ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बागलुङमा भेडीगोठ, म्याग्दीमा चरन

वार्षिक रू. ७ लाखसम्म कमाउँछन् बुद्धि र बुद्ध

२०७७ जेठ, १५  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका बुद्धिबहादुर बिक र बुद्धराम मगरको पुख्र्यौली पेशा भेडापालन हो । बाजेको पालादेखि शुरू गरेको यो पेशाले नातिको पुस्तासम्म आइपुग्दा व्यावसायिक रूप लिएको छ । बागलुङको धम्जामा भेडीगोठ राखेर म्याग्दीको स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउनु बिक र मगरको दैनिकी बनेको छ ।

४४ वर्षीय बुद्धिबहादुरले आफूले जानेको र थाहा पाएदेखि नै म्याग्दीको बेलढुंगा र स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउँदै आएको बताए । बिहानको खाना खाएपछि दैनिकरूपमा आफ्ना ५२ ओटा भेडालाई यस क्षेत्रमा चराउन ल्याउने गरेको पनि ठ्याक्कै ३२ वर्ष पुगेको उनले सुनाए । १२ वर्षको उमेरदेखि भेडा चराउने पेशा अपनाएका बिक आफ्नो जागिर वा व्यवसाय जे भने पनि भेडापालन नै भएको बताउँछन् ।

बिकसँगै भेडा चराउन म्याग्दीको जंगलमा आएका वागलुङका वुद्धराम मगरले पनि आफ्नो बाल्यकाल र युवा अवस्था भेडासँग जंगलमा नै बिताएका हुन् । ‘बालापन र बैंश उमेर दुवै यसैमा बित्यो हजुर ! अब त यसैमा आनन्द छ’, आफ्ना ४२ ओटा भेडालाई खेद्दै ओरालो झर्दै गरेका मगरले भने ‘जापान पनि यही हजुर कोरिया नि यही हाम्रा लागि त ।’

ठट्यौलो स्वभावका बिक र मगरका भेडाहरू पनि हेर्दै लोभलाग्दा छन् । अधिकांश सेता र केही काला भेडाहरूको बथान लिएर ओरालो झर्दै गरेका यी भेडापालकको आम्दानी पनि सामान्यरूपमा अनुमान गरिने भन्दा फरक नै छ । बिक भन्छन् ‘एउटा भेडाको मूल्य रू. ५ हजारदेखि ५० हजारसम्म पर्छ । वर्षमा रू ५ देखि रू. ७ लाख कमाइ हुन्छ ।’

मगरले पनि भेडा विक्री गरेर वर्षमा रू. ५ लाख भन्दाबढी कमाउने गरेको बताए । मासिक सरदर रू. ५० हजार कमाई गर्न सकिने भएपछि बिक र मगरलाई गाउँको भेडीगोठ र जंगलको चरन क्षेत्रनै प्यारो लाग्न थालिसकेको छ । मगर भन्छन् ‘अमेरिका अष्ट्रेलिया जाउँला भन्ने कहिल्यै लाएन, जाबो अरब कतारको कमाइ यहीँ हुन्छ, हामी त यतै मस्तै यतै व्यस्तै हुजर ।’

राम्रो आम्दानी भए पनि यी दुई भेडापालक किसानको समस्या भनेको भेडालाई चरनको अभाव नै हो । आप्mनो नजिकको जंगल सामूदायिक बनमा रुपान्तरण भएपछि चरन अभावका कारण भेडापालन गर्न समस्या भएको उनीहरू बताउँछन् ।

‘नजिकमा चराउने ठाउँ छैन, त्यसैले यति टाढा चराउन ल्याएका हौं’, मगरले भने, ‘सरकारले गाउँगाउँमा रोजगारी दिन्छु भनेको सुनिन्थ्यो । तर हामीलाई त त्यो रोजगारीको सट्टा बनमा चरन खुला गर्दिए हुन्थ्यो ।

बिक र मगरजस्तै धम्जामा अरु ९ जना किसानले व्यावसायिक भेडापालन गरेका छन् । उनीहरू सबैको एउटै समस्या छ, त्यो हो चरनको अभाव ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)