँ थियो । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढीभन्दा बढी निक्षेप संकलन गरेर कर्जा लगानीको वातावरण बनाउन जोड दिँदै आएको प्रवक्ता गुणाकर भट्टले बताए । बैंकहरूमा निक्षेपको तुलनामा कर्जा प्रवाहमा चाप परेपछि लगानीयोग्य पूँजीमा मात्र केन्द्रित नभई निक्षेप संकलनमा जोड् दिन सुझाउँदै आएकोमा अहिले यसको सुधार देखिन थालेको उनको भनाइ छ । ‘यसअघि निक्षेप संकल र कर्जा प्रवाहबीच अत्यन्त असन्तुलन थियो । यसमा अन्तरराष्ट्रिय मुद्रा कोषले पनि सुधार गर्न सुझाव दिउको थियो । वार्षिक रूपमा कर्जा प्रवाहभन्दा निक्षेपको वार्षिक विन्दुगत सुधार भएको छ,’ उनले भने । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले दिँदै आएको छोटो अवधि तथा लामो अवधिको ब्याजदर उस्तै हुने भएकाले ग्राहकले साधारण बचत खातामा भन्दा मुद्दतीतर्फ आकर्षण भएकाले यसको मुद्दती निक्षेप संकलनमा थप सुधार भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । ‘ग्राहकहरू अहिले मुद्दतीप्रति सतर्क हुन थालेका छन् । अहिले ३ महीनाको होस् वा १० वर्षको सबैमा प्रायः ९ दशमलव ७५ प्रतिशत हाराहारीमा नै ब्याज तोकिएको छ,’ उनले भने, ‘साधारण बचतमा ६ प्रतिशतमा राख्नुभन्दा ३ महीने मुद्दतीमा राख्न फाइदा हुने भएकाले अहिले छोटा अवधिको निक्षेपमा आकर्षण देखिन्छ ।’ 

यसैगरी कुल निक्षेपमा ३१ दशमलव ६ प्रतिशतले साधारण बचतको हिस्सा रहेको छ । चालू आवको माघसम्ममा १० खर्ब ८८ अर्ब रुपैयाँ बराबरको साधारण बचतमा रकम संकलन भएको छ भने चल्ती खातामा २ खर्ब ७६ अर्ब रुपैयाँ रकम संकलन भएको छ । 

नेपाल राष्ट्र बैंकले कुल निक्षेप (माग तथा अल्प सूचनामा आधारित निक्षेप)मा कडाइ गर्दै आए पनि यसको संकलन गत आवको तुलनामा १५ दशमलव १९ प्रतिशत विन्दु बढेको छ ।  गत आवको माघ मसान्तमा ३ खर्ब ४७ अर्ब रुपैयाँ कल निक्षेप संकलन भएको थियो भने चालू आवको सोही अवधिमा बढेर ४ खर्ब ८ अर्ब संकलन भएको राष्ट्र बैंकको तथ्यांक छ । 

नेपाल राष्ट्र बैंकले यस्तो निक्षेपमा कडाइ गर्दै बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरभन्दा बढी ब्याज प्रदान गर्न नपाइने निर्देशन दिएको थियो । कुल निक्षेपको ब्याजदर बचतको ब्याजदरसँग आबद्ध गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाले यसलाई खासै प्रभाव पारेको देखिँदैन । तर यसबाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव ५ प्रतिशत विन्दुसम्म बढाउन सकिने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले अक्षयकोष वा ५ वर्षभन्दा बढी भुक्तानी अवधि भएको मुद्दती निक्षेपमा संस्था र ग्राहकबीचको आपसी सहमतिको आधारमा ब्याजदर कायम गर्न सक्ने व्यवस्था भने कायम छ । 

साथै, बोलकबोलको आधारमा संकलन हुने संस्थागत मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा १ प्रतिशत बिन्दुसम्म ब्याजदर थपघट गरी निक्षेप संकलन गर्न सक्ने छन् । तर, यसरी प्रकाशित गरिएको ब्याजदर ३ महीनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)