ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कहाँ अड्कियो नेपाल पुनर्बीमा कम्पनीको आईपीओ सूचीकरण प्रक्रिया ?

२०७७ जेठ, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ ८, काठमाडौं । गत आइतवारनै आईपीओ सूचीकरण प्रक्रियाका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दर्ता गर्ने बताएको नेपाल पुनर्बीमा कम्पनीले हालसम्म दर्ता गरेको छैन । 

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले नेप्सेको कार्यालय बन्द हुदाँ दर्ता गर्न नसकिएको जानकारी दिए । सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ताका लागि विवरण उपलब्ध गराइसकेको बताउँदै उनले नेप्सेमा दर्ता नभइ प्रक्रिया अघि बढाउन नमिल्ने भएकाले समस्या भएको बताए ।

उता नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले कार्यालय बन्द नभएको जानकारी दिएका छन् । उनले लकडाउनका कारण पहिला जस्तो चहलपहल नेप्सेमा नभएपनि सूचीकरण प्रक्रियाकै लागि समस्या नहुने बताए । 

उनका अनुसार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीका कुनै पनि कर्मचारी सूचीकरणका लागि नेप्सेमा आएका छैनन् । नेप्सेको प्रवेशद्वारमै रहेको सुरक्षाकर्मिलाई नै सूचीकरणका लागि कागजात उपलब्ध गराएको भए पनि प्रक्रिया अघि बढ्ने थियो । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले भने नेपाल पुनर्बीमा कम्पनीको आईपीओ सूचीकरणका लागि सफ्ट कपी उपलब्ध भएको जानकारी दिए । सूचीकरणका लागि पहिलो प्रक्रिया नेप्सेबाट शुरु हुने हुदाँ हामीले अहिले भेरिफाई गर्ने काम गरिरहेका छौं, उनले भने, ‘नेप्सेमा शुक्रवार निवेदन दर्ता गर्न जाने जानकारी कम्पनीले हामीलाई गराएको छ । 

हुन त नेपालको शेयर बजार अहिले बन्द छ । आईपीओ सूचीकरण गराएपनि कारोबार भइहाल्ने अवस्था छैन् तर पनि कम्पनीले शेयर बजार बन्द भइरहेकै अवस्थामा आईपीओ बाँडफाँट गरेकाले लकडाउनको अवस्था सामान्य भइ शेयर बजारले गति लिंदा कारोबार गर्न सकुन् भन्ने उदेश्यले लकडाउनका बीच सूचीकरण गर्न लागेको प्रमुख कार्यकारी अधिकृत रायमाझीको भनाइ छ । 

नेपाल पुनर्बीमा कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म रू. १ अर्ब ६० करोड बराबरको आईपीओ सर्वसाधारणलाई विक्री गरि चैत २६ गते बाडफाट गरेको थियो । 

सरकारी स्वामित्वको उक्त कम्पनीको नेटवर्थको आधारमा दोस्रो बजारमा राम्रो मूल्य पाउने र यसै वर्षदेखि लाभांश दिने आशामा लगानीकर्ताहरु रहेको देखिन्छ । नेप्सेले नेटवर्थको तीन गुणा सम्मको मूल्य रेञ्ज तोक्न सक्ने व्यवस्था छ । 

यस व्यवस्था बमोजिम उक्त कम्पनीको शेयरको मूल्य रेञ्ज प्रतिकित्ता रू. ४५० भन्दा माथीनै तोकिने सम्भावना छ । उक्त कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ५६ रहेको छ । हाल रू. ८ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओपछि रू. १० अर्ब चुक्तापूँजी पुग्नेछ । 

उक्त कम्पनीले आर्थिक वर्ष २०७७/ ८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउने प्रक्षेपण गरेको छ । यस आधारमा पनि चालू आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर दिने उक्त कम्पनीको योजना  देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)