ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाफुखोलाका ५०० घरधुरी व्यावसायिक आलु खेतीमा

यो वर्ष रू. १८ करोडको आलु फल्ने अनुमान

२०७७ जेठ, १३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । करीब ३ दशकयता सल्यानको बागचौर नगरपालिका–११ र १२ स्थित बाफुखोलाका करीब ५०० घरधुरीका किसानले व्यावसायिक रूपमा आलुखेती गर्दै आएका छन् । आलुखेतीबाट वर्षेनी करोडौँ आम्दानी गर्ने गरेका यहाँका किसानले यस वर्ष करीब रू. १८ करोड बराबरको आलु फलेको अनुमान गरेका छन् ।

आलुखेतीबाट बाफुखोलाका किसानले रू. ५० हजारदेखि रू. ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय यहाँका किसानको वर्षभरीको घरखर्च टार्ने मुख्य पेशा नै आलुखेती बनेको छ । आलुखेती गरेर नै यहाँका किसानहरूले जीवनयापन गर्दै आएको सोही ठाउँका किसान खकेन्द्र कुमार खत्री बताउँछन् । ‘आलुखेती र पशुपालन यहाँको मुख्य पेशा हो । मैले यस वर्ष १४ रोपनी जग्गामा खेती गरेको छु । यो वर्ष २०० क्वीन्टल आलु फल्ने अनुमान छ । आलु खेतीबाट राम्रो आम्दानी भईरहेको छ’, उनले भने ।

२०४८ सालबाट बाफुखोलामा आलुखेती शुरू भएको किसानहरू बताउँछन् । अहिले आलुखेतीबाट राम्रो आम्दानी भईरहेको अर्का किसान बीरबहादुर ओलीले बताए । ‘मकै र गहुँबाहेक अन्य बालीले बाफुखोलामा राम्रो उत्पादन दिँदैन । शुरूमा घरमा तरकारी खानका लागि मात्रै आलुखेती गरिन्थ्यो’, उनले भने, ‘तर राम्रो उत्पादन हुन थालेपछि व्यावसायिक रुपमै आलुखेती गर्न थालियो । यसलाई बिस्तार गर्न एकदशक नै लाग्यो । अहिले आलुखेती नगर्ने बाफुखोलामा कोही छैनन् ।’

स्थानीय चित्रबहादुर ओलीले यस वर्षको आलु खन्ने समय शुरू हुन थालेको बताए । ‘यस वर्षको आलु खन्ने समय शुरू हुन थालेको छ, अहिलेसम्म लकडाउनले केही असर गरेको छैन्, अब बजारको मागअनुसार आलु खनेर बजार पठाउछौँ’, उनले भने । लकडाउन (बन्दाबन्दी)का कारण भारतीय तरकारी आयात नभएकाले यस वर्ष स्थानीय
उत्पादनले राम्रो बजार पाउने किसानको अपेक्षा छ । बाफुखोलामा यस वर्ष आलुको उत्पादन समग्रमा बढ्ने आँकलन उनीहरूको छ ।

बागचौर नगरपालिका–१२ का अध्यक्ष दिपक ओलीले गत वर्षको तुलनामा यस वर्ष करीब रू. ३ करोड बढीको आलु उत्पादन हुने अनुमान सुनाए । ‘गत वर्ष १५ करोडको आलु निर्यात भएको थियो’, उनले भने, ‘यस वर्ष करीब रू. १८ करोडको आलु बाफुखोलाबाट मात्रै निर्यात हुने अनुमान छ ।’

राप्ती लोकमार्गको खरीबोट हुँदै कोटवारा, बाफुखोला र सल्यान–रुकुम सीमाना खोला हुँदै बाफुखोलासम्म सडक निर्माण भएकाले आलु निर्यातमा खासै समस्या नरहेको उनको भनाइ छ । जिल्लाको बाफुखोलासँगै शिवरथ, कोटवारा, ढाकाडामलगायत क्षेत्रमा आलुखेती गरिन्छ । यहाँ उत्पादन भएको आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरालगायत शहरमा पठाइने गरिएको छ ।

बाफुखोलाका ८० प्रतिशत स्थानीयले आलुखेती गर्ने गरेको भएपनि आलुको अनुसन्धान तथा चिस्यान केन्द्र स्थापना नहुँदा समस्या हुुने गरेको किसानहरूको गुनासो छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)