ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा खुलेको दुई दिनको कारोबारमा २४ ओटा वाणिज्य बैंकको शेयरमूल्य घट्यो 

२०७७ जेठ, २२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ २२,काठमाडौं । कोरोना संक्रमणका कारण जारी लकडाउनका बीच वैशाखमा खुला भएको दुई दिनको कारोबारमा २६ ओटा वाणिज्य बैंकमध्ये २४ ओटा बैंकको शेयरमूल्य घटेको छ । 

चैत महीनाको अन्तिम कारोबारको शेयरमूल्यको तुलनामा माछापुच्छ्रे बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक बाहेक अन्य वाणिज्य बैंकको शेयरमूल्य घटेको हो । वैशाखको कारोबारमा यी दुई बैंकको भने शेयर खरीदविक्री भएको छैन । वैशाख महीनाको दुई दिनको शेयर कारोबार नकारात्मक सर्किटबाट प्रभावित भएको थियो । 

घटेको बजारमा वाणिज्य बैंकमध्ये नबिल बैंकको शेयरमूल्य सबैभन्दा बढी घटेको छ । नबिलको चैत महीनाको अन्तिम कारोबार दिन चैत ९ गते प्रतिशेयर अन्तिम मूल्य रू.७०१ रहेकोमा वैशाखको दुई दिनको कारोबारमा रू. ४१ ले शेयरमूल्यमा कमि आएको हो । 

नबिल चैत मसान्तसम्मको विवरण अनुसार सबैभन्दा बढी वितरण योग्य नाफा रहेको बैंक हो । तेस्रो त्रैमाससम्म नबिलको वितरणयोग्य मुनाफा रू.२ अर्ब ९ करोड ५२ लाख रहेको छ । 

तेस्रो त्रैमासको वित्तीय विवरणको आधारमा लगानीकर्ताहरुले कारोबार गरेका थिए भने  नबिलको शेयरमूल्य सबैभन्दा बढी घट्ने थिएन । तर यो विषम परिस्थितिमा लगानीकर्ताहरुले खरीदलाई भन्दा विक्रीलाई बढी जोड दिएकाले पनि नबिलको शेयरमूल्य घटेको देखिन्छ । 

वैशाख महीनाको कारोबारमा नबिलको सबैभन्दा बढी कित्ता शेयर खरीदविक्री भएको छ । वैशाखमा नबिलको रू. १० लाख ८६ हजार बराबरको २ हजार ७३० कित्ता शेयर कारोबार भएको छ । हाल रू. १० अर्ब ९ करोड ७४ लाख चुक्तापूँजी रहेको उक्त कम्पनीको वैशाखसम्म बजार पूँजीकरण रू. ६६ अर्ब ५६ करोडभन्दा बढी छ ।

 

नबिल बैंकपछि वैशाखको कारोबारमा धेरै मूल्य घट्नेमा एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि रहेका छन् । एभरेष्ट बैंकको रू. ३५ ले र स्ट्याण्डर्ड चार्टर्ड बैंकको रू. ३४ ले शेयरमूल्य घटेको हो । वाणिज्य बैंकमध्ये शेयरमूल्य बढी हुनेमा पहिलोमा नबिल बैंक र दोस्रोमा एभरेष्ट बैंक रहेको छ । 

एभरेष्ट बैंकले पनि तेस्रो त्रैमासमा राम्रो व्यवसाय गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । एभरेष्टको तेस्रो त्रैमाससम्म वितरणयोग्य नाफा रू. ९४ करोड ३६ लाख रहेको छ । तेस्रो त्रैमाससम्म सम्भावित प्रतिफल बढी हुनेमा पाँचौ नम्बरमा एभरेष्ट बैंक रहेको छ ।

चुक्तापूँजीको आधारमा ११ दशमलव ०९ प्रतिशत सम्भावित प्रतिफल देखिएको छ । रू. ८ अर्ब ५१ लाख २ हजार चुक्तापूँजी रहेको एभरेष्टको वैशाख मसान्तसम्म बजार पूँजीकरण रू. ४८ अर्ब ६३ करोडभन्दा बढी छ । यस महीना दुई दिन भएको कारोबारमा एभरेष्टको रू. २५ हजार बराबरको ४२० कित्ता शेयर कारोबार भएको छ ।

त्यस्तै लगानीकर्तालाई प्रतिफल दिने क्रममा विगतका वर्षहरुमा आकर्षक प्रतिफल दिदैं आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य पनि वैशाख महीनामा रू. ३४ ले घटेको छ । यस अवधिमा उक्त कम्पनीको रू. २३ हजार बराबरको ४११ कित्ता शेयर कारोबार भएको छ ।

तेस्रो त्रैमाससम्ममा सम्भावित प्रतिफल बढी हुनेमा दोस्रो नम्बरमा रहेको उक्त कम्पनीको रू. १ अर्ब ३१ करोड ३५ लाख वितरणयोग्य मुनाफा रहेको छ । चुक्तापूँजी रू. ८ अर्ब १ करोड १४ लाख रहेको उक्त कम्पनीकोे बजार पूँजीकरण हाल रू. ४४ अर्ब ५४ करोडभन्दा बढी रहेको छ ।
चैत महीनामा पनि जम्मा ६ दिन मात्र शेयर कारोबार भएको थियो । गत चैत १० गतेदेखि बन्द बजार लामो समय बन्द गर्न नहुने भन्दै वैशाख ३० गतेदेखि सुचारु गरिएको थियो । वैशाख ३१ गतेसम्म कारोबार भई पुनः बजार बन्द छ । 

लकडाउन अवधिभर बजार बन्द गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बजार बन्द गरेको हो । वैशाखमा खुलेको दुई दिनको कारोबारमा शेयरधनीहरुले रू. ६३ अर्बभन्दा बढीको सम्पत्ति गुमाएका छन् । 

वैशाखमा भएको दुई दिन कारोबारले वाणिज्य बैंकको शेयरमूल्यमा भएको घटबढ :  (रकम रू. मा )

स्रोत : नेपाल स्टक एक्सचेञ्ज 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)