ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल पुनर्बीमाको आईपीओमा जनताको ४ अर्बभन्दा बढी रकम रोक्का

चाँडो फुकुवा गर्न जोड

२०७६ चैत, १८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओमा सर्वसाधारणको रू. ४ अर्बभन्दा बढी रकम रोक्का भएको छ । कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म विक्री गरेको आईपीओ बाँडफाँट हुन नसक्दा सर्वसाधारणको मागभन्दा बढीको रकम रोक्का भएको हो । 

कम्पनीले रू. १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्ये सर्वसाधारणका लागि १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता विक्री गरेको थियो । यसबाहेक ७३ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरूलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सर्वसाधारणले यस आईपीओमा रू. ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार बराबरको आवेदन दिएका छन्,जुन मागभन्दा रू. ४ अर्ब १५ करोड ४७ लाख ३५ हजार बढी हो । विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले दिएको जानकारी अनुसार उक्त रकम बराबरको आईपीओका लागि ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका हुन् ।

विक्री बन्द भएको १ साताभित्र बाँडफाँट गर्ने कम्पनीको योजना रहे पनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै बाँडफाँट प्रक्रिया रोकिएको हो । यो संकटको घडीमा सर्वसाधारणको पैसा फुकुवा गर्नका लागि सम्बद्ध पक्षहरू संवेदनीशल भएर लागिपरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीको भनाइ छ ।

‘लकडाउनपूर्व ८४ हजार आवेदन भेरिफाइ गर्न बाँकी थियो, अहिले बढीमा १० देखि २० ओटा बाँकी होला,’ उनले भने । आईपीओ बाँडफाँट जतिसक्दो चाँडो गर्न विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ संवेदनशील भएर लागिपरेको प्रमुख कार्यकारी अधिकृत रायमाझीले जानकारी दिए ।

शेयर बाँडफाँट प्रक्रिया विद्युतीय प्रणालीमार्फत हुने भए पनि बाँडफाँटका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड, विक्री प्रबन्धकलगायत पारदर्शिताका लागि केही सञ्चारमाध्यमको समेत उपस्थिति हुनुपर्ने व्यवस्थाले यो लकडाउनमा समस्या परेको उनले स्पष्ट पारे ।

‘यद्यपि विकल्पको खोजीमा रहेका छौं । कुनै विकल्प अपनाएर भए पनि जतिसक्दो चाँडो बाँडफाँट गर्ने पहल जारी रहेको छ,’ रायमाझीले बताए । कुनै सम्भावना नजुटे लकडाउन खुल्नेबित्तिकै बाँडफाँट हुन्छ उनले भने ।

सरकारी स्वामित्वको यस कम्पनीको नेटवर्थको आधारमा दोस्रो बजारमा राम्रो मूल्य पाउने र यसै वर्षदेखि लाभांश दिने विश्वासमा लगानीकर्ता रहेको देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७७/८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्ता पूँजी पुर्‍याउने प्रक्षेपण गरेको छ ।

यस आधारमा पनि चालू आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर दिने कम्पनीको योजना स्पष्ट देखिन्छ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ५६ रहेको छ । हाल रू. ८ अर्ब ४० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको आईपीओपछि रू. १० अर्ब चुक्तापूँजी पुग्नेछ ।

कम्पनीको आधारभूत र प्राविधिक पक्षलाई लिएर प्रदान गरिने रेटिङले पनि लगानीकर्ताको मनोबललाई प्रभाव पार्दै आएको छ । लगानीकर्ताको उच्च आकर्षण रहेको यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले भने औसत अवस्थाभन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ प्रदान गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)