ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा निःशुल्क अनलाइन सिकाइ

२०७६ चैत, २६  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोरोना रोकथामका लागि मुलुकमा भएको लकडाउनले यतिबेला बालबालिकाको पठनपाठन ठप्प छ । करीब ७२ लाख नेपाली स्कुले बालबालिका धेरै दिनदेखि घरबाहिर निस्किन पाएका छैनन् । बालबालिका विद्यालय र समुदायबाट भौतिक रूपमा टाढा भएकाले सिकाइका अवसरसँग जोडिरहन अनलाइन सिकाइ (ई–लर्निङ) महŒवपूर्ण माध्यम बन्न सक्छ ।

बालबालिकाको सिकाइ क्षमता कायम राख्न र सृजनशील बनाउन विभिन्न संघसंस्थाले अनलाइन पढाइको शुरुआत गरेका छन् । लकडाउनको अवधिमा घर बसेका विद्यार्थीलाई निःशुल्क अनलाइन सिकाइ समेत शुरू गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र ‘कारखाना’ नामक अनलाइन शिक्षा प्रदायक संस्थाको संयुक्त आयोजनामा गत सातादेखि लकडाउन अवधिभरका लागि अनलाइन सिकाइ प्रारम्भ भएको हो ।

आम बालबालिका र शिक्षकहरू लकडाउनमा परेको यो समयमा ई–लर्निङका सामग्री संकलन, उत्पादन र निःशुल्क प्रसारण गर्ने सहमति अनुसार कार्यक्रम शुरू गरिएको प्याब्सनका महासचिव कुमार घिमिरेले बताए । अहिले बालबालिकालाई शैक्षिक सत्रको अन्त्यसँगै विद्यालय शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालीम तथा क्षमता विकासका अन्य कार्यक्रम चलाउने समय समेत भएको उनको भनाइ छ । ‘स्वास्थ्य संकटका कारण बालबालिका सहज ढंगले विद्यालय पुग्ने वातावरण नबनुन्जेलसम्म यो कामलाई निरन्तरता दिइनेछ,’ उनले भने, ‘शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि इन्टरनेटमा आधारित क्षमता विकासका कार्यक्रम संकलन गरी सहज ढंगले पहुँच सृजनाका साथै विद्यार्थीका लागि पनि रमाइला शैक्षिक क्रियाकलाप संकलन, उत्पादन र निःशुल्क वितरण गरिएको छ ।’ यो अभियानमा कारखानाका स्वंयसेवकहरूले निःशुल्क सेवा दिने उनले बताए । यो स्वयंसेवी अभियानमा जोडिन उनले बालबालिका र शिक्षाको क्षेत्रमा काम गरिरहेका सबैलाई आग्रह गरेका छन् ।

विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय सञ्चालकका निम्ति उपयोगी शैक्षिक सामग्रीहरू ‘कारखाना डट एशिया’ वेबसाइटबाट पाउन सकिने संस्थाका प्रमुख कार्यकारी अधिकृत पवित्रकुमार गौतमले जानकारी दिए । उनका अनुसार यो वेबसाइटमा शिक्षक, अभिभावक विद्यालय सञ्चालकलाई लक्षित गरेर विद्यालय सहयोगी स्रोतसामग्री, विद्यार्थी, अभिभावक लगायत सबैलाई लक्षित गरी ‘वेल बिईङ ः केयरिङ फर दी होल ह्युमन बिङ’ भन्ने खण्ड राखिएको छ । वेबसाइटमा राखिएका सामग्री निरन्तर अपडेट गरिने उनले बताए । 

‘बालबालिकाको सिकाइ  रोकिनु  हुन्न,’ उनले भने, ‘त्यसैले  यो अफ्ठ्यारो  घडीमा  हामी सम्भव भएसम्म सहयोग गर्न चाहन्छौं ।’ अधिकांश विद्यालय व्यवस्थापक र अभिभावकको  सुझावअनुसार संस्थाले उक्त कार्यक्रम ल्याएको उनको भनाइ छ ।

उनका अनुसार उक्त अनलाइन सिकाइमा भिडियो, लेख,  अन्तरवार्ताका साथै अनलाइनमा सिक्न सकिने अन्य सामग्रीको व्यवस्था गरिएको छ । विभिन्न क्षेत्रका विज्ञ र स्रोतहरूसँगको  सहकार्यमा संस्थाको समूह यस्ता सामग्री संकलन गरिएको उनले बताए । बालबालिकामैत्री सामग्री तयार पार्न विदेशी  संस्थाहरूसँग पनि सहकार्य गरिएको उनको भनाइ छ । नेपाल, भारत र बंगलादेशमा काम  गर्ने भएकाले संस्थाका सामग्रीहरू नेपाल मात्र नभई दक्षिण एशियाको पृष्ठभूमिमा समेत उपयोग  हुने दाबी गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)