ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्गानिक उत्पादन विदेश पठाउंँदै ‘मान्द्रो नेपाल’

२०७७ बैशाख, २२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । भरतपुर महानगरपालिका–१० मा अवस्थित मान्द्रो नेपालले स्थानीय तरकारीहरूलाई सुकाएर प्याकिङ गरी विदेश पठाउन थालेको छ । विगत २ वर्षदेखि उत्पादन गर्दै आए पनि गत वर्षबाट व्यावसायिक रूपमा विदेश पठाउन थालिएको हो । गुन्द्रक, मस्यौरा, मुला तथा लौकाको चाना, सिन्की, टिकीयालगायत उत्पादनहरू विदेश पठाउंँदै आएको मान्द्रो नेपालले बताएको छ ।

अग्र्यानिक रूपमा उत्पादन गरिएको रायोको साग, कर्कलो, मास, कुपिन्डो, मुलालाई सौर्य शक्तिको माध्यमबाट सुकाएर प्याकिङ गरी विदेश पठाउंँदै आएको मान्द्रो नेपालकी सञ्चालिका अम्बिका धितालले बताईन् । ‘पहिले हाम्रो उत्पादन नेपालमै खपत भएपनि गत वर्षबाट विदेश पठाउन थालेका हौँ,’ उनले भनिन् ।

उनका अनुसार मान्द्रो नेपालका उत्पादन स्थानीय बजार, काठमाडौं, पोखरा तथा अमेरिका, अष्ट्रेलिया र लन्डनमा पठाउने गरिएको छ । अग्र्यानिक तरकारीको माग नेपालमा भन्दा विदेशमा धेरै रहेको सञ्चालिका धितालले बताईन् । उत्पादन खेर नजाने र लामो समयसम्म नबिग्रने भएकोले यो व्यवसाय शुरू गरेको उनको भनाई छ । हाल मान्द्रो नेपालले करीब ६ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेको छ ।

मान्द्रो नेपालले प्रतिकेजी रू. १ हजारदेखि रू. १ हजार ५०० सम्ममा आफ्नो उत्पादन विदेश पठाउने गरेको छ । अग्र्यानिक उत्पादन विषाक्तरहित हुने र स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने सञ्चालिका धितालको दाबी छ । गत वर्षमात्र २ हजार केजी अग्र्यानिक उत्पादन विक्री गरेको उनले बताईन् ।

अहिलेपनि विदेशबाट थुप्रै माग आएको बताउँदै उनले लकडाउन खुलेपछि पठाउने तयारी गरिएको जानकारी दिईन् । उत्पादनको मागलाई दृष्टिगत गरी लकडाउनको समयमा पनि प्रशोधन, प्याकिङ र भन्डारण गरिरहेको उनको भनाई छ । मान्द्रो नेपालमा स्थानीय १२ जना महिलाले रोजगारी पाएका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)