ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनपछि अपि पावरको हकप्रद निष्कासन र साधारण सभा अन्योलमा 

२०७७ बैशाख, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

वैशाख ९, काठमाडौं । आगामी चैत ११ गतेदेखि जारी लकडाउनका कारण देशको समग्र क्षेत्रमा असर परिरहदा अपि पावर कम्पनी पनि दोहोरो मारमा परिरहेको छ ।

कम्पनीले लामो समयपछि हकप्रद शेयर निष्कासन गर्न स्वीकृती पाएकोको भएतापनि लकडाउनका कारण शेयर निष्कासन   तथा थप हकप्रद प्रस्ताव पारित गर्न बोलाइएको वार्षिक साधारण सभासमेत रोकिएको छ । 

कम्पनीले विसं २०७४ असार ३० गते पहिलो पटक नेपाल धितोपत्र बोर्डमा १ बराबर २ को अनुपातमा हकप्रद जारी गर्न निवेदन दिएको थियो । कम्पनीले बोर्डको निर्देशनमा प्रक्रिया पुरा गरी विसं २०७५ पुस ४ गते पुनः निवेदन दर्ता गराएको थियो । कम्पनीले निर्माण गरिरहेको ४० मेवा क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप लगानी जुटाउन हकप्रद विक्री गर्न लागेको हो ।

२०० प्रतिशत हकप्रद विक्रीको लागि निवेदन दिएको कम्पनीले पहिलो चरणमा ४७ प्रतिशतका लागि मात्र नियामकबाट स्वीकृति पाएको छ । २ वर्षभन्दा बढी समयपछि स्वीकृति पाएको हकप्रद निष्कासन पनि अहिले अन्योलमा रहेको छ । 

धितोपत्र दर्ता तथा निष्कासन नियमावली ,२०७३ मा भएको व्यवस्था अनुसार बोर्डबाट विवरणपत्र, विक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट दुई महीनाभित्र सार्वजनिक निष्कासन गरिसक्नु पर्नेछ । यो व्यवस्था अनुसार पनि कम्पनीले हकप्रदको लागि स्वीकृती पाएको वैशाख १२ गते दुई महीना पुग्दैछ । गत चैत ९ गतेको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ११६ कायम  छ ।  

त्यस्तै आव २०७५/ ७६ को वार्षिक साधारण सभा ५ प्रतिशत बोनस शेयर र बोनस र ४७ प्रतिशत हकप्रदपछि कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ९१ प्रतिशत हकप्रद प्रस्तावसहित चैत ७ गतेका लागि तय गरिएको वार्षिक साधारण सभा स्थगित भएको छ ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ५ गते २५ जनाभन्दा बढी एकै ठाउँ भेला नहुन दिएको निर्देशन पालना गर्दै कम्पनीले सभा स्थगित गरेको हो । 
चैत १५ गते पछि यदि अवस्था सामान्य भए, सार्वजनिक निष्कासनका लागि एक साता अघि सार्वजनिक सूचना जारी गरी हकप्रद निष्कासन गर्न सकिने कम्पनीले बताएको छ ।

 साधारण सभाका लागि पनि बुक क्लोज लगाएतका प्रक्रिया पुरा गरिसकेकाले पुनः सूचना जारी गरी सभा आयोजना गर्न सकिनेछ । कम्पनीले ४७ प्रतिशत हकप्रद र साधारण सभा प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरेको थियो ।

दुवै प्रक्रियाका लागि बुक क्लोजको मिति भने चैत १ गतेनै कायम हुने कम्पनीले जानकारी दिएको छ । हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाखको आधारमा कम्पनीले ४७ प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)