ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनचाँदी व्यवसायीलाई सुरक्षा चिन्ता

भन्छन्, ‘पसल खोल्ने कि नखोल्ने हामी द्विविधामा छौँ’

२०७७ जेठ, २६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । देशभर लकडाउन जारी छ, तर केहीदिनदेखि देशभरका केही व्यवसाय र पसलहरू खुल्ने क्रम शुरू भएको छ । यसैबीच सुनचाँदी व्यवसायी महासंघले आइतवारदेखि चितवनका व्यवसायीलाई पनि पसल खोल्न आग्रह गरेको छ । तर, उनीहरूले विभिन्न कारण देखाउँदै ढुक्कसँग पसल खोल्न नसकेको बताएका छन् । व्यवसायमा सुरक्षा चिन्ता थपिएकोले ढुक्क हुन नसकेको सुनचाँदी व्यवसायीको भनाइ छ ।

कोरोना महामारीबाट स्वास्थ्यमा बढेको जोखिम त छँदैछ, त्यसमा सुरक्षा र भौतिक जोखिम पनि बढेको उनीहरूको तर्क छ । लकडाउन खुलेपनि सहज रूपमा व्यवसाय सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताउँछन् नारायणगढका व्यवसायी बाबुराम रामुदामु । ‘अब झन् व्यवसाय सञ्चालन गर्न कठीन छ’, उनले भने, ‘यसैपनि सुरक्षा संवेदनशीलता रहेको हाम्रो व्यवसायमा सुरक्षा जोखिम झन् बढेको छ ।’

स्वास्थ्य सुरक्षाका लागि मास्क लगाएर आउने सबै ग्राहकको पहिचान गर्न नसकिने हुँदा अनेक समस्या आउनसक्ने रामुदामुको भनाइ छ । यस्तो अवस्थामा सुनचाँदीको व्यवसाय सुरक्षित नहुने हुँदा ढुक्कले सञ्चालन गर्न नसकिने उनको तर्क छ । उनी भन्छन्, ‘व्यवसाय खोल्न पनि सकेका छैनौँ, बन्द गरिरहन पनि सक्दैनौँ ।’

अहिले चितवनका अधिकांश पसल व्यवसाय आंशिक रूपमा खुलेपनि सुनचाँदी व्यवसाय भने अझै खुल्न सकेको छैन । लामो समयपछि व्यवसाय खोल्न उनीहरूमा थप त्रास देखिएको छ । सुनचाँदी व्यवसायी संघ, चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्मा रोगकोभन्दा सुरक्षाको चिन्ता बढी भएको बताउँछन् । ‘बैंकबाट बारम्बार फोन आइरहेको छ, पसल खोलेपनि कम चहलपहल र सुनचाँदीमा भएको मूल्य वृद्धिका कारण विक्री हुने स्थिति छैन । अनि हामीले बैंकको ब्याज कसरी तिर्नु,’ उनले भने ।

सुनको मूल्य लकडाउनअघिको भन्दा करीब रू. ११ हजार बढिसकेको उनको भनाइ छ । सरकारले सुनचाँदी व्यवसायका लागि करको भार बढाएको, पसलभाडा र कर्मचारीको तलव भुक्तान गर्न बाँकी भएकोलगायत कारणले व्यवसाय नै विस्थापित हुनसक्ने खतरा बढेको विश्वकर्माको भनाइ छ । सहज र सुरक्षित रूपमा व्यवसाय खुलाउने हो भने सरकारले उचित वातावरण तयार गर्नुपर्ने उनको माग छ ।

महासंघले व्यवसाय खोल्न आग्रह गर्दै व्यवसायी र व्यवसायको सुरक्षा र सहुलियत ऋणको लागि सरकारसँग निरन्तर माग गरिरहेको बताउँछन् महासंघका उपाध्यक्ष तथा बु्रनाई सुनचाँदी पसलका सञ्चालक अर्जुन रसाइली । ‘यो व्यवसाय अन्य व्यवसायभन्दा फरक र संवेदनशील छ’, उनले भने, ‘सरकारले व्यवसायीलाई व्यवसाय सञ्चालन गर्नसक्ने वातावरण तयार गर्नु जरुरी छ ।’

बैंकले बढी भएको सुन किनिदिने तथा बिनाशुल्क सुन राखिदिने व्यवस्था सरकारले गरेमात्र व्यवसाय सहज हुने उनको तर्क छ । अन्यथा पर्ख र हेरको अवस्थामा यहाँका व्यवसायी रहेको उनले बताए ।

मूल्य लगातार बढिरहेकोले उपयुक्त सिजन र चाडपर्वमा समेत सुनको विक्री हुन छाडेको छ । व्यवसायीले २ वर्षदेखि नै सुनको मूल्य वृद्धिको कारण विक्री भन्दा खरीद गर्न आउने ग्राहकको संख्या धेरै भएको बताउँदै आएका छन् । चितवनमा मात्रै ४५० भन्दा बढी सुनचाँदी व्यवसायी छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)