ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनपछिको  धितोपत्र बजार : दुई कम्पनीको हकप्रद विक्री रोकियो 

२०७६ चैत, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

चैत २०, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण धितोपत्रको प्राथमिक तथा दोस्रो बजार प्रभावित भएको छ । 

यतिवेला दोस्रो बजारमा शेयर कारोबार पूर्ण रुपमा बन्द छ भने प्राथमिक बजारमा पनि शेयर निष्कासन हुन सकेको छैन । प्राथमिक बजारमा हकप्रद शेयर विक्री गर्न तयारी गरेका शिखर इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर रोकिएको छ । 

शिखर इन्स्योरेन्सले चैत १३ गतेदेखि ३० प्रतिशत हकप्रद विक्री गर्ने तयारी गरेको थियो । शिखरले उक्त हकप्रद विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट माघ ४ गते नै स्वीकृति पाएको थियो । 

स्वीकृति पाएको दुई महीनाभन्दा बढी समयपछि विक्री गर्न लागेको शिखरको हकप्रद अर्को सूचना जारी नगरेसम्मका लागि रोकिएको छ । शिखरले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजारको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको छ । 

त्यस्तै चैत २० गतेदेखि विक्री खुला गर्ने तयारी गरेको गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद पनि लकडाउनकै कारण स्थगित गर्नुपरेको  उक्त कम्पनीले  बताएको छ । 

गुराँस लाइफले हाल कायम चुक्तापूँजी रू.९३ करोड ८५ लाख २० हजार चुक्तापूँजीको आधारमा शतपतिशत हकप्रद विक्री गर्न लागेको थियो । उक्त हकप्रद विक्री गर्न कम्पनीले माघ २१ गते बोर्डबाट स्वीकृति पाएको थियो । 

यी दुवै कम्पनीले सूचना जारी गरी आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन प्रक्रिया रोकिएको जानकारी गराएका छन् ।

 यद्यपि लकडाउन पूर्वनै विक्री खुला भएका हकप्रद शेयर भने निरन्तर विक्रीमा रहेका छन् । प्राथमिक बजार पूर्ण अनलाइन भइसकेकाले मेरो शेयर एप मार्फत घरमै बसेर आवेदन दिन मिल्ने भएका कारण पनि विक्री खुला भइसकेको हकप्रद विक्रीलाई निरन्तरता दिइएको कम्पनीहरुले बताएका छन् । 

यतिवेला गत फागुनमै विक्री खुला गरेका प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको हकप्रद विक्रीमै रहेको छ । प्रुडेन्सियलले फागुन १८ देखि चैत २३ गतेसम्मका लागि ६० प्रतिशत हकप्रद विक्रीमा ल्याएकोमा अर्को सूचना जारी नभएसम्मका लागि निरन्तरता दिने बताएको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्सले पनि फागुन २२ देखि चैत १२ गतेसम्मलाई विक्री गर्ने भनिएको ६० प्र्रतिशत हकप्रद विक्री अवधि थप गरी चैत २७ गतेसम्म कायम गरेको छ । 

सरकारले लकडाउन बढाएर चैत २५ गतेसम्म पुर्‍याएको छ । रोकिएका हकप्रद शेयर परिस्थिति सहज भएपश्चात विक्रीमा आउने र त्यसको जानकारी सूचना मार्फत गराइने कम्पनीहरुले बताएका छन् ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)