ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर कारोबार खोल्न पछि हटे सेबोन र नेप्से

२०७७ बैशाख, १६  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । अनलाइन कारोबार प्रणालीलाई प्रोत्साहन गर्दै वैशाख १५ पछि शेयर कारोबार खोल्ने पक्षमा रहेको धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्ततः नखोल्ने सूचना जारी गरेको छ । सरकारले वैशाख १५ पछि १० दिन लकडाउन थपेपछि बजार खोल्न नसकिने निष्कर्षमा नेप्से पुगेको हो ।

यसअघि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले लकडाउन थप भए पनि अवस्था केही सहज भए बजार खोल्न सकिने बताएका थिए । तर, सरकारले लकडाउन खुकुलो नगर्दा बजारसम्बद्ध निकायहरूका कर्मचारी कार्यालयसम्म पुग्ने सम्भावना कम देखिएकाले बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

शेयरबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विश्वभरका अन्य मुलुकमा स्वचालित अनलाइन प्रणालीका कारण बजार बन्द नभएको अवस्थामा हाम्रो अनलाइन प्रणाली स्वचालित नहुँदा बन्दै गर्नुपर्ने अवस्था आएको बताए । बजार लामो समय बन्द गर्न नहुने भन्दै उनले वैशाख २५ पछि कसरी अघि बढ्ने भन्ने विषयमा सम्बद्ध निकाय गम्भीर भएको उनले जानकारी दिए । अनलाइन कारोबार प्रणालीलाई स्वचालित बनाई आगामी दिनमा कुनै पनि परिस्थितिमा बजार बन्द गर्नुपर्ने अवस्था आउन नदिनु अबको चुनौती रहेको उनको भनाइ छ ।

नेप्सेले सोमवार जारी गरेको सूचनामा वैशाख २६ गतेपछि बजार खोल्न सकिने सम्भावना भएकाले तयारी अवस्थामा बस्न सबैलाई अनुरोध गरेको छ । नेपालमा अनलाइन कारोबार प्रणाली शुरू गरिएको डेढ वर्ष भइसकेको छ । तर, थोरै मात्र लगानीकर्ता यस प्रणालीमा आबद्ध छन् । अनलाइन प्रणाली भनिए पनि हालसम्म स्वचालित रूपमा कारोबार गराउन नेप्से सफल भएको छैन । यस प्रणालीमा लगानीकर्ताको बैंक खाता आबद्ध (इन्टिग्रेट) हुन नसकेका कारण अभैm पनि लगानीकर्ता भौतिक रूपमा ब्रोकर अफिसमै धाउन बाध्य छन् ।

शेयरबजारलाई नै आय आर्जनको माध्यम बनाएका लगानीकर्ता लामो समय बजार बन्द हुँदा मर्कामा परेको बताउँछन् । शेयरधनी शिवप्रसाद पौडेलले यसै क्षेत्रको आम्दानीबाट गुजारा चलाउनेहरू समस्यामा पर्न थालेको बताउँछन् । आपूmजस्ता धेरै लगानीकर्ता यही क्षेत्रमा निर्भर भएकाले बन्दको अवधि थपिँदै लगिने हो भने राहतको प्याकेज ल्याउनुपर्ने माग उनको छ ।

शेयरबजार सरकारले लकडाउन गर्नुअगावै चैत १० गतेदेखि नै पाँच कारोबार दिनका लागि बन्द गर्ने घोषणा गरिएको थियो । लकडाउनको अवधि थप गरेसँगै बजार बन्दको पनि अवधि थप गर्नुले बजारप्रतिको जिम्मेवारीलाई सम्बद्ध निकायले बेवास्ता गरेको आरोप लगानीकर्ताले लगाएका छन् । यस समयमा अनलाइन कारोबार प्रणालीलाई स्वचालित बनाउनेतर्फ पहल गर्दै बजार सामान्य रूपमा भए पनि सुचारु गर्नुपर्ने उनीहरूको माग छ । सोचेभन्दा बढी समय बजार बन्द हुने अवस्था आएपछि लगानीकर्ता आत्तिन थालेको देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)