ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन अवधि थपको असर : शेयर बजार बन्दको अवधि लम्बिने

२०७६ चैत, १७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँच दिनका लागि बन्द शेयर कारोबार थप अरू दिन पनि रोकिने भएको छ । सरकारले आइतवार लकडाउनको अवधि चैत २५ गतेसम्मका लागि थप्ने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि कारोबार बन्द अवधि थपिने जानकारी दिएको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले निर्धारण गरेको लकडाउन अवधिभर कारोबार बन्द हुने बताए । कारोबार बन्द भए पनि शेयर सूचीकरणको काम नरोकिने उनले जानकारी दिए । मंगलवारदेखि नेप्सेको वेबसाइटमा कम्पनीहरूको सूचना सार्वजनिक गर्ने काम भने शुरू हुने उनको भनाइ छ । नेप्सेले आफ्नो सूचनाहरू आफैले नेप्सेको वेबसाइटमा अपडेट गर्न लगइन उपलब्ध गराइसकेको उनले जानकारी दिए । ‘तर पनि कम्पनीहरूले सूचना अपलोड गरेका छैनन्,’ उनले भने, ‘मंगलवारदेखि हामी कम्पनीहरूको ध्यानाकर्षण गराउनेछौं ।’ 

शेयर कारोबार थपिएको लकडाउन अवधिभर बन्द गर्ने विषय अब भने नेप्सेको हातमा रहेको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । बोर्डले आफ्नो निर्देशनमा पाँच कारोबार दिन बन्द गर्न पाउने व्यवस्था अनुसार नेप्सेलाई निर्देशन दिएको भन्दै उनले परिस्थिति अनुसार कारोबार बन्द गर्ने अवधि थप्न समेत निर्देशन दिइसकेकोे बताए । 

यसअघि बोर्डले चैत १० गतेदेखि लागू हुनेगरी पाँच कारोबार दिन शेयर कारोबार रोक्न बोर्डलाई चैत ९ गते निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम नेप्सेले चैत ११ गते घोडेजात्राको सार्वजनिक बिदा कटाएर चैत १७ गतेसम्मको कारोबार बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको समयावधि सोमवार सकिँदै थियो । यसअगावै सरकारले आइतवार लकडाउन अवधि थप्ने निर्णय गरेपछि शेयर बजार पनि बन्द गर्ने निर्णयमा नेप्से पुगेको हो । नेप्सेको कारोबार रोकिएपछि राफसाफ प्रक्रिया पनि स्थगित भएको छ । शेयर कारोबारको राफसाफ गर्दै आएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले चैत ११ गते सूचना जारी गरी लकडाउन अवधिभर राफसाफ गर्ने कार्य स्थगित रोकिएको जानकारी दिएको छ ।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले अनलाइन कारोबार गर्ने लगानीकर्ता १ प्रतिशतभन्दा बढी मात्र भएकाले अनलाइनलाई मात्र प्राथमिकतामा राखेर कारोबार खुला गर्नु बाँकी शेयरधनीको हितविपरीत हुने प्रतिक्रिया दिएका छन् । यस्तो परिस्थितिमा कारोबार नखोल्दा नै आम लगानीकर्ताको हित हुने भन्दै उनले नेप्सेको कारोबार बन्द गर्ने निर्णय स्वागतयोग्य भएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)