ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रचारप्रसार नहुँदा वार्मीपार्मी र वराह ताल ओझेलमा

२०७७ जेठ, २७  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण पर्यटकीय सम्भावना बोकेका म्याग्दीका २ ओटा ताल ओझेलमा परेका छन् । अग्ला पहाडको बीचमा अवस्थित निलो ताल, नजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन हिमाल र आसपासको समथर भू–भागमा प्रकृतिले अनुपम सुन्दरता भरिदिएको गुर्जाको वार्मीपार्मी र वराह तालको प्रचारप्रसार हुन नसकेको हो ।

म्याग्दी सदरमुकाम बेनीबाट पश्चिममा करीब २६ कोष टाढाको धवलागिरि गाउँपालिका–१, गुर्जाबाट कष्टपूर्ण तर रोमाञ्चक उकालीओराली गर्दै पुगिने हेपुडाँडामा २ ओटा सुन्दर ताल अवस्थित छन् । ढोरपाटन शिकार आरक्षको घुस्तुङ ब्लकमा पर्ने उक्त ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन् । समुद्री सतहदेखि करीब ४ हजार ५०० मीटरको उचाइमा अवस्थित म्याग्दी र रूकुमको सीमा क्षेत्रनजिक पर्ने तालमा ढोरपाटन शिकार आरक्षबाट अनुमति लिएर विदेशी शिकारीसहित कर्मचारीहरू पुग्ने गर्दछन् ।

मौसम अनुसार वार्मीपार्मी र वराह तालमा पानीको रङ फेरिने दृष्यले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको गुर्जाका स्थानीय केआईसिं छन्त्यालले जानकारी दिए । उनले तालसम्म पुग्न गाह्रो भए पनि पहाडभित्र लुकेका तालको धार्मिक महत्व समेत रहेको बताए । गुर्जावासीले दशकअगाडि आवतजावत गर्ने उक्त स्थान हुँदै चुरेन हिमाल नजिकैबाट देखिन्छ ।
उक्त क्षेत्रमा थार, झारल, नाउर, मृगजस्ता जंगली जनावरहरू पाखाभरी चर्ने गरेको दृष्य नजिकैबाट देख्न सकिन्छ । त्यहाँ पुग्ने जोकोही मानिसलाई अनेकन मनमोहक दृश्यले लोभ्याउने गरेको स्थानीयवासीको भनाइ छ । पशु चौपायाको गोठ लिएर त्यहाँसम्म पुगिने हुँदा हेपुडाँडालाई रुकुमवासीसँगको सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा विकास गर्न सकिन्छ । अत्यधिक जंगली जनावर पाइने भएकाले पनि वैधानिक शिकारका लागि ढोरपाटन शिकार आरक्ष कै प्रख्यात स्थलसमेत रहेको बताइएको छ ।

गु्र्जा गाउँका स्थानीय निकै कठीनका साथ पहिलो दिन मनसुङ पुगेर बास बसी अर्को दिन त्यहाँ पुग्न सकिने धवलागिरि गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

ग्रामीण पर्यटनका लागि सुन्दर स्थान भएकाले मानव बस्तीबाट धेरै टाढा जंगली जनावरलाई आँखैअगाडि देख्न सकिने बताउँदै उनले बाटोको असहजताले गर्दा यस क्षेत्रको पर्यटन विकास हुन नसकेको छन्त्यालको गुनासो छ । आरक्षबाट बन्दुक, गोलीगठ्ठा र सहयोगीसहित शिकारीहरू गएर त्यस क्षेत्रमा बस्ने गरेको उनको भनाइ छ । नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, वन्यजन्तु जस्ता विभिन्न दृष्यले मन आनन्दित पार्ने भएकाले पनि पर्यटन विकासमा प्राथमिकता दिनुपर्ने छन्त्याल बताउँछन् ।

यस स्थानबाट रुकुमको चालुखेमा पुग्न सकिन्छ । त्यहाँबाट दोगानी, डोबान हुँदै लम्सार भन्ने ठाउँमा प्रमुख आयस्रोत मानिने यार्सागुम्बा पाइन्छ । अग्लो स्थानमा रहेको ताललाई म्याग्दी जिल्लाले पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने स्थानीयको माग छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)