ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर कारोबार अवधि दुई घण्टा मात्र

२०७७ बैशाख, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

वैशाख २६,  काठमाडौं । गत चैत १० गतेदेखि बन्द रहेको नेपालको शेयर बजार अन्ततः मंगलवारदेखि सुचारु हुने भएको छ । देशमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पहिलो चरणमा पाँच कार्यदिनको लागि बन्द भएको बजार सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण हालसम्म बन्द रहेको थियो । 

मन्त्रिपरिषदको बुधवारको बैठकले शेयर बजार खोल्न सकिने निर्णय गरेसँगै यससँग सम्बद्ध पक्षहरु छलफलमा जुटेका थिए ।

शुक्रवार शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा बजार सम्बद्ध सबै पक्षहरुविच भएको छलफलपछि दैनिक २ घण्टा कारोबार हुने गरी बजार सुचारु गर्ने निर्णय भएको हो ।यस अघि विहान ११ बजेदेखि ४ बजेसम्म कारोबार हुँदै आएकोमा अब भने विहान ११ बजेदेखि दिनको १ बजेसम्म मात्र शेयर कारोबार हुनेछ । 

हालको कारोबारका लागि बोर्डले सर्किट ब्रेकसम्बन्धि व्यवस्थालाई समेत परिमार्जन गरिएको छ ।नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने निर्णय बोर्डले गरेको छ । यस अघिको व्यवस्थामा ६ प्रतिशतसम्म घटी वा बढी भएमा कारोबार बन्द हुने व्यवस्था थियो । 

 साथै बोर्डले प्रारम्भिक कारोबार शत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशत सम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टी गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुने सक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्थासमेत गरेको छ  । 

अबको कारोबारमा शेयरधनीहरुले धितोपत्रको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपीएस वा विद्युतीय माध्यमबाट गर्नु पर्नेछ । धितोपत्र खरीद गर्दा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहन गर्दै आगामी साउनदेखि यसमा पनि अनिवार्य गर्ने निर्णय बोर्डले गरेको छ । 

लगानीकर्ताहरुलाई मेरो शेयर खाता खोली सोहि खाताबाट अनिवार्य रुपमा ईडीआईएसमार्फत राफसाफ गर्ने व्यवस्था गरिने र आगामी असार मसान्तसम्म मेरो शेयरको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने बोर्डले बताएको छ । बोर्डले सम्पूर्ण निक्षेप सदस्यहरुको केन्द्रीय कार्यालयमार्फत राफसाफको व्यवस्था मिलाउने समेत जानकारी दिएको छ ।

आगामी असारसम्म अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताहरुसँग पासवर्ड र युजर आईडीको लागि कुनै शुल्क नलिन बोर्डले भनेको छ । 

लकडाउनको अवधि जारी रहेकाले नेपाल सरकारबाट निर्णय भए अनुसार कुल कर्मचारीको एक तिहाई कर्मचारीबाट आलोपालो गरी कार्यालय सञ्चालन गर्न निर्देशन दिदैं बोर्डले नेप्से, सीडीएससी, मर्चेण्ट बैंकर, डीपी र ब्रोकर कार्यालयमा भएको एक चौथाई सवारीलाई मात्र बोर्डले पास उपलब्ध गराउने बताएको छ ।

 त्यस्तै लगानीकर्ताहरुलाई एक पटकको लागि ब्रोकरको सिफारिसमा बोर्डले पास उपलब्ध गराउनेछ । बोर्डले शेयर कारोबार मंगलवारदेखि शुरु हुने भएपनि नेप्से, सीडीएससी,मर्चेण्ट बैंकर, डीपी र ब्रोकर कार्यालयहरुलाई आइवारदेखिनै सञ्चालन गर्न निर्देशन दिएको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)