ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन हटेर स्थिति सामान्य बनेपछि मात्र शैक्षिक संस्था खुल्ने

आइतवार सुझाव प्रतिवेदन बुझाउँदै विज्ञ समिति

२०७७ बैशाख, १४  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । मुलुक विगत १ महीनादेखि लकडाउनमा रहेकाले विद्यालय तथा विश्वविद्यालयको पठनपाठन ठप्प छ । लकडाउन खुलेपछि पनि यस्ता संस्था सञ्चालनमा ढिलाइ हुने भएको छ । सयौं विद्यार्थी भेला हुने र कक्षा कोठामा पनि उल्लेख्य संख्या रहने अवस्थामा सामाजिक दूरी कायम गर्न मुश्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउन सकिएर सामान्य भएपछि सबैभन्दा अन्तिममा खुल्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको भर्चुअल प्रेस मिटमा शिक्षा क्षेत्र व्यवस्थापन र योजनाबारे बताउँदै शिक्षामन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन् ।  

मन्त्री पोखरेलका अनुसार अहिले देशभर २५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले तत्काल त्यहाँ कक्षा सञ्चालन सम्भव छैन । त्यसैले नयाँ ढंगले कक्षा सञ्चालन गर्ने विकल्पको खोजी भइरहेको उनले बताएका छन् । ‘जेठसम्ममा नयाँ शैक्षिकसत्र शुरू गर्न सके समस्या हुँदैन । परीक्षा पनि सञ्चालन हुन सक्छन्,’ उनले भने । जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर साथै अतिरिक्त कक्षा बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने उनको भनाइ थियो ।

लकडाउनको आगामी स्वरूप हेरेर मन्त्रालयले तय गर्न लागेका शैक्षिक कार्यक्रम र योजनाबारे मन्त्री पोखरेलले जानकारी गराएका छन् । शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आइतवार सुझाव प्रतिवेदन बुझाउँदै छ । आइतवार नै मन्त्रिपरिषद्ले १५ वैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यकैका आधारमा योजना बनाइने उनले बताए । कोभिड १९ संक्रमण, रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, स्वास्थ्य मन्त्रालय र विज्ञ समितिका सुझावका आधारमा शिक्षाका तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने जानकारी उनले दिएका छन् ।

अनलाइन शिक्षा तथा विकल्पहरूका बारेमा सुझाव दिन शिक्षा मन्त्रालयले पूर्वमन्त्री गणेश साहको नेतृत्वमा विज्ञ समिति गठन गरेको छ । सो समितिले अन्य ६ विषयगत समिति पनि गठन गरेको छ । मन्त्री पोखरेलका अनुसार समितिले प्रारम्भिक अवधारणा दिइसकेको र विषयगत उपसमितिसँग पनि छलफल भइरहेको छ  ।

शिक्षाक्षेत्रमा क्रियाशील विभिन्न सरोकारवालाहरूले विपद्का बेला परीक्षाको सट्टा आन्तरिक मूल्याकंन र अरू विधिबाट कक्षा चढाउन सकिने विकल्प दिइरहेका छन् । यद्यपि सरकार कोभिड १९ को कारण स्थगित विद्यालय तहको परीक्षा लिने ढिलै भए पनि योजनामा छ । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले गर्नैपर्ने मन्त्री पोखरेलले बताए । स्थिति सामान्य भएको तेस्रो सातामा परीक्षा सञ्चालन गर्न सकिनेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको उनले जानकारी दिए । अबको १ हप्ताभित्र सबै विद्यालयलाई नतीजा प्रकाशन गर्ने र त्यसपछिको अर्को हप्तामा माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने उनले बताए । अवस्था जटिल नबनेको अवस्थामा पनि जाडोको महीनामा कोरोनाको अर्को चरण शुरू हुने भन्ने विज्ञको आकलनलाई ध्यानमा राखेर पहिलेको कक्षाकोठाको बसाइका हिसाबले पठनपाठन हुन नसक्ने उनले औंल्याएका छन् ।

भर्चुअल प्रेस मिटमा काठमाडौ उपत्यकाभित्र र बाहिरका अधिकांश शिक्षा पत्रकार सहभागी थिए । शिक्षा पत्रकार समूहले शिक्षाका समसामयिक विषयवस्तुमा केन्द्रित रही अन्तरक्रियात्मक भर्चुअल प्रेस मिटको शृंखला शुरू गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)