ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ ओटा पुराना जीवन बीमा कम्पनीहरुको पुग्यो तोके बमोजिमको चुक्तापूँजी

गुराँस लाइफको शतप्रतिशत हकप्रद लकडाउनले रोकियो

२०७७ जेठ, ११  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ ११, काठमाडौं । नेपालमा सञ्चालित नौ ओटा पुराना जीवन बीमा कम्पनीहरुमध्ये छ ओटा कम्पनीहरुले बीमा समितिले तोेके बमोजिमको चुक्तापूँजी कायम गरेका छन् । 

ती कम्पनीहरुको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार प्राइम लाइफ, सूर्या लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल लाइफ , एशियन लाइफ र नेशनल लाइफले तोके बमोजिम पूँजी कायम गर्न सफल भएका हुन् ।

नेपाल इन्स्योरेन्सको चुक्तापूँजी भने तोकेभन्दा बढीनै कायम भएको छ । कम्पनीहरुले चुक्तापूँजी वृद्धिका लागि बोनस र हकप्रदको सहरा लिएका छन् ।

विसं २०७५ असार मसान्तभित्रै पूँजी कायम गर्ने समयसीमा रहेपनि धेरै जसो कम्पनीहरुले सो अवधिभित्र पूँजी कायम गर्न भने सकेका थिएनन् । प्रक्रियागत रुपमा जाँदा जीवन बीमा कम्पनीहरुलाई वार्षिक साधारण सभा पनि पुरानो वर्षको गर्नुपर्ने वाध्यता छ । 

गत आर्थिक वर्षको वार्षिक साधारण सभा गर्नुपर्ने समयमा जीवन बीमा कम्पनीहरुले अहिले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्ने गरेका छन् । सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले बीमाङ्कीय मूल्यांकन आफ्नै देशमा नभई भारतबाट गराई त्यसपपछि मात्र बीमा समितिको स्वीकृतिमा साधारण सभाको प्रक्रिया अघि बढ्ने हुदाँ समय लागेको बताए ।

 त्यसमध्ये धेरै जसो कम्पनीले हकप्रदलाई पनि माध्यम बनाएकाले यसका लागि पनि बीमा समिति र नेपाल धितोपत्र बोर्डकै स्वीकृति आवश्यक पर्ने भएकाले पनि तोकिएकै समयमा पूँजी कायम गर्न नसकेको पाण्डेको भनाइ छ । सूर्या लाइफले भने गत भदौमा ७० प्रतिशत बोनस शेयर जारी गरी यसै वर्ष तोके बमोजिमको पूँजी कायम गरेको छ ।

नौ ओटा कम्पनीमध्ये एक कम्पनी मेट लाइफ एलिको भने अमेरिकन विदेशी कम्पनी हो । विदेशी कम्पनीको रूपमा नेपालमा शाखा सञ्चालन गरिरहेको उक्त कम्पनीले पनि चुक्तापूँजी बराबरको रकम छुट्टै कोषमा व्यवस्था गर्न बीमा समितिले भनेको छ । 

हाल रू. ९३ करोड ८५ लाख चुक्तापूँजी रहेको गुराँस लाइफको शतप्रतिशत हकप्रद शेयर भने लकडाउनका कारण प्रभावित बनेको छ । गत चैत २० गतेदेखि निष्कासन शुरू गर्ने तयारीमा रहेको उक्त कम्पनीको हकप्रद लकडाउनका कारण स्थगित भएको छ । 

उक्त कम्पनीले हाल कायम चुक्तापूँजीकै आधारमा १३ दशमलव १० प्रतिशत बोनस दिने प्रस्तावसमेत गरेको छ । उक्त बोनस भने बीमा समितिको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि मात्र पूँजीकरण गर्न सकिनेछ । 

गुराँस लाइफले अघिल्लो आर्थिक बर्ष २०७४/ ७५ को सञ्चित मुनाफाबाट बोनस प्रस्ताव गरेको हो । यो बोनस भने हकप्रद अघिको शेयर पूँजीको आधारमा वितरण गरिनेछ । हकप्रद भर्नेको हकमा भने यो लाभांश वितरण हुने छैन ।

हालसम्म सबैभन्दा कम चुक्तापूँजी रू. १८ करोड १० लाख भएको राष्ट्रिय बीमा संस्थानको आगामी योजना भने पछिल्लो वार्षिक लेखापरिक्षण पश्चातको अवस्थाबाट तय गरिने कम्पनीको भनाइ छ । यस अघिको योजनामा आईपीओ, बोनस शेयर र हकप्रद शेयरमार्फत पूँजी बढाउने रहेको थियो । 

बीमा समितिले पछिल्लो बार्षिक प्रतिवेदनसहित योजना पेश गर्न भनेपछि बाँकी लेखा परीक्षण सम्पन्न गराउन संस्थान लागि परेको छ । आर्थिक वर्ष २०६५/ ६६ सम्मको मात्र वित्तीय विवरण साधारण सभा मार्फत पारित गराएको संस्थानले त्यस पछिका वित्तीय विवरणहरु पारित गराउन बाँकी छ । 

संस्थानले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७१/ ७२ सम्मको वार्षिक लेखापरिक्षण सम्पन्न भैसकेको छ । हाल सरकारको मात्र संस्थापक शेयर स्वामित्व रहेको उक्त संस्थानले ३० प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहने गरी आईपीओ जारी गर्न नेपाल सरकारमार्फत पनि सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ । 

तेस्रो त्रैमाससम्म पुराना जीवन बीमा कम्पनीहरुको पूँजीको अवस्था : रकम (रू. लाखमा )

स्रोत : सम्बन्धित् कम्पनीहरुको वित्तीय विवरण

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)