ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको प्रभाव : स्वीकृति पाएका दुई कम्पनीको आईपीओ रोकियो 

२०७७ बैशाख, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । लकडाउनको अवधि निरन्तर बढ्दै जाँदा स्वीकृति पाएका दुई कम्पनीको आईपीओ निष्कासन हुन सकेको छैन । गैरआवासीय नेपाली (एनआरएन) को लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र एनआईसी एशिया लघुवित्त कम्पनीको आईपीओ निष्कासन प्रक्रिया यति बेला रोकिएको छ । 

दुवै कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पाएको सानिमा क्यापिटलले लकडाउनकै कारण आईपीओ विक्री खुला गर्न नसकेको बतायो । सानिमा क्यापिटलका लगानी बैंकिङ प्रमुख मन्दीप लुइँटेलले एनआरएन इन्फ्रास्ट्रक्चरको चैत २८ गतेदेखि र एनआईसी एशिया लघुवित्तको वैशाख २ गतेदेखि निष्कासन गर्ने योजना रहे पनि लकडाउनका कारण रोकिएको बताए । 

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ विक्री गर्न बोर्डबाट स्वीकृति पाएको थियो । कम्पनीले हाल कायम जारी पूँजी रू. १ अर्ब १३ करोड २६ लाखको आधारमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

यस आधारमा कम्पनीले सर्वसाधारणलाई रू.३३ करोड ९८ लाख ४ हजार बराबरको आईपीओ विक्री गर्नेछ । संस्थापकतर्फबाट जारी पूँजीको ७० प्रतिशत बराबरको रू. ७९ करोड २८ लाख ७७ हजार शेयर पूँजी चुक्ता गरिसकेको छ । 

आईपीओ विक्री गर्न गत असार ३१ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको यस कम्पनीले फागुन ४ गते स्वीकृति पाएको थियो । नेपालमा संस्थागत लगानी गर्ने उदेश्यका साथ गैरआवासीय नेपालीहरूबाट स्थापित यस कम्पनीले गत असोज २४ गते सातांै वार्षिक साधारणसभा सम्पन्न गरेको थियो ।

त्यस्तै, लघुवित्त क्षेत्रको हालसम्मकै सबैभन्दा ठूलो रकमको आईपीओ विक्री गर्न एनआईसी एशिया लघुवित्तले चैत ४ गते अनुमति पाएको थियो । यस कम्पनीले अनुमति पाएको पनि १ महीना बितिसकेको छ । कम्पनीले रू. ४७ करोड ५५ लाख बराबरको आईपीओ विक्री गर्न बोर्डको अनुमति पाएको हो । 

आईपीओ विक्रीका लागि कम्पनीले माघ ७ गते निवेदन दिएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै बोर्डको अनुमति पाएको यस कम्पनीको निष्कासन प्रक्रिया भने यति बेला रोकिएको छ । 

कम्पनीले हाल कायम जारी पूँजी रू. १ अर्ब ४८ करोडको आधारमा सर्वसाधारणका लागि ३२ दशमलव १३ प्रतिशत शेयर जारी गर्न बोर्डको स्वीकृति पाएको हो । हाल संस्थापकबाट चुक्ता भएको शेयरपूँजी रू. १ अर्ब ४५ लाख रहेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा भएको व्यवस्थाअनुसार बोर्डबाट विवरणपत्र, विक्री प्रस्ताव वा सम्बद्ध विवरण स्वीकृत भएको मितिबाट २ महीनाभित्र संगठित संस्थाले धितोपत्रको विक्री गरिसक्नुपर्नेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको अवस्थालाई हेर्ने हो भने आईपीओ स्वीकृतिको २ महीना वैशाख ४ गते पूरा भएको छ । कम्पनीहरूले धितोपत्र निष्कासनका लागि आह्वानपत्र जारी गर्दा ७ कार्यदिन अघि गर्नुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)