ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा विरुवा बेचेर लाखौं आम्दानी

२०७७ जेठ, ११  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ दानाको फगाम गाउँका जोगबहादुर बिकको जागिर पनि छैन र विदेश गएर कमाएका पनि होइनन् । तर, उनले घरमा बसीबसी वार्षिक रू. १० लाखसम्म आम्दानी गर्दै आएका छन् । बिकले आफ्नै गाउँमा बसीबसी कमाएको पैसाले शहरमा घरघडेरी समेत जोडेका छन् ।

त्यस्तै फगाम गाउँकै दिलमाया पुनका श्रीमान विदेशमा छन् । श्रीमानले विदेशमा कमाएको पैसा श्रीमानकै उपचारमा खर्च हुने गरेको छ । तर, दिलमायाले गाउँमा नै वार्षिक रू. ३ देखि ४ लाखसम्म कमाएर घरखर्च चलाउनुका साथै छोराछोरीलाई पढाएकी छिन् ।

विदेश पनि नगएका र जागिर पनि नखाएका जोगबहादुर र दिलमायाहरूले कसरी घरमै बसीबसी पैसा कमाउन सके त ? संस्कृतमा एउटा उक्ति (भनाइ) छ, ‘उद्यमेन सिद्धयन्ति कार्याणी वा मनोरथै’ अर्थात् उद्यम (परिश्रम) गर्ने मानिसका सम्पूर्ण कार्य र मनोरथ (इच्छा)हरू पूरा हुन्छन् । जोगबहादुर र दिलमायाले पनि गाउँमा बसेर गरेको उद्यमले उनीहरूले यस्तो सफलता पाएका हुन् ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले लकडाउन (बन्दाबन्दी) जारी गरेको पनि ५७ दिन पूरा भएको छ । यो अवधिमा कैयौं मानिसहरू काम नपाएर छट्पट्टिइरहेका छन् । तर, अन्नपूर्ण गाउँपालिका–२ दानाको फगाम गाउँका वासिन्दा भने नर्सरीमा सुन्तला र कागतिका विरुवा हुर्काउन र विक्री गर्नमै व्यस्त छन् ।

फगामका किसानले सुन्तला र कागतीको विरुवा बेचेर लाखौं आम्दानी गरेका छन् । गाउँका अधिकांश घरले आफ्नो बारीमा नर्सरी स्थापना गरेर वार्षिक लाखौं आम्दानी गर्दै आएका छन् । करीब ७० घरधुरी रहेको फगाममा सुन्तला र कागतीको खेती राम्रो हुने भएकाले विरुवा बेचेर नै मनग्गे आम्दानी गर्न किसान सफल भएका हुन् ।

आफ्नै खेतीयोग्य जमीन र घर नजिकको खरबारीमा तयार गरेको नर्सरीमा उत्पादन भएका विरुवा विक्रीबाट वार्षिक १० लाखसम्म कमाउने गरेको फगामका जोगबहादुर बिकले बताए ।

‘यही विरुवा बेचेर मैले पोखरा, चितवन र काठमाडौंमा घडेरी जोडेको छु,’ बिकले भने, ‘३ दशकभन्दा बढी भयो तरकारी र विरुवाको खेती गर्न थालेको यसले राम्रो भएको छ । छोरीले कृषि कार्यालयमा जागिर गर्छे, छोरोले विज्ञान विषय लिए पढ्दै छ, काठमाडौंमा सबै खर्च यही विरुवा र तरकारी बेचेर चलाइरहेको छु ।’

आफ्नै खेतीयोग्य जमीन र घर नजिकको खरबारीमा तयार गरेको नर्सरीमा उत्पादन भएका विरुवा विक्रीबाट वार्षिक १० लाखसम्म कमाउने गरेको जोगबहादुर बिकको भनाइ छ ।
त्यसैगरी सुन्तला र कागतीको विरुवा बेचेर लाखौं आम्दानी गर्छिन् फगामकी दिलमाया पुन पनि । उनका श्रीमान २ दशकदेखि वैदेशिक रोजगारीका लागि खाडीमुलुकमा छन् । पुनले श्रीमानको आम्दानीको वैकल्पिक आम्दानीका लागि शुरू गरेको नर्सरीबाट अहिले वार्षिक रू. ३ देखि ४ लाख आम्दानी गरेको बताइन् ।

दिलमायाले प्रगतिशील मल्टी एग्रो तथा फलफूल नर्सरी सञ्चालन गरेकी छन् । नर्सरीमा कागती र सुन्तलाका १५ हजार बढी विरुवा छन् । ‘मैले यही विरुवा बेचेर घरको खर्च र छोराछोरीको पढाई खर्च पुर्‍याएकी छु । श्रीमानको विदेशमा राम्रो कमाइ छैन’, उनले भनिन् । ‘२ दशक हुन लाग्यो उहाँ विदेश गएको तर बिरामी भएर आफूले कमाएको पैसा आफैलाई उपचार गर्न ठीक भएको छ, मैले यहाँ विरुवा बेचेर घर चलाएको छु ।’

बिक र पुनजस्तै फगामका दुईदर्जन बढी कृषकहरूले सुन्तला र कागतीका विरुवा विक्री गरेर मनग्गे आम्दानी गर्ने गरेका छन् । गाउँमा उनीहरूको अलग–अलग सुन्तला र कागतीको नर्सरी छ । मासिनहरू विरुवा किन्न नर्सरीमा नै आउने गरेका छन् ।

लकडाउन (बन्दाबन्दी)को समयमा पनि कागती र सुन्तलाका विरुवाहरू धमाधम विक्री भइरहेको बिकले बताए । ‘टाढाटाढाबाट माग आएको छ, तर यातायातका साधन सञ्चालन नहुँदा पठाउन सकिएको छैन’ उनले भने ।

गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशा गर्ने किसानका लागि गाउँपालिकाले अनुदानको व्यवस्था गर्ने र बजारीकरणका लागि सहजीकरण गर्न सहयोग गर्ने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया पुनले बताइन् । आगामी आर्थिक वर्षमा गाउँपालिकाले पकेट क्षेत्र विभाजन गरी किसानलाई राहतको प्याकेज बनाउने उपाध्यक्ष पुनको भनाइ छ ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)